Posted on

तीजलाई फर्केर हेर्दा
हिसिला यमि
यसपालीको तीजको विशेषता यसमा रह्यो की यो चाडको लागी महिलाहरु, मिडियाहरु र मेलाहरु धेरै नै पहिलेदेखी परिचालित भएको देखियो । साथै, यसपाली धेरै विविधता पनि देखियो । विभिन्न प्रकारले तीज मनाउँदै आएको अवस्थामा यसपाली विभिन्न महिला बचत संस्था, उपभोक्ता संस्था, सहकारी संस्था सक्रिय भएको देखियो मानौं महिलाहरुको उपभोक्ता, आर्थिक, कारोवार क्षमता बढेको छ । शायद रेमिटे्न्सको पैसाले पनि महिलाहरुको क्रय क्षमता बढेको होला । अब त तीज मनाउनको लागी चन्दासम्म असुल्न थाले महिलाहरुले । मानौं, हिजोका पार्वतीहरु आज लक्ष्मीहरु बन्न खोजेका देखिन्छ ।
यसपालिको तीजको अर्को विशेषता यसमा देखियो की बाहुन—क्षेत्री महिलाहरु अझ रातो रंग, अझ श्रृंगारिएको, अझ संगठित भएको जस्तो देखियो । दर खानेमा पनि अझ बढी परिकारको, मनोरञ्जनमा पनि अझ बढी रंगिन हुन खोजेको देखियो । मानौं देश संघियता, धर्म निरपेक्षमा र गणतन्त्रमा जांदा अन्य जनजाती, क्षेत्रका चाडपर्वका वर्चस्व बढ्दै गएको देखेर बाहुन—क्षेत्री महिलाहरु आफ्नो पहिचान अझ देखाउन खोजेको देखियो । हुन पनि देश राजतन्त्र, हिन्दु र एकात्मक हुंदा तीज पर्वले जनजातीको पर्वलाई ओझेलमा पार्ने गरी छाएको थियो । अहिले जातीय क्षेत्रीय चेतनाले तीज पर्व जनजातीको लागी त्यती उत्साहित बनेको नहोला तर तीज भित्रको लिंगिय पक्षले गर्दाखेरी सबै जाती, क्षेत्र यहाँसम्म की अन्तराष्ट्रिय क्षेत्रका महिलाहरुको लागी यो सोध गर्ने, रमाउने विषय बनेको छ । पर्यटनलाई विविधिकरण गर्न गइरहेको अवस्थामा तीज आफै पर्यटनको विषय बन्न सक्छ । तीजको विशिष्ट दर खाने, विशिष्ट गहना, लुगा लगाउने, विशिष्ट मनोरञ्जन गर्ने आदि सबैले तीजलाई संस्कृति पर्यटनको रुपमा विकास गर्न मिल्छ ।
वास्तवमा तीजको रहलपहल, जनतामा छाएको प्रभाव, अझ विभिन्न समुदायका महिलाहरुमा बढ्दै गएको प्रभावले गर्दा अब यस पर्वमा व्यापारी देखी विकासवादीहरुसम्म, वामपंथीदेखी व्युटीसियनसम्म, पर्यावादीदेखी पर्यटकसम्म, राजनैतिक पार्टीदेखी रंग मञ्चकर्मीसम्म आकर्षित हुन थालेको देखिन्छ । काभ्रेका महिलाहरुले तीज मनाउने नाममा महङ्गीको शक्तीशाली विरोध ¥याली अत्यन्तै सिर्जनसिल ढंगले मनाएको देखियो । त्यस्तै यही मौका छोपेर व्यवसायी महिलाहरुले उद्ममी महिलाहरुलाई पुरस्कृत गरेको देखियो । समलिंगिय तथा तेश्रो लिंगिय समुदाय पनि तीज मनाउन तल्लिन भएको देखियो । पाँचथरमा त्यहाँका महिलाहरुले अर्थपुर्ण तरिकाले तीज मनाए । तिनीहरुले एक्टिन गा.वि.स. का जिल्ला प्रहरी, सि.डी.ओ र जिला अदालत कार्यालयमा घेराउ गरी मृतक तिलारुपा काफ्लेको हत्यारा उनकी लोग्ने धनकुमार काफ्ले र ससुरा टेक बहादुरलाई सजाय दिउन भनेर धर्ना दिएको छ । र साथै यो हत्या लुकाउने कर्मचारीहरुलाई दण्ड दिनुपर्छ भनेर नारावाजी गरेको छ ।

अझ एकल महिलाहरुको र एकल महिला परिवारको संख्या बृद्धि र रोजगारीको लागी महिला विदेश जाने बढेकोले तीजको औचित्य देश भित्र मात्र नभई विदेशमा समेत बढेको छ । तीजले जनतामा छाएको प्रभावले गर्दा यहाँका विभिन्न पार्टीका महिला मोर्चाहरु यसलाई प्रयोग गरेको देखिन्छ । दक्षिणपंथी, राजावादी पार्टीका महिलाहरुले यो तीजलाई बढी भन्दा बढी धार्मीकतामा लग्न खोजेको देखिन्छ । क्रान्तिकारी वामपंथी शक्तीले भने यसलाई बढी भन्दा बढी समाजवादतिर लक्षित गर्न खोजेको देखिन्छ, रुपान्तरण गर्न खोजेको देखिन्छ भने मध्यमपंथी ढुलमुल शक्तीले महिलाहरुलाई यथास्थितिवादी, हिन्दु धर्ममाथी सुधार ल्याउन खोजेको देखिन्छ । एन. जी. ओ. ÷आइ. एन. जी. ओ. मा संलग्न, तथाकथित स्वतन्त्र महिलावादीहरुले की त यसलाई सामन्ती पितृसत्तात्मक संस्कृती भनेर पुरै निषेध गर्न खोजेको देखिन्छ की त यसको पुरै भण्डाफोर गर्नेगरी मनाउन खोजेको देखिन्छ । एक थरी यस्ता पनि महिलाहरु छन जो सारमा सामन्ती दृष्टीकोण बोकेको अनि रुपमा विस्तारवाद र साम्राज्यवाद संस्कृती बोकेर तीज खिचडी प्रकारले मनाएको देखिन्छ ।

अन्तरविरोधले भरिपुर्ण सामन्ती समाजमा लोग्ने स्वास्नी विच, सौता सौता विच, आमा बुवा विच, बैनी दाजु विच, छोरा छोरी विच, सासु बुहारी विचको अन्तर विरोधको विषय आज पनि तीज गीतको रुपमा प्रचलित्। बन्दै गएको छ । विषेश गरेर ग्रामिण क्षेत्रमा । अहिले पुंजीवादको युगमा उत्पादन शक्ती र प्रजनन शक्तीको बीचको अन्तरविरोध, रोजगार र बेरोजगार, पहलकदमी र पहलविहिन, वैज्ञानिक र भावनात्मक, मानसिक काम र शारिरीक काम, सिद्धान्त र व्यवहार विचको अन्तरविरोध जो पुरुष र महिलामा देखा परेको छ त्यो तीजको गीत बन्दै गएको छ । विशेष गरी शहरी क्षेत्रमा । अन्तरविरोधले भरीपुर्ण महिलाको जीवनले तिनिहरुलाई तीज पर्वको बेला असाध्यै सिर्जनसिल, कलात्मक, अर्थले भरिपुर्ण गीतहरु लेख्न र नाच्न प्रोत्साहन गर्दछ । तीजका गीतहरु यती गतिसिल, समय सापेक्ष हुन्छन् की गएको सालको गीत आउने सालसम्म फरक भैसकेको हुन्छ । उदाहरणको लागी यसपाली सबैभन्दा चर्चीत तीजको गीत यस्तो रह्यो ः

सांसदको छोरो विहे गर्न आको पार्टी मिलेन भनेर गयो फर्केर । वकीलको एक्लो छोरो बे गर्न आको छोरी धेरै भो भनेर गयो वरिलै । यो गीतले पनि के देखाउँछ भने समाजको नाडी महिलाहरुले मज्जाले छामेको देखिन्छ । तीजको लोक प्रियताले गर्दाखेरी यसमा उपभोक्तावादी पुरुषहरुले यो पर्वमा विकृती ल्याउन खोजेको देखिन्छ । उच्श्रृंखल गीतहरु, रिमिक्स म्युजिकमा भद्दा नाचहरु र फजुल खर्च खर्चाउने प्रलोभनहरु सचेत रुपमा ल्याएको देखिन्छ । पार्वतीले आफ्नो बुवा —आमाले श्री सम्पतीको धनी विष्णु देवतालाई विभाह गराउन खोज्दा विद्रोह गरी जोगी शिवलाई विभाह गर्ने विद्रोही परिप्रक्ष्यबाट सुरु भएको तीज आज छाडा उपभोक्तावाद विकृतीमा लग्न कोसिस गरी राखेको छ ।
हालको संक्रमणको अवस्था त्यसमाथी बढ्दो महङ्गीको चाप, सरकारको कमजोर उपस्थिति यी सबैको मार महिलाहरुमाथी भैरहेको छ । विभिन्न बहानामा महिलामाथी हिंसा बढ्दै गएको छ । कसैलाई दाइजो नल्याएको झोंकमा घर निकाला, कसैलाई छोरा नपाएको झोंकमा सौता ल्याउने, कसैलाई बेरोजगार भएको नाममा दैनिक कुटपिट गर्ने, कसैलाई गरिब, दलित भएकै कारणले मल—मुत्र खुवाउने, कसैलाई बलात्कार गर्ने, बेच्ने काम भैराखेको छ । वास्तवमा महिला कमजोर हुनु भनेको समाज कमजोर हुनु हो, समाज कमजोर हुनु भनेको देश कमजोर हुनु हो । त्यस्तो अवस्थामा पनि तिन दिनकै लागी भए पनि महिलाहरु हिंसामुक्त हुन पाएका छन् । तिनीहरुको मन—मनमा लागेको पिडा छम्—छम् नाचेर विर्साउन पाएका छन् । बिरलै— बिरलै पाउने सुःख सुविधा वरिलै वरिलै भन्दै माइतीमा पाएका छन् । दुःखभित्र सुख खोजेको देखिन्छ । वास्तवम तीजमा महिलाहरु रमाएको देख्दा यो नेपालको आठ मार्चको पर्व जस्तो देखिन्छ । तर नेपाली महिलाहरुको आर्थीक, सामाजिक, दुर्दशा हेर्दा यो पर्व व्यंग्यात्मक नाच जस्तो पनि देखिन्छ । अहिलेको अन्यौलता, अनिश्चितता र असुरक्षाले त महिलाहरुलाई अझ धार्मिक बनाइ दिएको छ ।
जबसम्म महिला—पुरुष विचको अन्तरविरोध यो धर्तीमा विभिन्न सार र रुपमा रहन्छ तबसम्म तीजको औचित्य रहन्छ । यसको लिंगिय पक्ष र सामुहिकता पक्षले गर्दा तीजलाई एक थरीले अग्रगामी मार्गतिर लग्ने प्रयास गरि रहन्छ भने एक थरीले पश्चगामी मार्ग तिर धकेल्ने कोसिस गरिरहन्छ । तीज पर्वको पृष्ठभूमी जड र धार्मीक भएकोले गर्दा यसलाई अग्रगामी शक्तीहरुले सचेत रुपमा हस्तक्षेप गर्नुपर्छ र यसलाई परिवर्तनको वाहक बनाउनु पर्दछ । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर ।
२०६६/भाद्र/८

Leave a Reply

Your email address will not be published.