Posted on

'के छ हिसिलाजी, अनि बाबुरामजीलाई सञ्चै छ ?'

त्रिभुवन विश्वविद्यालयमा आर्किटेक्चर पढाउँदै गरेकी हिसिला यमी कोटेश्वरको घरसम्पत्ति बेचेर सशस्त्र युद्धमा होमिइन् । सानी छोरी मानुषीलाई आफन्तहरूकहाँ छाडिन् । अनि माओवादीले पश्चिम पहाडहरूबाट थालेको युद्धको नेतृत्वभित्रैको एक हिस्सा बन्न पुगिन् । त्योभन्दा पहिले उनको व्यक्तित्व सडकमा एक्टिभिज्म गर्ने प्राज्ञिक महिलाको रूपमा थियो । भारतमा पढ्ने क्रममा उनको भेट बाबुराम भट्टराईसँग भइसकेको थियो । पछि त्यो भेट सक्रिय सांगठनिक जीवन, प्रेम, अनि बिहेमा बदलियो । उनीहरू राजनीतिक सहयात्रामा हिँडे, हिँडिरहेकै छन् ।

हिसिला यमीले भर्खरै एउटा पुस्तक प्रकाशित गरेकी छन्, पेन्गुइन इन्डियामार्फत । त्यसको नाम ‘हिसिला : फ्रम रिभोल्युसनरी टु फस्ट लेडी’ हो । उनको संस्मरण भनिए पनि माओवादीको लडाइँलाई बुझ्ने, यसका नेताहरू, खासगरी प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्यलगायत नेताहरूबीचको सम्बन्ध र व्यक्तित्व टकरावले पैदा गरेको अप्ठेरोसप्ठेरो बुझाउने किताब हो यो ।

हिसिला खुलस्त पोखिएकी छिन् यो किताबमा । माओवादीको भूमिगत जीवनभित्रका अनेक पर्दाहरूबारे नखुलेका तथ्यहरू पनि यसमा राखिदिएकी छन् । अनि प्रचण्ड, बाबुराम भट्टराई, उनी स्वयम्‌को राजनीतिक भविष्य अब कस्तो होला भन्नेबारे खुलस्त बोलेकी छिन्, हिसिलाले ।

उनकाे आफ्नै राजनीतिक जीवन छ, तर प्रायः सबैले ‘के छ हिसिलाजी, बाबुरामीलाई सञ्चै छ ?’ भनी साेध्ने गरेको उनलाई चित्त नबुझ्दाे रहेछ । तिनैले बाबुरामलाई भेट्दा आफ्नाेबारे साेध्ने नगरेकाे, तर आफ्नाे पहिचानमा किन बाबुरामलाई अनिवार्य जाेड्नुपरेकाे भन्ने गुनासो उनकाे छ ।

प्रधान सम्पादक बसन्त बस्नेतले यसै प्रसंगमा साेधे, ‘तपाईं आफैँले किताबकाे कभरमै फस्ट लेडी भनी बाबुरामकै कारण आफूलाई चिनाउन खाेज्नुभएकाे छ नि ?’

उनले जवाफ दिइन्, ‘हाे, मैले त्यसैकाे विडम्बनालाई चित्रित गर्न खाेजेकाे हाे । कति महिलाहरूकाे राजनीतिक पहिचान यसैगरी थिचिएकाे छ । मलाई बाबुरामजीसँग सहकार्य गर्न पाउँदा गर्व छ । तर, मेराे आफ्नै चिनारी छ । खाेइ त्यसकाे सम्मान गर्न अरुले सिकेकाे ?’

हिसिलासँग पूरा वार्ता याे भिडियाे लिंकमा

https://shilapatra.com/detail/67082

Leave a Reply

Your email address will not be published. Required fields are marked *