Posted on

काठमाडौँ — सरकारी संयन्त्रहरूको कमजोरीका कारण नेपाल बिचौलियाहरूको चंगुलमा फँस्दै गएको छ ।
ज नयुद्धताका जब महिलाहरूको सहभागिता बढ्न थालेको थियो, त्यतिखेर म माओवादी पार्टीको महिला विभागको प्रमुखको हैसियतले हर्षित थिएँ ।

किनभने उनीहरूको सहभागिताले जनयुद्धलाई साँच्चैको जनताको युद्धमात्र नभएर प्रतिक्रान्तिलाई रोक्ने हतियारसमेतका रूपमा हामीले बुझेका थियौं । उनीहरूको सहभागिताले मलाई के अनुभूति गराएको थियो भने यो पुरानो राज्यसत्ताको विघटन र विनाशको प्रतीक हो । किनभने महिला भनेको परिवारभित्रको आधारभूत समुदाय हो । स्थानीय निकायभित्रको आधारभूत जनता हो । र देशभित्रको आधारभूत नागरिक हो । त्यसैले लेनिन भन्ने गर्थे– देशको आधारभूत स्थिति बुझ्नका लागि महिलाको आधारभूत परिवेश बुझ्नुपर्छ । आज नयाँ संविधानले नयाँ राजनीति र राजनीति गर्ने पार्टी, नेतृत्व, संगठन, योजनाको माग गरिरहेको छ । के हामीले ती पाएका छौं त ?

आज आएर देशका विभिन्न भागमा महिलामाथि शृंखलाबद्ध ढंगले हँुदै आएको घरेलु हिंसा, बेचबिखन, बालविवाह, विदेश पलायन र बलात्कारका घटनाहरू सुन्दा यो देश अग्रगमन होइन, पश्चगमनतिर गएको भान हुन्छ । कुरा कहाँनेर छ भने पञ्चायतकालमा पनि महिलामाथि हिंसा, बलात्कार हुन्थ्यो । तर त्यतिबेला सबै पार्टी, भलै भूमिगत नै किन नहुन्, तिनका भगिनी संगठनहरूले एक भएर त्यसको विरोध गर्थे । कारण– त्यतिबेला सबैको शत्रु राजतन्त्र थियो, त्यसैले सबै एकै ठाउँमा गोलबन्द हुने गर्थे ।

तर आजका ‘शत्रु’ को हुन् ? आजको शत्रु पुराना नेतृत्व, पार्टी, संगठनको संरचना, सत्ताकेन्द्रित राजनीति, सत्ताकेन्द्रित योजना हो । त्यसैले यस्तो पेचिलो विषयमा तिनीहरू, तिनका भ्रातृ संगठनहरू प्राय: मौन छन् । आज तिनीहरूले औंला ठड्याउँदा तीनवटा औंला आफूतिर सोझिन्छ भनेर चुप लाग्न थालेका छन् । अब शत्रु बाहिर होइन, भित्रै खोज्नु जरुरी छ ।

अब त देश झन्भन्दा झन् अस्थिर र परनिर्भर हुँदै गइरहेको छ । यस्तो बेलामा महिला हिंसाको विषय महिलाको मात्र सीमित र सरोकारको विषय बन्दैन । यो त देशको गरिबी, दुरवस्था र दिशाहीनताको प्रतीक हो । किनभने महिलामाथिको हिंसा भनेको अन्तत: परिवार, समुदाय र देशमै बज्रिन आउँछ । जस्तै– घरभित्र एउटा निर्दोष महिला पिटिन्छिन् भने त्यसरी पिट्ने मान्छे हिंसकमात्रै होला ? सायद बेरोजगार होला, आफ्नो कामको हैसियत अनुसार दाम पाएन होला ? अर्थात् आफ्नो भविष्यप्रति चिन्तित पनि होला कि ? आफ्नी श्रीमती, बहिनी, दिदी, आमा, काकीलाई पिट्ने ती पुरुषले कालान्तरमा आफ्नो दाजु, भाइ, बुबा, हजुरबुबा, काकालाई पिट्न बाँकी राख्ला ?

आज आफ्ना देशका युवकमात्रै नभएर युवतीहरूसमेत विदेशमा पलायन भएका छन् । यो देशको गम्भीर परिस्थितिको द्योतक हो, किनभने आज प्रत्येक परिवार अधुरो भएको छ, न्यास्रिएको छ, नुन नहालेको तरकारीजस्तो भएको छ । र विखण्डनतिर गइरहेको छ । आज घरगाउँमा, सहरमा वृद्धाहरूमात्र बाँचिरहेका छन्, देशका नेताहरूमात्र बाँचिरहेका छन् । यहाँ उल्लेखनीय कुरा के छ भने एउटा उच्चकोटीको कर्मचारीले बढो गर्वका साथ विदेशमा पढ्न गएको नेपालीलाई स्वदेश नफर्कनु भन्ने अर्ति दिन्छ । जबकि ऊ यो देशको स्थायी सरकारको प्रतिनिधि हो । यहाँका नेताहरू आफ्ना सन्तान र नातेदारहरू अमेरिका, युरोप, क्यानाडामा पलायन भएकोमा गर्व गर्छन् । जबकि नेताहरू आफैं जनताको लागि आशा–भरोसाको केन्द्र बन्नुपथ्र्यो ।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने जुन गरिब देशमा महिलाहरू बलात्कृत हुन्छन्, त्यहाँ प्रकृतिको पनि बलात्कार हुन्छ । आज नेपालका वनपाखाहरू, नदीका बालुवाहरू, जंगलका जनावरहरू कोपरिएका छन् । जसरी बेपत्ता भएका बालबालिका, महिला तथा विदेशिएका पुरुषहरूको ठेगान राखिएको छैन, त्यसरी नै नेपालका सम्पदाहरू कति बाहिर गए, कति देशभित्रै बेचिए, त्यसको लेखाजोखा छैन । बलात्कार गर्ने भनेको यौन तृप्तिको प्रतीकमात्र होइन । कतिपय बलात्कारहरू राजनीति केन्द्रित, राज्यद्वारा निर्देशित, नश्लीय दंगाकेन्द्रित र धार्मिक दंगाकेन्द्रित पनि हुन्छन् । त्यस्ता संस्थागत बलात्कारको दूरगामी असर हुन्छ । संयोगवश नेपालको अहिलेको परिस्थितिमा भइरहेको बलात्कार यौनद्वारा निर्देशित देखिन्छ । तर यो शृंखला बढ्दै जाँदा बिचौलियाहरू संगठित भएर र विभिन्न पार्टीको संरक्षणमा आउँदा यसले पनि संस्थागत स्वरुप लिन पुग्छ । तसर्थ यस्तो हुनुभन्दा अगाडि नै आम जनता, राजनीतिक पार्टीहरू, अधिकारकर्मीहरू, भगिनी संगठनहरू र सम्बन्धित सरोकारवालाहरू सचेत हुन र संघर्ष गर्न जरुरी छ । नभए सिङ्गो देश नै बलात्कृत हुनपुग्छ ।

विश्वमा ‘मि टु’ अर्थात् ‘यौनजन्य पीडामा म पनि’ अभियान चलिरहेको बेला नेपालमा भने देखिनेगरी, घाइते हुनेगरी, मर्नेगरी खुलेआम महिलाहरूको अस्मिता लुटिएको छ । तर आफूलाई देशीय तथा अन्तरदेशीय महिला/पुरुष अधिकारकर्मीहरू, भगिनी संगठनहरू, नेतागण ठान्नेहरू प्राय: सबै मौन छन् । अझ आफूलाई खाँटी क्रान्तिकारी भन्ने पार्टी र त्यसका भगिनी संगठनहरू कहाँ छन् ? विशेषगरी अहिले उपत्यकाभित्रै शृंखलाबद्ध रूपमा भइरहेको बलात्कारका घटनाहरू उल्लेखनीय छन् । गएको मंसिर २ गते ललितपुरको गोदामचौर गाउँमा एउटा नवविवाहित महिला आफ्नो अफिसबाट घर फर्किरहेको मौका छोपी तीनजना पुरुषबाट सांघातिक हमलाका साथै बलात्कारसमेत भयो । तिनले किटानी जाहेर गर्दागर्दै पनि साथै मेडिकल रिपोर्ट नआउँदै ती तीनजना अभियुक्तलाई बिनाधरौटी साधारण तारेखमा छाडिएको छ । यो घटना नसेलाउँदै यही माघ ७ गते दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा अर्को महिला सामुहिक बलात्कारमा पर्न गइन् । त्यस बलात्कारको घटनालाई मिलापत्र गराउनका लागि करिब ३० लाख रुपैयाँको चलखेल बिचौलियाबाट भइरहेको गन्ध आइरहेको छ । अचम्मको कुरा के छ भने दुवै घटनामा त्यहाँका स्थानीय प्रहरीहरूले पीडकलाई दण्ड दिनुको सट्टा मेलमिलाप गराउन खोजिरहेका छन् ।

नेपाल प्रहरीका अनुसार गएको तीन वर्षमा महिला र बालबालिकामाथि भएको बलात्कारको तथ्यांक वर्षेनि बढ्दै गएको देखिन्छ । २०७०/७१ सालमा ९ सय ८१ बलात्कारका घटना भएका थिए भने ०७२/७३ मा आएर त्यो १ हजार ८९ पुगेको छ । त्यसैगरी २०७३/७४ मा आएर बलात्कारको घटना १ हजार १ सय ३१ पुगेको छ । यो त प्रहरीलाई रिपोर्ट गरेको आधारमा तयार पारिएको तथ्यांकमात्रै हो । कतिपय घटनाहरू प्रहरीले नै स्थानीय रूपमा मेलमिलाप गर्न खोज्छ । कतिपय घटनामा त पीडितले वा उसको परिवारले रिपोर्ट नै गर्दैनन् । कतिपय यस्ता घटनाहरूमा संघ–संस्थाद्वारा सम्बोधन गरिएको हुन्छ, जो आधिकारिक तथ्यांकमा आइपुग्दैन । यहाँनेर के बुझ्नु जरुरी छ भने जनताको सचेतना बढेको कारणले पनि यस्ता घटनाहरूको रिपोर्टिङ भएकोले यो बढ्दै गएको देखिन सक्छ । तर रिपोर्टका आधारमा दण्ड–सजाय नपाउँदा पनि यस्ता अपराधले प्रश्रय पाउँदै गएको हुनसक्छ । तसर्थ देशमा यस्तो दण्ड–सजायको अभावमा लैङ्गिक हिंसाले अरू अन्य अपराधलाई समेत प्रोत्साहन गर्दै लैजान्छ भनेर हेक्का राख्नुपर्छ ।

सरकारी संयन्त्रहरूको कमजोरीको कारण आज नेपाल बिचौलियाहरूको चंगुलमा फँस्दै गइरहेको छ । अब त अभाव, अकर्मण्य, पीडा, चित्कारलाई व्यवस्थापन गर्नका लागि पनि बिचौलियाहरूको बिगबिगी बढ्न थालेको छ । सडकमा दुर्घटना हुन्छ, त्यहाँ बिचौलियाहरूले चलखेल गर्छन् । अस्पतालमा अकालमै मृत्यु हुन्छ, त्यहाँ बिचौलिया पुग्छन् । बलात्कार हुन्छ, त्यहाँ पनि बिचौलिया पुग्छन् । वैदेशिक रोजगारमा पठाउने संस्था पनि आफैं वैधानिक बिचौलिया बनेको जगजाहेरै छ ।

हाम्रो देश उत्तरमा एकातिर विश्वकै दोस्रो अर्थतन्त्र बनेको चीन र दक्षिणपूर्व तथा पश्चिममा आर्थिक रूपमा उदीयमान भारत रहेको छ । त्यसैले नेपाल चुनौती सँगसँगै सम्भावनाको देश पनि हो ।

यो देशलाई सन्तुलित रूपमा हाँक्न सकियो र विधिमा लैजान सकियो भने बलात्कारजस्ता जघन्य अपराध पनि कम हुँदै जान्छन् । र भए पनि दण्ड–सजायको माध्यमबाट कुनै बिचौलिया सक्रिय हुन पाउँदैनन् । कम्तीमा अहिले हामी सचेत हुनैपर्छ, ताकि हाम्रो देश आफैं बिचौलिया देशमा परिणत हुन नपाओस् ।

Leave a Reply

Your email address will not be published.