Posted on

हिसिला यमी, यो नाम आफैंमा रहस्य र मिथजस्तो छ। हिसिला नेवार भाषाको मात्र शब्द हो भन्ने भ्रम छ धेरैलाई। मलाई पनि थियो। यथार्थमा यो तिब्बती भाषाको पनि शब्द रहेछ। हिसिलाका बुवा धर्मरत्न यमी युवा उमेरमा पैसा कमाउन काठमाडौंबाट दार्जिलिङ–सिक्किमको बाटो हुँदै तिब्बतको ल्हासा पुगेका रहेछन्। त्यहाँ उनी एक तिब्बती युवतीको प्रेममा परे, जसको नाम थियो- हिसिला।

धर्मरत्न हिसिलालाई नेपाल लिएर आउन चाहन्थे। तर ती तिब्बती युवती आफ्नो देश छाडेर पराई ठाउँ आउन डराइन्। प्रेमको बिरहमा नेवारी भाषामा उनले ‘ल्हासाको उत्तर’ नामको खण्डकाव्य नै लेखे।

जब नेपाल फर्किएर कान्छी छोरी जन्मिइन्, उनले तिब्बतमा बिछोड भएकी प्रेमिकाको नाम छोरीलाई दिए– हिसिला।

नामको पछाडि यमी पनि ‘तुलाधर’ छाडेर धर्मरत्नले नै लेख्न थालेका थिए। धर्मरत्न ल्हासा नगएका भए, तिब्बती युवतीको प्रेममा वा बिछोडको बिरहमा नपरेका भए, थर नफेरेका भए, सायद हिसिलाको नाम ‘पूर्णशोभा तुलाधर’ वा यस्तै केही हुन्थ्यो। हिसिला यमी जस्तो मिथकीय र रहस्यमयी नाम बन्ने थिएन।

कानपुरको पढाइ सिध्याएर दिल्ली आउँदा समेत हिसिलाको राजनीतिक ज्ञान वा आफ्नै परिवारप्रतिको धारणा मूर्त र ठोस थिएन। नेपालमा एसएलसी बोर्ड फर्स्टको चर्चा कमाएर छात्रवृत्तिमा भारत पढ्न गएका बाबुराम भट्टराईसँग हिसिलाको भेट हुँदा भट्टराई ‘डाक्टर’ भइसकेका थिएनन्। उनी विद्यावारिधि गर्दै थिए।

पहिलो भेटमै भट्टराईले हिसिलालाई राजनीतिक संघर्षको कथा र इतिहास, योगदान सुनाइदिए, जो उनले कतै पढेका थिए। पहिलोपटक भेट भएको अपरिचित युवकबाट आफ्ना बुवा र परिवारबारे आफैंलाई थाहा नभएका कथा सुनेर हिसिला छक्क परिन्। भट्टराईप्रति उनमा आकर्षण र प्रेम भावना अंकुरित भयो।

प्रेम बढ्दै गयो र विवाहमा परिणत भयो र यो जोडी ‘प्रेम र संघर्ष’ को नयाँ गाथा बन्यो।

पढाइ सिध्याएर उनीहरू काठमाडौं फर्किए। हिसिला पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाउन थालिन्। थप अध्ययनको छात्रवृत्ति पाएर बेलायत पढ्न गइन्। डा. भट्टराई कम्युनिस्ट पार्टीको ‘होल टाइमर’ कार्यकर्ता तथा त्यसको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालका अध्यक्ष भए।

उनीहरूको वास्तविक संघर्षको कथा २०५१ सालको माओवादी युद्धबाट सुरूआत भयो। हिसिलाले जागिर छाडिन्। त्यो बेला दुःखसुख बनाएको कोटेश्वरको घर बेचियो। नाबालक छोरी मानुषीलाई परिवारको जिम्मा लगाएर दुवै भूमिगत भए। युद्धका दस वर्ष भारत र नेपालका विभिन्न गाउँ-ठाउँमा बिते।

शान्तिमा आएपछि तिनै पतिपत्नी सँगै सांसद र मन्त्री भए। त्यतिन्जेलसम्म समाजमा दुवैको हाइहाइ थियो। पहिलो संविधानसभा निर्वाचन दुवैले प्रत्यक्ष जितेका थिए। अर्थमन्त्रीका रूपमा डा. बाबुराम भट्टराईको कार्यकालले धेरै प्रसंशा पाएको थियो। तर फेरि उनीहरूको जीवनमा अर्को मोड आयो। भट्टराई प्रधानमन्त्री भए, हिसिला ‘फर्स्ट लेडी’ भइन्।

हिसिलाको गुनासो छ- फर्स्ट लेडी हुनु उनको राजनीतिक जीवनको ठूलो दूर्भाग्य सावित भयो।

उनको आफ्नै व्यक्तित्व थियो। पार्टीमा उनी लामो समय केन्द्रीय सदस्य रहिन्। पार्टीको महिला संगठनको अध्यक्ष भइन्। जागिर छाडेर भूमिगत भइन्। युद्धबीच आधार इलाकामा लामो समय बिताइन्। पार्टीभित्रको अन्तर्संघर्षमा डा. भट्टराईसँगै लालसेनको श्रमशिविरमा बसिन्। फर्किएर सांसद, मन्त्री भइन्। काठमाडौंबाट प्रत्यक्ष निर्वाचन जितिन्। यी सबै उनका स्वतन्त्र व्यक्तित्व कर्महरू थिए।

फर्स्ट लेडी भएपछि मानिसले सबै कुरा बिर्सिएको हिसिलाको गुनासो छ। केबल ‘बाबुरामकी पत्नी’ का रूपमा मात्र हेर्न थाले। यो पीडाले उनलाई बारम्बार ‘रुने’ बनाउँछ।

हिसिला यमीको भर्खरै प्रकाशित पुस्तक ‘हिसिलाः फ्रम रेभोलुसनरी टु फर्स्ट लेडी’ पढ्दा हिसिला र माओवादी युद्धबारे थुप्रै नभनिएका कथाहरू बुझ्न पाइन्छ। मूलतः यो उनको आत्मकथा हो तर यसभित्र त्यस्ता अनेक सन्दर्भ र ‘इन्साइड स्टोरी’ हरू आउँछन् जसबारे नेपाली समाजमा जिज्ञासा, कौतुहलता र रहस्यको भावना छ।

माओवादी युद्धका ‘पाँच मुख्य नेताहरू’ हिसिलाले पुष्पकमल दाहाल (प्रचण्ड), डा. बाबुराम भट्टराई (लालध्वज), मोहन वैद्य (किरण), रामबहादुर थापा (बादल) र पोष्ट बहादुर बोगटी (दिवाकार) लाई मानेकी छन्। यी पाँच नेताको पारिवारिक पृष्ठभूमि, शिक्षा, आर्थिक जीवन, मनोविज्ञान र योगदानको तुलनात्मक तथा आलोचनात्मक समिक्षा गरेकी छन्। हिसिलाको विचारमा यी पाँच नेताको क्षमताको विशिष्ट संयोजनमा माओवादी युद्धको आविष्कार, टिकाउ र सफलता निर्भर थियो।

उनले यी पाँचै नेताको कमजोर पक्षको पनि निर्मम आलोचना गरेकी छन्। यसक्रममा आफ्ना श्रीमान डा. बाबुराम भट्टराईप्रति थोरै सहानुभूति देखाए पनि लेखकीय धर्म छाडेकी छैनन्। उनले डा. भट्टराईका कमजोर पक्षको पनि खुलेर चर्चा र आलोचना गरेकी छन्।

हिसिला यमीको किताबको अर्को मुख्य पक्ष बहसको केन्द्रबिन्दुमा भएका सबै जसो सवाललाई आफ्नो जीवन अनुभवको आँखाबाट उछिन्नु हो। विशेषतः महिला, जनजाति र दलितको सवाललाई उनले बलियो आवाज दिएकी छन्। रूकुम, रोल्पा, गोर्खाजस्ता माओवादी युद्धका मर्मस्थल रहेका जिल्लाको जनजीवन र चर्चा पुस्तकमा बारम्बार आउँछ।

माओवादी युद्ध र पार्टी पंक्तिभित्रका समस्याले समेत पुस्तकमा पर्याप्त स्थान पाएको छ। अन्तर्पार्टी संघर्षका क्रममा हुने घर्षण, आरोप-प्रत्यारोप, पक्षधरता, विरोध र शंका-उपशंकाको उनले रोचक चित्रण गरेकी छन्।

हिसिला मोहन वैद्यलाई ‘साम्यवादी लक्ष्य र उद्देश्यप्रति समर्पित एक दार्शनिक नेता’ का रूपमा एउटा बलियो ध्रुवमा उभ्याउँछिन् भने एक ‘संघीय लोकतान्त्रिक गणतन्त्रवादी ‘उदार हृदयी बौद्धिक’ का रूपमा डा. बाबुराम भट्टराईको बिम्ब खडा गर्छिन्।

पुष्पकमल दाहाल (प्रचण्ड) को व्यक्तित्व भने यी दुई धारबीच वैचारिक रूपले ‘पेन्डुलम’ जस्तो चित्रित हुन्छ। तर संगठन कला, परिचालन क्षमता, कुटनीतिक सम्पर्क निर्माण, रणनीति, योजना, व्यवहारिक कौशल र कमान्डका दृष्टिले उनको व्यक्तित्व विराट प्रतीत हुन्छ।

हिसिलाको विश्लेषणमा पाँच भनिए पनि यथार्थमा माओवादी आन्दोलनमा यी तीन नेता थिए। रामबहादुर थापा र पोष्टबहादुर बोगटी प्रचण्डका अनन्य सहयोगीजस्ता थिए। जस कारण अन्तर्पार्टी संघर्षमा मोहन वैद्य र डा. बाबुराम भट्टराईको सोच बारम्बार अल्पमतमा पर्थ्यो। तर अन्ततः व्यावहारिक अनुभवले प्रचण्डलाई भट्टराईको राजनीतिक लाइन र कार्यदिशामा आउन बाध्य गर्थ्यो।

भट्टराई र वैद्यको बीचमा प्रचण्डजस्तो व्यक्तित्व हुनु नै माओवादी आन्दोलन र पार्टीको भाग्य र दूर्भाग्य दुवै हो भन्ने हिसिलाको ठहर देखिन्छ। मोहन वैद्यको लाइन प्रभावी भएको भए सायद माओवादी पार्टी शान्तिवार्तामा आउने थिएन। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुने थिएन। देश दीर्घकालीन साम्यवादी विद्रोहतिर जान्थ्यो भन्ने ठहर हिसिलाको छ।

माओवादी पार्टीभित्रको यौन, प्रेम र वैवाहिक जीवन, यौनहिंसा र विचलनका घटनालाई समेत पुस्तकले पर्याप्त चर्चा गरेको छ। युद्धमैदानबीच मानवीय जीवनको संकट र भोगाइलाई यस्तो चर्चाले नयाँ आयाम दिन्छ। साहित्यमा यौन, प्रेम र विवाहको चर्चा कुनै नयाँ कुरा होइन। तर साम्यवादी सिद्धान्तको आर्दश र सशस्त्र विद्रोहको कार्यदिशाबाट अनुप्रेरित पार्टीका ठूल्ठूला नेता र कार्यकर्तामा आउने यौन भावना र त्यसले पार्टीमा सिर्जना गर्ने समस्याको चर्चा आफैंमा रोचक पक्ष हो।

त्यति भीषण संघर्ष, योगदान र बलिदानको मैदानबाट कुदेका हिसिला दम्पतीले अन्ततः माओवादी पार्टी र आन्दोलन किन छोडे, नयाँ शक्ति हुँदा जनता समाजवादी पार्टीको यात्राबारे पनि किताबले समेटेको छ।

हिसिला यमीबारे अनेकथरि कुरा बारम्बार सुनिन्छन् हाम्रो समाजमा। तीमध्ये कतिपय सकारात्मक हुन्छन्, कतिपय नकारात्मक। उनबारे कतिपय नकारात्मक टिप्प्णी भाषिक आधारमा पनि बनेका छन्। काठमाडौंको संभ्रान्त नेवार परिवारमा जन्मिएकी कान्छी छोरी, घरमा सधैं नेवारी, स्कुल/क्याम्पसमा सधैं अंग्रेजी, माध्यमिक शिक्षा भारतको कानपुर र दिल्लीबाट आर्किटेक्ट इञ्जिनियरिङ गर्दा हिन्दी भाषाको बाक्लो सम्पर्कमा रहेकी हिसिलाको नेपाली ‘कमान्ड’ कमजोर हुनुका वस्तुगत कारण रहेछन्।

नेपालीमा अड्कीअड्की बोल्ने र त्यसकै कारणले यदाकदा विवादमा पर्ने हिसिलाको अंग्रेजी लेखन प्रवाह साँच्चै लोभलाग्दो, सरल, सरस र सुन्दर छ। आत्मकथा लेखनले माग गर्ने सरलता र विषयवस्तुको गम्भीरता बीच उनले सन्तुलन गरेकी छन्।

उनी गम्भीर सैद्धान्तिक, नीतिगत तथा मनोवैज्ञानिक उल्झनलाई सरल अंग्रेजीमा अभिव्यक्त गर्छिन्। फलतः किताब बढ्दा कुनै राजनीतिक उपन्यास बढेजस्तो वा सिनेमा हेरेजस्तो आनन्द आउँछ।

https://www.setopati.com/art/book/244880?fbclid=IwAR26n6tODUO1FKJatiPcGCcKh7INjseD8R_qEyXNdoBc49fntH56dmUIO6M

Leave a Reply

Your email address will not be published.