Posted on

लिङ्गीय, वर्गीय र समावेशी—समानुपातिक आन्दोनमा महिलाको भूमिका
हिसिला यमि
भूमिकाः
नेपालको आन्दोलनको विशेषता यसमा रही आएको छ कि यहाँको वामपंथी आन्दोलन बलियो छ वा हावी छ । यसले गर्दा यहाँको महिला आन्दोलन पनि बलियो रहँदै आएको छ । कारण महिला शोषण यति गहिरो, पुरानो र सबै समुदायमा सबै क्षेत्रमा विष्तृत छ । यसको मलजल वामपंथी शक्तीहरुले नै बढी दिंदै आएको छ किनभने वामपंथी आन्दोलन भनेको सामान्यतः आधारभूत वर्ग समुहको आन्दोलन हो । तर बुझ्नु पर्ने के हो भने वामपंथी आन्दोलनभित्र दक्षिणपंथी, मध्यंपंथी र क्रान्तिकारी धार हुन्छ । दक्षिणपंथीले पुुरानो संरचनाको रक्षा गर्न खोज्छ भने मध्यपंथीले पुरानोमा केही सुधार थपेर यथास्थीति कायम गर्न खोज्छ भने क्रान्तिकारी वामपंथी धारले नयाँ अग्रगामी धारको प्रतिनिधित्व गर्छ । यहाँ मुलतः क्रान्तिकारी वामपंथी धारको भगीनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आन्दोलनलाई बढी केन्द्रित गर्न खोजेको छ । यो लेख मुलतः जनयुद्ध अगाडीको महिला आन्दोलन जो मुलतः लिङ्गीय प्रश्नसंग जोडिएको छ, जनयुद्ध भित्रको महिला आन्दोलन जो मुलतः वर्गीय आन्दोलनसित जोडिएको छ र जनयुद्ध पछि जो मुलतः समावेशी, समानुपातिक संविधान निर्माणसंग जोडिएको छ त्यसमा महिलाको भूमिका सम्बन्धी लेख हो ।
जनयुद्ध अघि महिला आन्दोलनको स्थितिः
पहिलो जनआन्दोलन जो २०४६ वर्षमा केन्द्रित थियो त्यो मुलतः शहर केन्द्रित निरङ्कुश राजतन्त्रात्मक निर्दलिय पञ्चायती व्यवस्था विरोधी आन्दोलन थियो । त्यसमा महिलाहरुको भूमिका उल्लेखनिय थियो । जब शहर केन्द्रित आन्दोलन ग्रामिण क्षेत्रमा फैलन थाल्यो त्यतिबला नै राजाबाट सम्झौताको प्रस्ताव आयो । त्यतिखेर क्रान्तिकारी वामपंथी पार्टीहरुको संयुक्त मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलनले संविधान सभाको चुनावको माग गर्दै थियो । तर नेपाली काँग्रस र वाममोर्चाले राजतन्त्रात्मक संसदिय बहुदलिय व्यवस्थामा जानेगरी राजासित त्रिपक्षिय सम्झौता गरेर आए । राजतन्त्र र बहुदलिय व्यवस्था जो परस्पर विरोधी थियो यसले अन्ततः न हाँसको चाल न बकुल्लाको चालको स्थिति ल्याउन स्वभाविक थियो । तर जनताको अगाडी यो नयाँ संविधानबारे भ्रम हुने भएकोले गर्दाखेरी नेपाल कम्युष्टि पार्टी एकता केन्द्रले संयुक्त जनमोर्चाको नामबाट २०४८ को चुनावमा भाग लिने निर्णय ग¥यो । त्यतिखेर बनेको संविधानले संसदिय चुनावमा भागलिने पार्टीहरुले अनिवार्य रुपमा न्यूनतम ५ प्रतिशत महिला उम्मेदवार उठाउनु पर्ने प्रावधान राखियो । नेकपा एकताकेन्द्रबाट ६९ जना उम्मेदवारहरु उठाए तर ९ जनाले मात्र जिते भने महिलाहरु कसैले पनि जितेनन् । चुनावमा राजतन्त्र, विस्तारवाद र साम्राज्वाद विरोधी भण्डाफोर निति लिएअनुसार महिला आन्दोलनको केन्द्रविन्दु पनि त्यही रह्यो । त्यतीखेर आंशिक प्रजातन्त्र मौलाएको फाइदा लिएर नेपालभित्र सौन्दर्य प्रतियोगिताहरु हुन थाले जसको निरन्तर विरोध गर्ने काम हुन थाल्यो । पहिलो पटक त हुनै नदिनेगरी त्यसलाई रोकियो तर पछि आन्दोलनसहित त्यसको विरोध गर्दै गायो । त्यस्तै छाडा संस्कृति, अश्लिल पत्र पत्रिका, व्लू फिल्म विरुद्ध पनि अभियान चलाउन थालियो । महिलामाथी हुने बलात्कार, बिक्रीका विरुद्ध अभियान चलाउदै गयो त्यसताका काँग्रसी गृहमन्त्री आमोद प्रसाद उपाध्यायले गैर जिम्मेवार जवाफ दिए जसमा एउटी महिलामाथी भएको बलात्कारको विरुद्ध न्याय माग्न जाँदा गैर जिम्मेवारी अभिव्यक्तीः ‘‘तिमिहरुले लामालामा नग्राहरु पाल्ने खोर्सानीको धुलो बोक्दै हिड’’ ले महिलाहरुलाई निकै आक्रोसित र आन्दोलित गरेको थियो । त्यस्तै महङ्गी विरुद्ध थाल ठटाउने आन्दोलन चलाएको थियो । त्यसताका तिजको कार्यक्रम जो सामन्ती हिन्दु धर्मबाट प्रेरित थियो त्यसलाई भण्डाफोर गरी जनवादी तिजको रुपमा मनाउँदै आएको थियो । यसै सिलसिलामा तिजको दिन पारी पशुपतिस्थलमा रानी ऐश्वर्यमाथी अपरिचित व्यक्तीले ढुंगा हान्दा क्रान्तिकारी महिलाहरु तारो बन्न गएको उल्लेखनिय छ । जब यो सरकार नाङ्गीदै गए र २०५१ सालको संसदिय चुनावमा बहिष्कार गर्ने पार्टीले निति लियो तब ग्रामिण क्षेत्रहरुमा वर्ग संघर्षहरु हुन थाले । रुकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे,सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछाम आदि ठाउँहरुमा झुट्ठा मुद्धाहरु दर्ज गर्ने र दमन गर्ने निति लिन थाल्यो । त्यसताका गोरखाको ताङराङ गा.वि.स.मा भएको घटना उल्लेखनिय छ । त्यहाँ एउटी महिला मायादेवीलाई १० रोपनी खेत बेच्ने नाउँमा जमिन्दार नेरेन्द्रले झुक्याएर ३ रोपनी पाखो दिने काम भयो । यसमा सर्वसाधारण जनताले विरोध गर्दा धरपकड झुट्ठा मुद्धा लगाउने काम भयो । यस घटननाले आउने जनयुद्धको लागी मलजल दिने काम ग¥यो । त्यसरी नै रोल्पामा भएको रोमियो अप्रेशन उल्लखनिय छ । त्यहाँ सकृय चुनाव पहिष्कार ग¥यो भन्ने रिसले त्यहाँका प्रायः पुरुषहरु र महिलाहरुलाई झुट्ठा मुद्धा हाल्ने काम भयो । त्यतिखेर नै पुरुषहरुको अभावमा महिलाहरुले हलो जोत्न थाले र घर छाउन थाले । पुरुषहरु नभेट्टाउँदा महिलाहरुलाई समात्ने सम्वेदनसिल ठाउँमा सिस्नो पानि लगाउने, चुरोटको ठुटाले पोलेका दागहरु म आफैले देखेर आएको थिएँ । त्यहाँका बालबालिकासमेत पुलिस देख्ने बित्तिकै ढुंगा हान्ने, हँसिया देखाउने भैसकेका थिए । यसरी चुनाव वहिष्कारले ग्रामीण क्षेत्रमा वर्गीय संघर्ष विकास गरिसकेको थियो । जसले गर्दा महिला आन्दोलन त्यसबाट प्रभावित हुनथाल्यो । स्मरणीय रहोस् जनयुद्ध थालनी अगाडी पुर्ण कमारी सुवेदी मात्र पुर्णकालिन कार्यकर्ता थिइन् पछि गएर पम्फा भुसाल पनि पुर्णकालिन कार्यकर्ता भइन् । बाँकी महिलाहरु अर्ध पुर्णकालिन थिए । त्यतिबेला मोहनविक्रमको धारले यो पार्टीलाई असर पारेको थियो जसअनुसार पुर्णकालिन बुवा, लोग्ने, दाजुको लागी क्रमशः आमा, श्रीमती, दिदी बहिनी जिविकोपार्जन गरेर अर्ध पुर्ण कालिन रहने संस्कार बसेको थियो । जनयुद्धको तयारीको संन्ध्यामा यो संस्कारको विरुद्ध लड्नको लागी प्रशिक्षण गर्न परेको थियो । यसरी जनयुद्ध अगाडी महिला आन्दोलन मुलतः शहरकेन्द्रित लिंगीय आन्दोलनकोरुपमा विकास भएको देखियो ।
जनयुद्धपछि महिला आन्दोलनको स्थिति
जनयुद्धको दश वर्षको उपलव्धी भनेको अंश अंशमा सिमित लिंगिय माग र अधिकारमा सिमित महिलाहरुलाई राज्यसत्ताको वर्गीय स्वरुप पहिचान गर्न सफल हुनु हो । ‘‘राजनितिक सत्ताबाहेक अरुसबै भ्रम हो’’ र ‘‘राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ’’ भन्नेजस्ता सत्ता र सशस्त्र संघर्षका अधारहरु सिकाएर क्रान्तिकारी छलाङ, क्रमभंगबाट हिंड्न सिकाएको छ । यसले गर्दा हज्जारौं संख्याका महिलाहरु चुलो चौकी, घरबार छोडेर पुर्णकालिन कार्यकर्ता बन्न गए । जनयुद्धको विकाससंगसंगै तिनीहरुको कार्यक्षेत्र, वैचारिक, फौजी, आर्थीक, सामाजिक क्षमता वृद्धी हुदै गए र पार्टी सेना र सत्तामा सहभागी भइ समग्र बन्न सफल भए । वास्तवमा महिलाहरुलाई पुर्णकालिन गर्ने वातावरण फागुन २०५१ सालमा सम्पन्न भएको तेश्रो विस्तारित वैठकले दियो । जसमा फौजी रणनिति र कार्यनिति पास गर्ने दौरानमा प्रत्येक सैन्य फर्मेशनमा न्युनतम दुई महिला योद्धा हुनुपर्ने निर्णय यस वैठकले लियो । यसले गर्दा अब महिलाहरु वैचारिकरुपमा मात्र नभएर भौतिकरुपमा पनि सशस्त्र बनाउने वातावरण बनायो । त्यसपछि २०५७ सालमा सम्पन्न भएको दोश्रो राष्ट्रिय सम्मेलन यस मामलामा ऐतिहासिक रह्यो की यसले विगत ५ वर्षका जनयुद्धलाई संश्लेशण गर्ने क्रममा महिलाहरुले देखाएको साहस, लगनसिलतालाई कदरमात्र नगरीकन कसरी क्रान्ति सम्पन्न गर्नको लागी महिला मुक्ति अति आवश्यक छ भनेर सुनिश्चित ग¥यो । त्यसलाई मध्यनजर राखेर पार्टीभित्र महिला विभागको अवधारणा ल्यायो । २०५८ सालमा घोषणा भएको संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको न्युनतम साझा निति तथा कार्यक्रम उल्लेखनिय छ । जसमा परिच्छेद ९ मा महिला तथा परिवारको बारे क्रान्तिकारी धारणा स्पष्टरुपमा उल्लेखित छ जस अनुसारः
६६ महिलाहरमाथी भएका पितृ सत्तात्मक शोषणका सबै रुपहरुको अन्त्य गरिने छ । र महिलाहरुलाई सबै क्षेत्रमा पुरुषसरह समान अधिकार दिइने छ । छोरीलाई छोरासरह पैतृक सम्पतीमाथी समान अधिकार हुने छ । सत्ताका सबै अंगहरुमा सहभागीताका निम्ति महिलाहरुलाई विशेषाधिकार प्रदान गरिने छ । सबै प्रकारका बेश्यावृत्तीमाथी रोक लगाइने छ । र, वादी, झुमा आदि पुर्णरुपले अन्त्य गरिने छ । महिला बेच विखन गर्ने र बलात्कारीलाई कडा दण्ड दिइने छ । देश भित्र र विदेश, विशेषतः भारतका बेश्यालयहरुमा बेचिएका नेपाली महिलाहरुलाई मुक्त गरेर ससम्मान पनः स्थापन गरिने छ ।
६७ महिला र पुरुषविच विभाह दुबैको र स्वतन्त्र इच्छाले बाहेक अरु कुनै करकाप वा परम्पराको अधारमा हुनसक्ने छैन । विभाहमा पुर्ण एकनिष्ठा हुनु पर्ने छ । बहु विभाह बर्जीत गरिनेछ । विभाहको निम्ति न्युनतम उमेर महिलाको विस वर्ष र पुरुषको वाइस वर्ष हुनुपर्ने छ । दुवै स्थानिय जनसरकारका पदाधीकारीसमक्ष विभाहको निम्ति निवेदन दिएमा आवश्यक छानविनपछि विभाह दर्ता गरी प्रमाणपत्र दिइने छ । परिवार नियोजन गर्नु र साना परिवार कायम गर्नु दम्पतीहरुको दायित्व हुनेछ । गर्भपतन गर्न पाउने महिलाको अधिकारलाई संरक्षण गरिने छ । विधुवा विभाहलाई प्रस्रय दिइने छ । शिशु स्याहारको विशेष व्यवस्था गरिने छ ।
६८ दुबै पति पत्निले चाहेमा र अनुरोध गरेमा सम्बन्ध विच्छेद हुन सक्नेछ । एक पक्षले मात्र माग गरेमा आवश्यक छानविनपछि स्वीकृति दिने वा नदिने अधिकार जनसरकारमा रहने छ । महिलामाथीका परम्परगत उत्पीडनको स्थितिलाई ख्याल गरी सामान्यतः त्यस्तो विवादमा महिलाको पक्षलाई बढी प्राथमिकता दिनुपर्छ । बराबरीको आधारमा र बालबच्चाका लालन पालन गर्ने दायित्व दूई तिहाइ बाबुको र एक तिहाइ आमाको हुनेछ ।
त्यस्तै पार्टी, जनसेना र जनसत्तामा महिलाहरुको स्थितिबारे महिला विभागले पठाएको सर्वेक्षण फारम देशको कुना काप्चाबाट २०६० प्राप्त भएको प्रतिवेदन उल्लेखनिय छ । यसमा व्यक्तीगत विवरण, संगठनात्मक विवरण, परिवारको राजनैतिक पृष्टभूमि स्थिति, रुची —अनुभुती, लिंगिय प्रश्नबारे, सारिरीक, मानसिक स्वास्थ्यबारे, संगठनात्मक समस्याबारे, समस्या समाधानका विधिहरुबारे र विविध गरी जनयुद्धमा महिलाहरुको सचित्रण खिच्न सफल भएको छ । (हेर्नुस् हिसिला यमिद्धारा लिखित जनयुद्ध र महिला मुक्तीमा पार्टी, जनसेना र जनसत्तामा महिलाहरुको स्थिति, पृष्ठ १४३)
जनयुद्धको क्रममा महिलाहरुलाई पार्टीमा सचेतरुपमा विकास गरेको देखियो । कतिपय ठाउँमा क्षेत्रिय, जिल्ला, एरिया र सेलका इन्चार्ज बनाएर काम दिएका छन् । पोलिट व्यूरो र केन्द्रिय समितिमा उनीहरुको उपस्थिति छ । जनसेनामा उनीहरुको उपस्थिति सेक्सन, प्लाटुन, कम्पनी, बटालियन देखी व्रिगेड कमाण्डरसम्म भएका छन् । जनसत्तामा उनीहरु उद्मोग, सहकारी पसल, भौतिक निर्माण, कृषी फार्म, स्वास्थ्य, शैक्षिक क्षेत्र, सांस्कृतिक क्षेत्रमा कार्यरत थिए । उल्लेखनिय त के छ भने महिलामोर्चा सबै क्षमतालाई केन्द्रिकृत गर्ने साधन बन्न पुगेको थियो अर्थात् यो जनशक्ती उत्पादन केन्द्र बन्न पुगेको थियो जहाँबाट त्यो जनशक्ती पार्टी, सेना र सत्तामा पठाउँथ्यो । आधारइलाकामा विभिन्न अभियानहरु जस्तैः ‘‘एक घर एक साथी’’,‘‘महिला रुपान्तरण अभियान’’,‘‘दिदी बहिनी हातेमालो अभियान’’,‘‘सिप साटासाट अभियान’’,‘‘एक टोल एक संगठन’’,‘‘महिला जागरण अभियान’’,‘‘साक्षता अभियान’’,‘‘सरसफाई अभियान’’, र ‘‘जहाँ सम्पर्क त्यहाँ संगठन, जहाँ संगठन त्यहाँ उत्पादन’’ जस्ता अनगिन्ती अभियानद्धारा आम महिलाहरुलाई समग्र बनाउन कोसिस भयो । यसरी जनयुद्धको दौरानमा महिलाहरुको छलाङमय समग्र विकास भएको देखियो । वर्ग संघर्षको भट्टीमा खारिएर आएको देखियो ।
संविधान निर्माणमा महिलाको भुमिका
अहिले हामी शान्ती प्रकृयामा छौ तर त्यो उपलव्धीमुलक शान्तीप्रकृया हो । अर्थात् यो शान्ती प्रकृया जसले समानुपतिक, समावेशी, संघिय लोकतान्त्रिक गणतन्त्रिक संविधान सुनिश्चित गर्नु छ । यहाँ हामी द्धन्द्धवादी हुन जरुरी छ हिजो हामी युद्धमा रहंदा पनि राजनैतिक पहलकदमीको लागी शान्ती वार्तामा पटक पटक आयौं आज शान्ती प्रकृयामा आएर पनि जनसंविधान निर्माणको लागी, राष्ट्रियताको लागी र संयुक्त राष्ट्रिय सरकारको गठनको लागी पाइला पाइलामा संघर्ष गरिरहन जरुरी छ । यतीखेर संविधान सभामा ४० प्रतिशत बहुमत संविधान सभाको सदस्य जित्नु भनेको चानचुने कुरा होइन । हिजो लेनिनलाई समेत हैरान पारेको संविधान सभाको मत हामीले जितेका छौं । संविधान सभामा ६०१ मध्ये विभिन्न पार्टीहरुबाट प्रत्यक्ष र समावेशी गरी १९७ महिला सभासदहरुको उपस्थिति हुनु भनेको चानचुने कुरा हैन त्यसमा पनि ८९ जना महिला सभासदहरु प्रत्यक्षरुपमा जित्नु उल्लेखनिय छ । २४ पार्टीहरुको संलग्नतामा बनेको संविधानसभामा ८९ मध्ये २४ जना ए.ने.क.पा.(माओवादी) ले प्रत्यक्ष निर्वाचमा जित्नु ठुलो कुरा हो । हिजो आधारइलाका लगायत अन्य इलाकामा सत्ता चलाउँदै आएका महिलाहरुले अहिले नेपालको सरकार, सदन र संघर्षको मोर्चा चलाउन परेको छ । आज महिलाले राज्यसत्ताको चिरफार गर्न पाएको छ । त्यसभित्र कुन अंग महत्वपुर्ण, सामरिक तथा चपाउने दाँत सरह हुन्छ र कुन अंग सहायक, देखाउने दाँतसरह हुन्छ त्यो बुझ्न जरुरी छ ।
अहिले राज्य पुनः संरचना मुख्य एजेण्डा भएर आएको छ जनयुद्ध ताका उठाउँदै आएको गणतन्त्र, लोकतन्त्र र संघिय संरचनालाई सुनिश्चित, सुदृढ र संकेन्द्रित गर्नुपर्ने आवश्यकता छ । महिलाको लागी जातिय, क्षेत्रिय, दलित उत्पिडनको विरुद्ध मुक्ती लडाइ किन सामरिक छ भने ती उत्पिडित समुदाय भित्र पनि उतिपडित समुदाय महिला परेको छ । साथै जति लोकतन्त्र, आत्मनिर्णय गर्न सक्ने शक्ती तलतल आधारभूत निकायमा जान्छ त्यती ती समुदायका महिलामा पुग्छ । अतः महिलाहरुको लागी संघिय संरचना जातिय, क्षेत्रिय आधारमा हुँदा फलदायक हुन्छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने जनयुद्धताका नै जातिय, क्षेत्रिय आधारमा बनेको १३ वटा स्वायत्त प्रदेशरुमध्येमा आधारइलाका र सहायक इलाकामा महिलाहरुको उल्लेखनिय सहभागिता थियो । त्यहाँ महिला र दलितहरुले विशेष अधिकारको अभ्यास गर्न पाएको थियो ।
संघिय संरचनामा जाँदाखेरी यो बुझ्नु अति जरुरी छ की जातिय, क्षेत्रिय शोषणको विरोध गर्दाखेरी, सामन्तवाद र साम्राज्यवादको पनि विरोध गर्न आवश्यक छ नत्रभने तिनीहरुले यो आन्दोलनलाई सांस्कृतिक, धार्मीक, रुढीवादी, जातिवादी, क्षेत्रवादी आन्दोलनमा धकेली दिन्छ । यहाँ सर्वहारा नेतृत्व किन चाहिन्छ भने यो विविध आयामलाई सर्वहारा दृष्टिकोणले मात्र एक ठाउँमा ल्याउन सकिन्छ किनभने सर्वहाराको लागी गुमाउनु केही छैन मात्र जञ्जीर छ । यहाँ के कुरामा सचेत हुन जरुरी छ भने दक्षिणपंथी र यथास्थितिवादी शक्तीहरुले संघिय प्राप्त अभियानलाई सांस्कृतिक राष्ट्रियतामा मात्र सिमित गर्न खोज्छ भने अग्रगामी शक्तीले आर्थीक राष्ट्रियतामा लाग्न खोज्छ । महिलालाई संस्कृतिको वाहक बनाएर यथास्थिति कायम गर्न खोज्छ भने अग्रगामी शक्तीले महिलाहरुलाई आर्थीक शक्तीकोरुपमा विकसित गर्न खोज्छ ।
निष्कर्ष
यतिखेर नेपाल संक्रमणकालिन अवस्थामा छ । एकातिर महिला मुक्तीको लागी असाध्यै राम्रो संभावना छ अर्कोतिर त्यतिकै चुनौति पनि छ । महिला मुक्तिको संभावना यस मामलामा छ की जनआन्दोलनअघि महिलाको हक हित मलतः लिंगिय अथवा रुपमा सम्वोधन भएको थियो, जनयुद्धको दौरानमा मुलतः वर्गीय अर्थात सारमा सम्वोधन भएको थियो भने आज गणतान्त्रिक संघिय संविधान निर्माण गर्न सफल भयो भने रुप र सारको संम्मिश्रणसंग संगै समग्र सुदृढ र सामरिक बन्न पुग्नेछ । यसले समाजलाई अझ अगाडी बढाउन मदत पु¥याउने छ । अर्कोतिर शान्ती प्रकृया तार्कीक निष्कर्षमा नपुग्दा संविधान बन्ने नबन्ने अनिर्णको बन्दीमा पुग्दा स्थिरता र राष्ट्रियता कमजोर हुन पुग्दा महिला हिंसा विभिन्न रुपबाट उठ्दै गएको देखिन्छ । वेरोजगार हुँदा महंगी बढ्दै जाँदा घरभित्र महिलामाथी हिंसा बढ्दै गएको दखिन्छ । त्यस्तै बोक्सीको आरोप पनि समाजमा भय, अस्थिरताको प्रतिक हो । साथै, वर्गीय, जातिय, क्षेत्रिय, दलित, धार्मीक उत्पिडनको वैज्ञानिक निकास नहुदा यसले पृथक आन्दोलन निम्त्याउँछ जसको पहिलो सिकार पनि महिला नै हुन जान्छ । अहिलेको लडाई भनेको नयाँ नेपाल बन्ने की पुरानै नेपाल कायम गर्ने भन्ने हो । अहिलेको लडाई भनेको महिला यथास्थितिको वाहक बन्ने की परिवर्तनको वाहक बन्ने यहाँ बझ्नु पर्ने के छ भने जनयुद्धताका राजतन्त्र र सामन्ती संरचनालाई ध्वस्त गर्नलाई महिला निपुर्ण र लाल बन्न सावित भएका थिए । अब समाजवाद उन्मुख राष्ट्रिय पुंजीवाद निर्माण गर्नको लागी लाल र निपुर्ण बन्न आजको ऐतिहासिक आवश्यता हो ।
२०६६-६-१५

Leave a Reply

Your email address will not be published.