Posted on

महिला पुरुषको सम्बन्धः प्रश्नै प्रश्न
हिसिला यमि
समाजको विभिन्न विकासको चरणमा महिला पुरुष बिचको सम्बन्ध विभिन्न उत्पादन प्रणलीसंग फरक फरक हुँदै आएको सर्वविधितै छ । विशेष गरी बर्गिय समाज भित्रको उत्पादन प्रणालीमा महिला पुरुषको सम्बन्धमा एउटा प्रवृति देखिदै आएको छ । त्यो भनेको महिला पुरुष बिचमा हुने भेदभाव हो । जो सारमा एउटै भए पनि रुपमा फरक फरक देखिदै आएको छ । यो प्रवृति घर देखि समाज हुँदै राष्ट्रिय स्तर देखि अन्तराष्ट्रिय स्तर सम्म देखिन्छ । त्यो भनेको प्राय सबै क्षेत्रमा पुरुष अघि, महिला पछि परेको देखिन्छ । तर क्रान्तिको बिशेष अवस्थामा यो सम्बन्ध सुध्रिएको पनि देखिन्छ । क्रान्तिबाट शान्ति प्रक्रियामा आउँदा यो सम्बन्ध स्खलन भएको पनि देखिन्छ । किन ?
दार्शनिक रुपमा हेर्दाः
प्राय पुरुषहरु स्वतन्त्रताको दुनियाँमा रमाएको देखिन्छ । अतः तिनीहरु बैचारिक काममा, दार्शनिक काममा र दक्षता हासिल गर्ने काममा रमाएको देखिन्छ । परिणम स्वरुप तिनीहरुको काम बढी सिर्जनशिल, समग्र र सुदृढ भएको देखिन्छ । जब कि महिलाहरु बाध्यताको दुनियाँमा सीमित भएको देखिन्छ । अतः तिनीहरु श्रमसंग सम्बन्धित, दैनिक भैपरी आउने काममा, परम्परागत काममा सीमित भएको देखिन्छ । परिणाम स्वरुप तिनीहरुको काम घिसिपिटे, अंश अंशमा सिमित र कहिल्यै नसिद्धिने जस्तो देखिन्छ ।
राजनीतिक रुपमा हेर्दा
राजनैतिक रुपमा हेर्दा राजनीतिमा चाहिने समग्रता, लचकता, गतिशिलता, श्रोत साधन माथिको पहुँच आदि यो पितृसत्ताको संरचनाले पुरुषहरुलाई नै साथ दिएकाले प्रायः पुरुषहरु पूर्णकालिन कार्यकर्ता हुन पाउने, नेतृत्व सम्म पुग्न सक्ने भएका छन् । जब कि महिलाहरु प्रायः अल्पकालिन कार्यकर्ता हुन बाध्य हुने, जनतामा सिमित हुनुपर्ने बाध्यता देखिन्छ । श्रोत साधनमाथिको पहुंच नहुंदा महिलाहरु पछि परेका देखिन्छन् । पुरुष राजनैतिक क्षेत्रमा निर्णायक ठाउँमा पुगेको हुने र महिला प्रायः सहायकमै सिमित हुनुपर्ने देखिन्छ ।
आर्थिक रुपमा हेर्दाः
पितृसत्तात्मक आर्थिक संरचनाले त्यसमा पनि मुलतः वंश छोराबाट हस्तान्तरण हुने भएकोले पनि पैत्रिक सम्पत्ति छोरामा स्वतः जाने संरचनाले गर्दा पनि आर्थिक दृष्टिकोणले पुरुष वा छोरा सबल देखिन्छ र महिला वा छोरी आर्थिक रुपमा दुर्बल देखिन्छ । उत्पादन प्रणलीमा पुरुष उत्पादन शक्ति भएको भान हुन्छ भने महिला उत्पादन सम्बन्ध भएको भान हुन्छ । पुरुष उत्पादनकर्ता भए जस्तो देखिन्छ महिला प्रजनन् कर्ता भए जस्तो देखिन्छ । त्यस्तै अहिलेको पूँजीवादी युगमा पुरुष लगानीकर्ताको रुपमा आएको देखिन्छ भने महिला लगानीको वातावारण तयार गर्ने अर्थात विज्ञापनको वाहक भएको देखिन्छ । पुरुषहरु उत्पादन कर्ता भएको देखिन्छ भने महिलाहरु उपभोक्ता भएको देखिन्छ ।
शोषणको विभिन्न रुप हेर्दाः
शोषणलाई विभिन्न रुपमा हेर्दाः क्षेत्रिय शोषणको रुपमा हेर्दा पुरुष शहरिया जस्तो सुविधा सम्पन्न देखिन्छ भने महिला गवाँर जस्तो सुविधा रहित, उपेक्षित जस्तो देखिन्छ । जातिय दृष्टिकोणले हेर्ने हो भने पुरुष बाहुन, क्षेत्री जस्तो चलाख देखिन्छ भने महिला जनजाती, दलित भए जस्तो सोझो देखिन्छ । बर्गिय रुपमा हेर्दा पुरुष पूँजीवादी भएको जस्तो देखिन्छ भने महिला सर्वहारा भए जस्तो देखिन्छ ।
सामाजिक रुपमा हेर्दाः
सामाजिक रुपमा पुरुष समाजको प्रतिष्ठित भएको देखिन्छ भने महिला संस्कृति र परम्पराको वाहक बनेको देखिन्छ । महिलाहरुले श्रृंगार पटार गरेर पुरुषको प्रतिष्ठा जोगाइदिएको देखिन्छ । महिला सामाजिक कर्ताको रुपमा देखिएता पनि अन्ततः घर भित्रको काममा परुषको निर्णायक भूमिका रहने गरेको देखिन्छ । सायद त्यसैले होला महिला छोरी हुँदा बाबाको अधिनमा, श्रीमती हूँदा श्रीमानको अधिनमा र बुढेसकालमा छोराको अधिनमा रहनु पर्दछ भन्ने सामाजिक मान्यता देखिन्छ । त्यस्तै महिलाहरुलाई अर्काको भित्ता पोत्ने जात पनि भनिन्छ ।
मनोवैज्ञानिकरुपमा हेर्दाः
मनोवैज्ञानिक रुपमा पुरुषले पहलकदमी लिएको देखिन्छ भने प्रायः महिला रक्षात्मक स्थितिमा देखिन्छ । सुविधा सम्पन्न पुरुष भएकोले पुरुषमा बढी दम्भको भावना ,पुरुषार्थको भावना, जीतको मनस्थिति देखिन्छ भने महिलामा बढी हिनताबोध, हारको मनस्थिति रहेको देखिन्छ । पुरुषको शैली बढी आक्रामक हुन खोज्छ भने महिला अलि रक्षात्मक स्थितिमा देखिन्छ ।
व्यवसायिक रुपमा हेर्दाः
व्यवसायिक दृष्टिले हेर्दा पुरुष दक्ष, निपुर्ण भए जस्तो देखिन्छ भने महिला कच्चा पदार्थ, सामान्य शिप भएको जस्तो देखिन्छ । पुरुष आफ्नो काममा एकाग्र भएर लाग्ने र काम व्यवसायिकरण भए जस्तो देखिन्छ भने महिलाको काँध माथि प्रजनन्सम्बन्धी थप जिम्मेवारी भएकोले काममा एकाग्रता नपुग्ने कम व्यवसायिक भएको जस्तो देखिन्छ ।
क्रान्तिकारी संभावनाको आँखाबाट हेर्दाः
नेपालमा दश बर्षे जनयुद्धले के दियो भने विचार, राजनैतिक, फौजी दृष्टिकोणले यी सबै प्रवृतिहरुलाई सापेक्षित रुपमा उल्ट्याउन सकिने देखिन्छ । जनयुद्धको दौरानमा वैचारिक श्रेष्ठताको बलमा ल्याइने केन्द्रिकृत, एकिकृत, रुपान्तरण सहितको युद्धको बलमा बर्गिय प्रश्नसंगसंगै जातीय क्षेत्रिय र लैगिक शोषणबाट उब्जेका कतिपय मुक्तिका कदमहरु सुल्झिदै गएको देखिन्छ । मुलतः सामान्तवादी पितृसत्ताबाट उत्पिडनमा परेका महिलाहरुको समस्याहरु हल हुँदै गएको देखिन्छ । यो विशेषगरी फौजी क्षेत्रमा र आधार इलाकामा देखिन्थ्यो । फौजी क्षेत्रमा महिला योद्धाहरुले देखाएको एकाग्रता, वलिदान ,साहास जसले गर्दा तिनीहरु नेतृत्व पंक्तिमा पुगेको देखिन्छ । तिनीहरुले देखाएको बलीदानी, धैर्यता, जोश जाँगरले कतिपय पुरुषहरुलाई पनि पछि पारिदिएको उदाहरणहरु हाम्रा सामु छन् । खास गरी सामुहिक रहन सहन, नीजि सम्पत्तिबाट मुक्त, केन्द्रिकृत, एकिकृत , लक्ष्य , रुपान्तरण सहितको अग्रगामि छलाङ्ग र जनतासंगको घनिष्ठ सम्बन्धले महिला योद्धाहरुमा मात्र नभएर महिला पुरुष सम्बन्धमा समेत आमुल परिवर्तन आएको देखिन्थ्यो । जस्तै, नगद संकलन गर्नेमा महिलाहरु धेरै अगाडी देखिन्थ्यो, आफ्नो गहनाहरु झिकेर पार्टीमा लगानी गरिन्थ्यो, खाध्यान्न संकलनबाट महिला संगठन आत्मनिर्भिर हुन्थ्यो । आधार इलाकामा नमुना गाउँ बनाइ विकासका कामहरु जस्तैः गोरेटो, घोरेटो बाटो बनाउने, चौताराहरु बनाउने गरिन्थ्यो । स्थानिय तहमा घरदैलोमा नै न्याय दिने काम भएको थियो । रक्सी, जुवा, तास मुक्त गाउँ बनाएका थिए । त्यहाँका महिलाहरुले पैत्रिक सम्पत्ति माथि समान अधिकार पाएका थिए ।
सैन्य क्षेत्रमा छुट्टै महिलाहरुको प्लाटुन सम्म बनाईएको थियो । कम्पनी, बटालिएन हुँदै बिग्रेड सम्मको कमाण्डिङ्ग गरेका थिए । साहस ,बलीदान र त्यागमा महिलाहरुले कृतिमान खडा गरेका थिए । वैचारिक क्षेत्रमा महिला मोर्चाले महिला पत्रिकाहरु केन्द्र देखि जिल्ला सम्म नियमित प्रकाशित गर्दथे । आधार इलाकाको सत्तामा महिलाहरुको ४० प्रतिसत उपस्थिति हुन्थ्यो । पार्टीको हरेक तहको नेतृत्व पंक्तिमा महिलाहरुको उपस्थिति हुन्थ्यो ।
निष्कर्षः
माथिबाट के प्रश्न उब्जिन्छ भने क्रान्तिको बेलाको उपलब्धीहरु शान्तिकालमा किन स्खलन हुन पुग्दछ ? बिशेष गरी महिला पुरुषको सम्बन्धमा ? त्यसमा पनि महिला उत्पिडनको सम्बन्धमा । यो प्रश्न पूर्णक्रान्ति भएर शान्तिप्रक्रियामा आउँदा पनि देखियो । जस्तैः रुस र चिनमा देखियो । नेपालको सन्दर्भमा जहाँ आंशिक क्रान्ति भयो त्यहाँ झन प्राप्त उपलब्धी छिट्टै गुमेको देखियो ।
कतै समुहिक जीवनबाट व्यक्तिगत जीवन प्रणालीमा आउँदा त त्यस्तो भएको होईन ? कतै सामुहिक सम्पत्तिबाट नीजि सम्पत्तिको प्रणालीमा आउँदा त त्यस्तो भएको होईन ? कतै जनतासंगको सामुहिक सम्बन्धबाट स्वार्थसहितको व्यक्तिगत सम्बन्धको प्रणालीमा आउँदा त तेस्तो भएको होईन ? कतै सैद्धान्तिक श्रेष्ठताबाट स्खलन भई व्यवहारवादी हुँदा यस्तो समस्या त आएको होईन ? कतै क्रान्ति पछि निरन्तर क्रान्तिको अवधारणा विर्सेर यस्तो भएको त होईन ? यी प्रश्नहरुको जवाफ चाहिएको छ !

Leave a Reply

Your email address will not be published.