Posted on

भूमिका

नेपाली जनयुद्धको विशेषताहरूमध्ये सवभन्दा महत्त्वपूर्ण विशेषता यो नेपाली धर्तीको नै उपज हुनु हो। यसको तीव्र विकास यसैको प्रतिबिम्ब हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को मौलिकता यसमा रह्यो कि यसले मार्क्सवाद- लेनिनवाद-माओवादको सार्वभौम सिद्धान्तलाई नेपालको विशिष्टतामा प्रयोग र विकास गर्न सफल भयो। ती विशेषताहरूमध्ये एउटा विशेषता हो यसले नेपालको वर्गीय आन्दोलनलाई नेपालमा विद्यमान लिङ्गीय, जातीय र क्षेत्रीय आन्दोलनसित समायोजन गर्न सफल भएको छ। यसको अर्को महत्त्वपूर्ण विशेषता हो : यसले नेपालका विभिन्न समुदायभित्र पर्ने अझ उत्पीडित, सबभन्दा घनीभूत भएको ठूलो समुदाय महिलाहरूलाई क्रान्तिको आधारभूत शक्ति मानेको छ। अतः नौलो जनवादी क्रान्तिका तीन जागरी हतियार क्रान्तिकारी पार्टी, जनसेना र जनसत्तामा सुरुदेखि नै तिनीहरूको अनिवार्य सहभागितालाई महत्त्व दिदै आएको छ । यसको अर्को विशेषता हो यसले उत्पीडित महिलाहरूलाई नेपालको कम्युनिस्ट आन्दोलनमा नौलो जनवादी क्रान्तिदेखि समाजवादी क्रान्ति हुँदै साम्यवादसम्म पुग्ने रणनैतिक शक्ति मानेको छ । अर्थात् महिलाहरूलाई क्रान्ति मात्र गर्न नभएर प्रतिक्रान्तिलाई पनि रोक्न सक्ने शक्तिको रूपमा लिएको छ । अतः यसले पार्टी, सेना र सत्तामा तिनीहरूको सहभागिताको साथसाथै नेतृत्व विकास गर्ने रणनीतिक पहल पनि लिंदै आएको छ । छोटकरीमा भन्दा यसले नेपालको वर्गीय आन्दोलनललाई लिंगीय आन्दोलनसँग समायोजन गर्न सफल भएको छ । आज ने.क.पा. (माओवादी) मा करिब दश प्रतिशत केन्द्रीय समितिका सदस्यहरू महिलाहरू छन् । जनसेनामा महिलाहरूको संलग्नता तीसदेखि चालीस प्रतिशत पुगेको छ । जनसत्तामा तिनीहरूको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ । कतिपय ठाउँमा प्रमुख, उपप्रखुमको पदमा निर्वाचित भएका छन् । यो सचेत प्रयासको श्रेय ने.क.पा. (माओवादी) ले दश वर्षको जनयुद्धको दौरानमा विकास गरेको मालेमा र प्रचण्डपथ विचारमा जान्छ, जसले नेपालका महिलाहरूको विशिष्ट स्थिति, अन्तरविरोध, सम्भावना र चुनौतीलाई वैज्ञानिक ढंगले पहिचान गरी त्यसलाई कम्युनिस्ट आन्दोलनसित जोड्न सफलता प्राप्त गरेको छ ।

वैचारिक पक्ष

जनयुद्धको दश वर्षको ठूलो उपलब्धि भनेको झीना-मसिना र अंशअशंमा सीमित लिंगीय माग र अधिकारमा सीमित महिलाहरूलाई राज्यसत्ताको वर्गीय र लिगीय स्वरूप पहिचान गर्न सफल हुनु हो । ‘राजनीतिक सत्ताबाहेक अरू सबै भ्रम हो’ र ‘राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ’ भन्ने जस्ता सत्ता र सशस्त्र संघर्षका आधारहरू कुराहरू सिकाएर तिनीहरूलाई संशोधनवाद, सुधारवाद र संसदवादको धारबाट बचाएर क्रान्तिकारी धारमा उभ्याउन सफल भएको छ। क्रमिक सुधारको सट्टा क्रान्तिकारी छलांग, क्रमभंगबाट हिंड्न सिकाएको छ । त्यतिमात्र नभए राज्यसत्ताको प्रश्नलाई केन्द्रविन्दु बनाएर समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरणको प्रश्नलाई गम्भीर रूपमा समाधान गर्न खोजेको छ । त्यसले महिलाहरूले खोजेको दुनियाँलाई बुभने मात्र नभएर बदल्ने आकांक्षालाई राम्ररी समेटेको छ । त्यतिमात्र नभएर ‘विद्रोह गर्नु न्यायोचित हो’ भन्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको स्पिरिटलाई पकडेर क्रान्तिको दौरानमा प्रतिक्रान्तिको विरुद्ध उभिने साहस महिलाहरूले पनि पक्रिनुपर्नेमा जोड दिएको छ । यसरी वर्ग संघर्ष, अन्तरसंघर्ष र आत्मसंघर्षमा महिलाहरूलाई समावेश गरेर तिनीहरूको चौतर्फी विकास गर्ने ढोका खोलिदिएको छ । व्यवहारबाट व्यवहारमा, विश्लेषणबाट विश्लेषणमा, अंशवाट अंशमा सीमित भएका महिलाहरूलाई ‘विचार र राजनीति सही वा गलत हुनुले नै सबै कुराको फैसला गर्दछ’ भन्ने मालेमावादी मान्यतालाई संस्थागत गरिदिएको छ । त्यतिमात्र नभएर यसले कसरी पार्टीको वैचारिक विकासले महिलामुक्तिको प्रश्नलाई पनि समृद्ध पार्दछ भन्ने विषयलाई खोतल्न प्रोत्साहन गरिदिएको छ । जनयुद्धको दश वर्षको अर्को उपलब्धि भनेको वर्गीय आन्दोलनमा महिलाहरूको मात्रात्मक र गुणात्मक सहभागिता र विकास हुनु हो ।

वास्तवमा जनयुद्धको आधारशिला नेकपा (एकता केन्द्र) (हाल ने.क.पा. (माओवादी)) को ऐतिहासिक एकता महाधिवेशन (जो मंसिर २०४८ मा सम्पन्न भएको थियो) मा निर्माण भएको थियो । त्यसले माओवादको विचारलाई मात्र औपचारिक रूपमा अपनाएन, अपितु दीर्घकालीन जनयुद्ध कार्यान्वयन गर्नको लागि क्रान्तिकारी पार्टी, जनसेना र जनसत्ताको निर्माणलाई गम्भीरतापूर्वक लियो । कोरा नारामा सीमित नौलो जनवादी क्रान्तिलाई मूर्तिकृत गर्ने उद्देश्यले फागुन २०५१ मा तेस्रो विस्तारित बैठक सम्पन्न भयो, जसमा नेपालमा जनयुद्ध सम्पन्न गर्नको लागि त्यसको फौजी रणनीति र कार्यनीति पास गरियो । यी दुवै ऐतिहासिक राजनीतिक निर्णयले शान्तिपूर्ण, सुधारवादी, संसदीय र लिंगीय आन्दोलनमा सीमित महिलामुक्ति आन्दोलनलाई आमूल परिवर्तन गर्ने माओवादी महिलामुक्ति आन्दोलनमा रूपान्तरित गरिदियो । फोस्रो लिंगीय आन्दोलनलाई धारिलो वर्गीय आन्दोलनसित समायोजन गरेर महिलामुक्ति आन्दोलनको नयाँ क्रान्तिकारी इतिहास खडा गरिदियो । क्रान्ति सम्पन्न गर्नुमा महिलाहरूको रणनीतिक महत्त्वलाई बोध गरेर नै तिनीहरूको अनिवार्य सहभागिता सुरुदेखि नै सैन्य निर्माणमा खोज्ने काम भयो । अतः प्रत्येक सैन्य फर्मेशनमा दुई महिला योद्धा हुनुपर्ने निर्णय तेर्सो विस्तारित बैठकले लियो । यस निर्णयले आम महिलाहरूलाई पूर्णकालीन कार्यकर्ता बनाउनको साथसाथै भौतिक रूपमा सशस्त्र बनाउने वातावरण बनाइदियो । फागुन २०५२ मा थालनी भएको नेपालको जनयुद्धले एकैसाथ एकैपटक शहरकेन्द्रित आन्दोलनलाई ग्रामीण दीर्घकालीन जनयुद्धमा रूपान्तरित गरिदियो । उच्च जातीय, पुरुष केन्द्रित, मध्यम वर्गमा सीमित कम्युनिस्ट आन्दोलनलाई जनजाति, महिला र आधारभूत वर्गमा घनिभूत हुने आन्दोलनमा रूपान्तरित गरिदियो । यस घटनाले युगौ युगदेखि गृहदासीको भूमिका निभाउँदै आएका चार भित्तामा कैद महिलाहरूलाई मुक्त बनाएर पूर्णकालीन पेसेवर क्रान्तिकारी कार्यकर्ता बनाउने वातावरण बनाइदियो ।

जनयुद्ध सुरु भएपछि सम्पन्न भएको दोस्रो राष्ट्रिय सम्मेलन, जो माघ- फागुन २०५७ मा सम्पन्न भएको थियो । यस मामलामा ऐतिहासिक छ कि यसले विगत ५ वर्षको जनयुद्धका अनुभवहरूलाई संश्लेषित गरी विकास गरेको विचारलाई ‘मालेमा र प्रचण्डपथ’ नामकरण गर्यो। त्यस सम्मेलनद्वारा पारित दस्तावेजमा जनयुद्धको दौरानमा महिलाहरूको उत्साहपूर्ण सहभागिता, तिनीहरूले देखाएको साहस र लगनशीलतालाई कदर मात्र नगरिकन कसरी क्रान्ति सम्पन्न शवको लागि महिलामुक्ति पनि सम्पन्न गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ। सोही वर्ष सम्पन्न भएको क्रान्तिकारी संयुक्त मोर्चाको पहिलो राष्टिय सम्मेलन जसले संयुक्त कान्तिकारी जनपरिषद् निर्माण गर्यो, त्यस सम्मेलनले पारित सं.का.ज.प को न्यूनतम नीति र कार्यक्रमले नयाँ सत्तामा महिला र परिवारका हक हित समावेश गरेर नयाँ मूल्य मान्यतालाई स्थापित गरिदिएको छ । त्यसपछिको जेठ २०६० मा केन्द्रीय समितिद्वारा पारित ‘२१ औं शताब्दीमा जनवाद’ को विकाससम्बन्धी प्रस्तावले कसरी क्रान्तिका तीन हतियार पार्टी, जनसेना र जनसत्तालाई जनवादीकरण गर्दै विलोपीकरण गर्ने र कसरी तिनीहरूमा जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने भन्ने विषय उठाएको छ । अतः यो प्रक्रियामा श्रमिक महिलाहरूको ठूलो भूमिका हुन सक्छ । महिलाहरूको उत्पादन काम सँगसँगै प्रजनन कामले गर्दा उनीहरूमा सामाजिक भावना बढी हुँदा तिनीहरू जनता र क्रान्तिका तीन हतियारहरू पार्टी, जनसेना, जनसत्ताबीचका समन्वय गर्ने सामाजिक शक्तिको रूपमा विकास गर्न सकिन्छ । अतः यो दस्तावेजले महिलाहरूको क्रान्ति मात्र नभएर प्रतिक्रान्ति रोक्नमा समेत रणनैतिक भूमिका उजागर गरिदिएको छ ।

हालै असोज २०६२ मा केन्द्रीय समितिद्वारा पारित पार्टी शुद्धीकरण र पार्टी एकताको दस्तावेज यस मामलामा ऐतिहासिक छ कि यसले दुई लाइन संघर्ष संचालन गर्ने विधि र साथै क्रान्तिका तीनैवटा हतियारहरूमा, मूलतः पार्टीमा, कसरी नेतृत्व पंक्तिको शृंखला वैज्ञानिक ढंगले तयार पार्दै जानुपर्दछ भन्ने विषय उठाएको छ । यसले महिलाहरूको वैचारिक तीक्ष्णता बढाउने दुई लाइन संघर्षको विधि र महिला नेतृत्व पंक्ति तयार पार्ने ढोका खोलिदिएको छ । अतः जनयुद्धको दश वर्षको अनुभवले महिलाहरूको वैचारिक क्षमताको विकास मात्र गरेको छैन, सिङ्गो पार्टीको वैचारिक विकास सँगसँगै महिलामुक्तिको प्रश्नलाई अझ समृद्ध गर्ने मौका दिएको छ ।

राजनीतिक, आर्थिक र सामाजिक पक्ष

महिलाहरूको राजनीतिक शोषणको जग नै यहाँको राजतन्त्रात्मक व्यवस्था हो, जसले सामन्ती पुरुषप्रधान अर्थतन्त्र र सामाजिक संरचनालाई टेवा पुऱ्याइराखेको छ । राज्यसत्ता हस्तान्तरण वा राजगद्दी हस्तान्तरण नै छोराको माध्यमबाट हुने प्रथाले गर्दा र साथै राजालाई विष्णु अवतारको जीवित प्रतीक मान्ने संस्कृतिले गर्दा प्रत्येक घरमा पुरुष राजनीतिक रूपमा राजा र सांस्कृतिक रूपमा अवतारसरह शक्तिशाली बन्ने अवधारणालाई संस्थागत गराइदिएको छ । अतः नेकपा (माओवादी) ले अघि सारेका तत्कालीन राजनीतिक नाराहरू, बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनले नेपालमा विद्यमान सामन्ती राजतन्त्रलाई नष्ट गरी पुँजीवादी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र नयाँ जनवादी गणतन्त्रको आधार तयार पार्ने महत्त्वपर्ण भूमिका खेलेको छ । राजतन्त्र, संसदीय शक्ति र माओवादी शक्तिबीचको त्रिकोणीय संघर्षको स्थितिलाई नेकपा (माओवादी) ले रणनीतिमा दृढ हुँदै र कार्यनीतिमा असाध्यै लचिलो हुँदै संसदीय शक्ति र माओवादी शक्तिलाई एक कित्तामा उभ्याई सामन्ती राजतन्त्रलाई जनता र अन्तर्राष्ट्रिय शक्तिबाट एक्लाउन सफल भएको छ । यसको मूर्त अभिव्यक्ति नेपालमा सात दल र माओवादी पार्टीबीच भएको बाह्र-बुदे समझदारीपत्र हो, जसमा पूर्ण लोकतन्त्र, अग्रगामी सामाजिक परिवर्तन, देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर अग्रगामी राजनीतिक निकास संविधानसभाद्वारा गराउने प्रतिबद्धता जाहेर गरिएको छ । यसले अन्ततः सामन्ती बन्धनमा कैद गरिएका महिलाहरूलाई राष्ट्रिय राजनीतिमा ल्याउने, नयाँ बन्ने लोकतान्त्रिक, गणतन्त्रात्मक सत्तामा क्रियाशील हुने ढोका खोलिदिएको छ । यसले अन्ततः लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभन्दा अझ पूर्ण लोकतन्त्र उपलब्ध हुने नौलो जनवाद व्यवस्था निर्माण गर्ने जग खडा गरिदिनेछ ।

नेपाली महिलाहरूको आर्थिक उत्पीडन विद्यमान सामन्ती तथा अर्धसामन्ती प्रणालीको उपज हो । महिलाहरूको मुख्य अन्तरविरोध नै यसमा छ कि उनीहरू घर र खेत गरी दुवै ठाउँमा कार्यरत हुँदा पनि उनीहरूले पुरुषसरह ती सम्पत्तिहरू निशर्त उपयोग गर्न पाउँदैनन् । आफूहरूले गर्दै आएको श्रमको सम्मान पाउँदैनन् । यसको मूर्त अभिव्यक्ति ‘पैतृक सम्पत्तिमाथि महिलाहरूको निशर्त समान अधिकार’ नपाउनु हो । साथै अधिकांश महिलाहरू कृषक पनि हुन् । अतः नौलो जनवादी क्रान्तिअन्तर्गत कार्यान्वयन हुने ‘जसको जोत उसको पोत’ र ‘पैतृक सम्पत्तिमाथि महिलाहरूको निशर्त समान अधिकार’ को नाराले महिलाभित्र हुने आर्थिक शोषणको आधार भत्काइदिनेछ । आज जनयुद्धको आधारक्षेत्रमा यो नीति लागू भएको छ भने, श्वेत इलाकामा यो प्रचारात्मक संघर्षको नाराको रूपमा लगिरहेको छ र जनयुद्धको विस्तार इलाकामा यो नारा कार्यान्वयन गर्नतिर अग्रसर भइरहेको छ ।

त्यस्तै महिलाहरूमा हुने सामाजिक र साँस्कृतिक शोषणको जग यहाँको सामन्ती राज्यसत्ताबाट संरक्षित हिन्दु धर्म हो । अतः धर्म निरपेक्ष राज्य, जुन नौलो जनवादी क्रान्तिपछि पूर्णतः कार्यान्वयन हुनेछ, त्यसले महिलाहरूमाथि हुने धार्मिक, सामाजिक र साँस्कृतिक शोषणको आधार भत्काइदिनेछ । जनयुद्धको बलबाट जन्मेका नयाँ सत्ताका कतिपय गाउँहरू आज महिला शोषणमुक्त मोडेल गाउँको रूपमा स्थापित भएका छन् । ती गाउँहरूमा महिलाहरूलाई सामन्ती संस्कृतिबाट मुक्त गर्दै अग्रगामी जनवादी र वैज्ञानिक संस्कृतितिर अग्रसर गराउने काम भइरहेको छ ।

पार्टी, जनसेना र जनसत्तामा महिलाहरूको स्थिति

दश वर्षको जनयुद्धको अन्तरालमा पार्टी, जनसेना र जनसत्तामा महिलाहरूको कस्तो स्थिति रह्यो, तिनीहरूको उपलब्धि, सम्भावना र चुनौती के के रह्यो त्यो संश्लेषण गर्न जरुरी छ ।

पार्टी 

जनयुद्ध अधि कम्युनिस्ट पाटीमा महिलाहरूको उपस्थिति एकदमै न्यून हुन्थ्यो । श्रीमान् पूर्णकालीन हुन्थ्यो भने अधिकांश श्रीमतीहरू पार्टी समर्थक वा महिला मोर्चामा अंशकालीन कार्यकर्ता भएर प्रस्तुत हुन्थे । विगतमा प्रायः सबै कम्युनिस्ट पार्टीहरूमा आदर्श नारी ती हुने गर्दथे जसले आफ्‌नो पूर्णकालीन श्रीमान्हरूलाई पाल्नमा मद्दत पुर्याउँदथे अर्थात् जसले घर परिवारको व्यवस्थापन, आर्थिक अभिभारा मिलाउने काम गर्दथे । कथमकदाचित महिलाहरू कम्युनिस्ट पार्टीको सदस्य भई नै हाले पनि उनीहरू प्रत्यक्ष देखा पर्दैनथे । अर्थात् जनयुद्ध अगाडि पूर्णकालीन महिला कार्यकर्ताहरू औलामा गन्नेसरह मात्र हुन्थ्यो । यस्तो स्थिति आज पनि अन्य कम्युनिस्ट पार्टीहरूमा यथावत् छ । कतिपय महिलाहरू विवाहित नहुँदासम्म कम्युनिस्ट आन्दोलनमा लागेका देखिन्छन् तर विवाहित भएपछि निष्क्रिय भएर पार्टी नै त्यागेका देखिन्छन् । नेतृ कार्यकर्तामा झरेका देखिन्छन्, कार्यकर्ता समर्थकमा र समर्थक जनतामा झरेका देखिन्छन् । यदि यदाकदा विवाहपश्चात् पनि दुवै लोग्ने स्वास्नी कम्युनिस्ट आन्दोलनमा रहिरहे पनि त्यहाँ लोग्ने माथिल्लो पद र स्वास्नी तल्लो तहमा देखिन्छन् । जनयुद्धले यी सबै चीजहरूलाई चिर्दै गइरहेको छ । जनवादी क्रान्ति सम्पन्न गर्नको लागि तिनैवटा जादुगरी हतियारमा महिलाहरूको अनिवार्य उपस्थिति जनाउने नीतिले गर्दा आम महिलाहरू पूर्णकालीन राजनीतिक कार्यकर्ता बन्ने आधार बनेको छ । यहाँ बुझ्‌नुपर्ने के छ भने क्रान्तिकारी कम्युनिस्ट कार्यकर्तामा चाहिने अधिकांश गुणहरू आधारभूत वर्गबाट आएका महिलाहरूमा स्वतः कच्चा पदाथको रूपमा रहिरहेको हुन्छ । पार्टीमा चाहिने गोपनीयता, अनुशासन, सहनशीलता, सतर्कता, सरलता, सहजता, धैर्यता, दृढता, लगनशीलता, त्यागको भावना, जिम्मेवारीबोध तिनीहरूले असाध्यै जटिल परिस्थितिमा काम गर्दागर्दै हासिल गरिसकेका हुन्छन् । यसले गर्दा तिनीहरूले वैचारिक ज्ञान हासिल गर्ने समय स्थान समग्रताको वातावरण पाउँदैनन् । जनयुद्धले त्यो वातावरण सृजना गरिदिएको छ । अतः अब महिलाहरू नियतमा मात्र इमान्तदार भएर पुग्दैन तिनीहरू वैज्ञानिक पनि हुनुपर्दछ ।

हिजो महिला मोर्चामा खुला रूपमा अंशकालीन भएर काम गर्दै आएका महिलाहरू आज भूमिगत भई पूर्णकालीन कार्यकता बन्न गइरहेका छन् । यो स्थिति विशेष गरेर २०५७ सालमा शाही सेना परिचालन भएपछि खुला मोर्चाहरूलाई अवैध बनाइँदा सृजित भएको हो । तसर्थ हिजो महिला मोर्चाको महत्त्व मात्र बुझ्‌ने कतिपय महिलाहरू आज जनयुद्ध घनिभूत भइसकेपछि पार्टीको रणनैतिक महत्त्वलाई बुझ्न थालेका छन् । महिलाहरूको पार्टीमा सहभागिता भएको उच्चतम अभिव्यक्ति दोस्रो राष्ट्रिय सम्मेलनमा हुन गयो । पाँच वर्ष जनयुद्धको विश्लेषण गर्दा त्यसबेला अध्यक्ष क. प्रचण्डद्वारा प्रस्तुत र सम्मेलनद्वारा पारित दस्तावेजमा यसरी गरिएको छ :

“नेपालमा जनयद्ध ऐतिहासिक पहलपश्चात् आश्चर्यजनक तीव्रताका साथ अगाडि बढेको गौरवशाली उपलब्धि क्रान्तिकारी महिला आन्दोलनको विकास हो । ‘वर्गीय र लिंगीय दोहोरो शोषण-अत्याचारभा पिसिदै आएको जनसंख्याको आधा हिस्सामा जनयुद्धले पारेको प्रभाव र विकसित भएको विद्रोहको अभूतपूर्व लहरले पुरानो सत्तालाई र त्यसका संचालकहरूलाई आश्चर्य र आतंकको भूमरीमा पारेको छ। देशव्यापी रूपमा र मुख्यतः संघर्षका मुख्य इलाकाहरूमा ग्रामीण किसान महिलाहरूको संगठन विस्तारको तीव्रता दुश्मनका विरुद्ध प्रदर्शन गरेको त्याग, तपस्या, वीरता र बलिदानका उच्च कीर्तिमानहरूको बढ्दो शृंखलाले समग्र जनयुद्ध र क्रान्तिको विजयलाई सुनिश्चित गरिरहेको छ। पुरुषहरूको तुलनामा दुःख, कष्ट र बलात्कारजस्ता पाशविक यातनासहित दुश्मनका सबै प्रकारका दमन, अत्याचारको प्रतिरोधमा, नेपाली महिलाहरूले प्रदर्शन गरेको उच्च प्रतिरोध क्षमताले महिला वर्गमा अन्तरनिहित विद्रोहको अदभूत शक्तिलाई स्पष्ट गर्दछ । इतिहासका कुनै पनि महान् क्रान्तिको सफलताको मापदण्ड त्यसमा महिला सहभागिता हुने गर्दछ भन्ने मार्क्सवादी विज्ञानलाई अझ गहिरोसँग आत्मसात् गर्दै विद्रोहको यो प्रक्रियालाई सर्वहारावर्गको चेतनामा उठाउन सहयोग गर्नु पार्टीको जनदिशाको अर्को महत्त्वपूर्ण पक्ष हो। महिलावर्गको क्रान्तिमा सहभागिताद्वारा मात्र परिवार, यौन, विवाह, व्यक्तिगत सम्पत्तिलगायत पितृसत्तावादी सामन्ती मूल्य मान्यतालाई जगैदेखि भत्काएर समाजमा नयाँ जनवादी र समाजवादी मूल्य मान्यता स्थापना गर्न सकिने ऐतिहासिक यथार्थलाई पकडेर अगाडि बढ्नु यससम्बन्धी पार्टीको आधारभूत नीति रहनेछ ।” (महान् अग्रगामी छलांगः इतिहासको अपरिहार्य आवश्यकताबाट)

यस स्थितिको अभिव्यक्ति त्यतिबेला निर्वाचित गरेको केन्द्रीय समितिमा महिलाहरूको संलग्नताले जनाउँछ । साथै महिलाहरूलाई नेतृत्व पंक्तिमा विकास गराउने उद्देश्यले बनेको महिला विभागले पनि जनाउँछ । यहाँसम्म आइपुग्दा आज महिलाहरू केन्द्रीय, क्षेत्रीय, जिल्ला, एरिया र सेलसम्मका सदस्य भई पार्टीमा कार्यरत छन् । कतिपय ठाउँमा क्षेत्रीय, जिल्ला, एरिया र सेलका इन्चार्जसम्म भएर काम गर्दै आएका छन् । जनमुक्ति सेनामा तिनीहरू सेक्सन, प्लाटुन, बटालियन र ब्रिगेडका राजनीतिक कमिसार भई राजनीतिक नेतृत्व दिने क्षमता हासिल गर्न सक्ने भएका छन् ।

जनयुद्धको उभारबाट आएका महिलाहरूलाई बेलैमा पार्टीकृत गर्नु एकदस जरुरी हुन्छ, किनभने त्यसले मात्र र त्यसले तिनीहरूलाई क्रान्तिमा फलामे किल्ला बनाउन सक्दछ । यो विशेष गरी शहरी क्षेत्रमा कार्यरत महिलाहरूमा बढी लागू हुनु जरुरी छ । जहाँ एन्. जी. ओ., आई.एन्.जी.ओ. र लिंगीय चेतनाको बढी प्रभाव हुन् । फेरि क्रान्तिका तिन साधनहरूमध्ये पार्टीको नेतृत्वदायी भूमिका हुने भएकाले महिलाहरूलाई पार्टीकरण गर्नु अति जरुरी हुन्छ । नीति निर्माण गर्ने पार्टीका उच्च तहमा पुगेका महिलाहरूमा राजनीतिक चेतना त सापेक्षित रूपमा बढेको देखिन्छ, तर अझ पनि तिनीहरूमा राजनीतिक छलफलमा आउन हिचकिचाहट देखिन्छ । जति वर्ग संघर्षमा तिनीहरू रमाएका देखिन्छन् । त्यसको तुलनामा तिनीहरू अन्तरसंघर्षमा त्यति रमाएको देखिदैनन् । अन्तरसंघर्षमा देखाउनुपर्ने राजनीति तीक्ष्णता प्राप्त गर्नुभन्दा अमूक क्रान्तिको कुरा मात्र गरेर त्यसलाई सरलताभा लिन खोजेको देखिन्छ । यो वास्तवमा उनीहरूको सैद्धान्तिक ज्ञानको कमीको अभिव्यक्ति हो। महिला विभागले मई २००३ मा गरेको महिलासम्बन्धी सर्वेक्षणमा पार्टीभित्र महिलाले के कस्तो मुख्य समस्या भोगेका छन् भन्ने प्रश्नमा अधिकांशले (६४.११% ले) “सैद्धान्तिक राजनीतिक ज्ञान उठाउनु गर्ने समस्या” उल्लेख गर्नुले तिनीहरू आफ्‌नो समस्याप्रति सचेत भएको देखाउँछ । अतः पार्टीले यस समस्या हल गर्न विशेष अभियान अभिवृद्धि जरुरी छ। जनयुद्धको दौरानमा महिलाहरूले देखाएको सैद्धान्तिक ज्ञानको भोक मेटाउन पार्टीले विशेष कदम उठाउन जरुरी छ । पार्टीले पनि के बुझ्‌नुपर्दछ भने पार्टीलाई जनतामा स्थापित गर्न, निरन्तर शुद्धीकरण गर्दै सर्वहाराकरण गर्नमा उत्पीडित महिलाहरूको ठूलो भूमिका हुन्छ । किनभने तिनीहरूले गुमाउने केही हुँदैन : मात्र आर्थिक शोषण र पैतृक शोषणका जंजीरहरू । अतः तिनीहरूमा पुरुषहरूभन्दा बढी सर्वहारावादी स्पिरिट हुन्छ । तसर्थ पार्टीमा महिलाहरूलाई स्थापित गर्नमा विशेष जोड दिनुपर्दछ ।

जनसेना

नेपाली जनयुद्धको विशेषता यसमा रहेको छ कि यसले सन् १९४९ देखिको कम्युनिस्ट आन्दोलनलाई पहिलोचोटि देशभरि दीर्घकालीन जनयुद्धमा रूपान्तरण गर्न मात्र सफल भएन अपितु सुरुदेखि नै सशस्त्र दस्ता बनाउँदा त्यहाँ अनिवार्य महिला योद्धाको पनि सहभागिता खोज्यो । आज दश वर्षपछि जनमुक्ति सेनामा देशभरि कमसेकम तीस प्रतिशत महिलाहरूको सहभागिता भएको छ र यो कुनै कुनै ठाउँमा त चालिससम्म पुगेको देखिन्छ । उनीहरू सेक्सन, प्लाटुन, कम्पनीदेखि बटालिएन कमान्डरसम्म हुन सफल भएका छन् । बलिदानको इतिहास पनि पुरुषभन्दा कम छैन । कतिपय महिलाहरू सहिद भइसकेका छन्, घाइते भइसकेका छन् र अपांग भइसकेका छन् । अझ अनुशासन र गोपनीयता, दृढता, लगनशीलता र धैर्यतामा तिनीहरू कतिपय पुरुषभन्दा अगाडि देखिन्छन् । कतिपय महिलाहरू हिरासतमा बलात्कृत भएका छन् । कठोर यातना भोगेका छन् तर पनि क्रान्तिप्रति दृढ छन् । सशस्त्र महिलाहरूको गतिविधिले त सामन्ती पितृसत्तालाई यति नराम्रोसित झापड दिएको छ कि कथित हिन्दु शाही सेनालाई समेत आफ्‌नै सिद्धान्त विपरीत महिला सेना निर्माण गर्न बाध्यता तुल्याइदिएको छ । नेपाली जनमुक्ति सेनाको अर्को विशेषता भनेको महिला योद्धालाई सुरुदेखि नै महत्त्वपूर्ण फौजी कारबाहीमा भाग लिन पठाउने र एसल्ट ग्रुपमा समावेश गर्नु हो । त्यतिमात्र नभएर महिलाहरूको हौसला र क्षमता वृद्धि गर्नको लागि आवश्यकताअनुसार अलग्गै महिला सेक्सनदेखि महिला कम्पनीसम्म बनाएर कतिपय महिलाविरोधी अपराधीहरूलाई कारबाही गर्न पठाउने पनि गरिएको छ । शक्तिविहीन, प्राधिकारविहीन र सत्ताविहीन महिलाहरू आज सैन्य दस्तामा भर्ती भई नेपाली इतिहासमा पहिलोपटक शक्तिशाली भएका छन् । पुरानो सत्तामा आमनेसामने प्रतिद्वन्द्वी भएर उभिएका छन् । पहिलो पटक उनीहरूले आफ्‌नो पहिचान, मान र सम्मान पाएका छन् । पहिलो पटक सचेत रूपमा मर्न पाएका छन्, मरेर बाँच्न पाएका छन् । सशस्त्र योद्धा भएर पहिलो पटक उनीहरूमा आफ्‌नै शरीरबारेमा हुने हीनताबोध र मानसिक रूपमा ल्याउने आत्मविश्वासमा कमी क्रमशः हट्दै गएको पाइन्छ । जनमुक्ति सेनाको सामूहिक संरचनामा रमाएको देखिन्छ । जनमुक्ति सेनाको बढ्दै गएको विभिन्न संरचनामा भाग लिई विभिन्न क्षेत्रमा दक्षता हासिल गर्न पाएका छन् । पहिलो पटक जिम्मेवारीबोध, लक्ष्यप्रति संक्रेन्द्रित, एकीकृत-केन्द्रीकृत भई पेशेवर लडाकु हुन पाएका छन् । यसले उनीहरूमा कुण्ठित कतिपय सीपहरू प्रस्फुटित हुन पाएका छन् । यसको प्रत्यक्ष अभिव्यक्ति उनीहरूले साक्षरता अभियानमा देखाएको उत्सुकताबाट जनाउँछ । आज उनीहरू साक्षर मात्र नभएर कविता, कथा, संस्मरण, लेखहरूसम्म लेख्ने भएका छन् । भान्छादेखि पँधेरो र घरदेखि माइतका भूगोलमा सीमित भएका ती महिलाहरू आज देशका कुनाकाप्चाका भूगोलहरूमा खेल्न थालेका छन् । सामन्ती संस्कारले महिला र पुरुषबीचमा खडा गरेको कृत्रिम अवरोधहरूलाई यसले च्यातचुत पारिदिएको छ र त्यसको ठाउँमा समानताको भावनाको साथसाथै स्वस्थ प्रतिस्पर्धाको भावना बढाइदिएको छ । अझ जनयुद्धको विकाससँगै रणनैतिक रक्षा र रणनीतिक सन्तुलनमा हुँदै प्रत्याक्रमणको अवस्थामा पुग्दासम्म महिलाहरू गुरिल्ला युद्धपाट चलायमान युद्ध हुँदै मोर्चाबद्ध युद्धमा समेत पोख्त हुँदै गइरहेको देखिन्छ । साधे अझ उच्च तहको फौजी कारबाहीमा चाहिने सामूहिकता र एकीकृत युद्धमा उनीहरू झन् रमाएका देखिन्छन् ।

नेपाली जनयुद्धको अर्को विशेषता भनेको यो दीर्घकालीन जनयुद्ध भए तापनि यसमा पार्टीले शहरी सशस्त्र आन्दोलनलाई सुरुदेखि नै महत्त्व दिदै आएको छ । अतः शहरकेन्द्रित सशस्त्र संघर्षमा महिलाहरूलाई विभिन्न रूप, रङ र भेषमा पठाएर त्यहाँका आकस्मिक कमान्डो कारवाही एम्बुसमा महिलाहरूलाई महत्त्वपूर्ण भूमिका दिदै आएको छ । यसको पुष्टि अर्बन स्पेसियल टास्क फोर्समा तिनीहरूको उल्लेखनीय उपस्थितिले जनाउँछ । हालै माघ १९ पछिको शहर केन्द्रित आन्दोलनमा शाही सेनाले आफ्ना सेनाहरूलाई सम्भावित माओवादी महिलाहरूबाट सतर्क हुनु भन्ने पटकपटक उर्दी जारी गर्नुले पनि यसको पुष्टि गर्दछ । वस्तुतः जनसेनामा सशस्त्र महिलाहरूले एकातिर प्रतिक्रियावादी वर्गको उपरिसंरचना राज्यसत्तालाई चुनौती दिदै छन् भने अर्कोतिर तिनीहरूले प्रतिक्रियावादी वर्गको आधारभूत पारिवारिक संरचनामाथि धावा बोल्दै छन् । आज सशस्त्र महिलाहरू पुरानो सत्ता ध्वंस गर्ने साधन भएका छन् भने नयाँ सत्ताको निर्माण गर्ने साधन पनि बनेका छन् । जनमुक्ति सेना लडाकु सेनामात्र नभएर उत्पादन संगठन गर्ने सेना पनि भएकोले गर्दा यसको जनतासित प्रत्यक्ष सम्बन्ध भइरहनुपर्दछ । यसै कार्यमा महिला जनमुक्ति सेनाको बढी सामाजिक, सामूहिक, सरलता र सहजताको क्षमता भएकोले गर्दा तिनीहरूको भूमिका निर्णायक हुन्छ । अतः तिनीहरूलाई जनमुक्ति सेनामा बढीभन्दा बढी स्थापित गर्नुपर्दछ ।

सैन्य क्षेत्रमा महिलाहरूको समस्या भनेको निरन्तरताको समस्या हो । सर्वप्रथम बच्चा ढिलो जन्माउने व्यवस्था मिलिरहेको छैन । बच्चा जन्मिहाले पनि फेरि युद्ध मैदानमा फर्केर आफ्‌नो काममा निरन्तर लाग्ने व्यवस्था मिलिरहेको छैन । बरु लडाइँमा घाइते भएका पुरुषहरू फेरि युद्धमोर्चामा नेतृत्व सम्हाल्न गएको उदाहरण देखिन्छ तर त्यस्तो सुविधा महिलाहरूले पाएको देखिदैन । यहाँ उल्लेखनीय के छ भने महिला विभागले जनसेनामा महिलाहरूको मुख्य समस्या सोध्दा अधिकांशले (२५.७८ प्रतिशत ले) “महिलालाई कमजोर ठान्ने आम धारणा” भन्नुले पनि यस्तो अवधारणालाई बल पुर्याएको हुन सक्दछ । वास्तवमा सोही विभागले सोधेको स्वास्थ्यसम्बन्धी प्रश्नमा अधिकांश विवाहित र अविवाहित महिलाले महिनावारी समस्या देखाउनले पनि यस्तो अवधारणा ल्याएको हुन सक्दछ। तर यथार्थ के हो भने महिलाहरू प्रप्रुषहरूभन्दा जैविक दष्टिकोणले बढी शक्तिशाली हुन्छन् तर कुपोषण र स्वास्थ्यसम्बन्धी हेलचक्र्याइँ र सानै उमेरमा बच्चा जन्माइराख्नाले उनीहरूको शरीर कमजोर भएको हुन्छ । अतः पार्टीले जनसेनाभित्र महिलाहरूको स्वास्थ्यमा विशेष ध्यान केन्द्रित गरिराख्नुपर्दछ ।

जनसत्ता

जनयुद्ध अगाडि संयुक्त मोर्चा संघर्षको साधन थियो भने आज नेपालको अधिकांश भूभागमा त्यो जनसत्ताको साधन भएको छ । केन्द्रीय सत्ता कब्जा नगरेसम्मका अवस्थामा यसको मुख्य काम जनसेनालाई सहयोग दिने हो । अतः जनसत्ता अहिलेको अवस्थामा निर्माण गर्ने साधन मात्र नभएर मूलतः ध्वंस गर्ने साधन हो। तसर्थ यसको अर्थ बहुआयामिक भएको छ र महिलाहरूको यसमा संलग्नताले गर्दा उनीहरूको चौतर्फी विकास भएको छ । आज उनीहरू उद्योग, सहकारी पसल, भौतिक निर्माण, कृषि फार्म, स्वास्थ्य, शैक्षिक क्षेत्र, साँस्कृतिक क्षेत्र, सेनादेखि लिएर मिलिसिया क्षेत्रसम्म कार्यरत छन् । महिला मोर्चा आज संघर्ष र सत्ताको साधन हुन पुगेको छ । महिला मोर्चा सबै क्षमतालाई केन्द्रीकृत गर्ने साधन पनि बन्न पुगेको छ । जसले गर्दा त्यो सेनामा, उद्योगमा, कृषिमा, शिक्षामा, साँस्कृतिक क्षेत्रमा पठाउने जनशक्ति उत्पादन केन्द्र बन्न पुगेको छ । मोर्चाहरूमध्येमा सबभन्दा धनी मोर्चा महिला मोर्चा भएको छ । आज उनीहरूको पैसाको लगानी उद्योग, सहकारी पसल आदिमा लगाइएको पाइन्छ । त्यस्तै शिक्षा विभाग गठन हुनु पूर्व नै महिलाहरूले स्थानीय रूपमा साक्षरता कार्यक्रम चलाउँदै आएको कुरालाई पनि हामीले बिर्सिनु हुँदैन । पार्टीभित्र सर्वहाराकरण गर्ने, सुदृढीकरण गर्ने अभियान लागु हुनु अघि नै महिलाहरूले आफ्‌ना गरगहनाहरू फुकालेर पार्टीलाई बुझाएको कुरा पनि उल्लेखनीय छ । कम्युन र अन्य सहकारी संस्था खोल्नु अघि नै महिलाहरूले सामूहिक पर्मदेखि लिएर दाउरा, घाँस काट्ने सामूहिक अभियान थालनी गरेको पनि स्मरणीय छ । निर्माण क्षेत्रमा कतिपय गोरेटो-घोरेटो, चौतारीहरू महिला सहिदको नाउँबाट बनाइएका छन् । साँस्कृतिक क्षेत्रमा महिला मोर्चाले कपाल काट्ने, छिटो छरितो हुने लुगा लगाउने जस्ता नयाँ संस्कृति बसालेका छन् । पुराना सामन्ती संस्कृति जो फजुल खर्च, अन्धविश्वासको आधारमा हुने गर्दथ्यो त्यसको ठाउँमा नयाँ संस्कृति समाजमा स्थापित हुँदै गएको छ । कानुनी क्षेत्रमा पैतृक सम्पत्तिमाथि समान अधिकार आधार क्षेत्रमा लागू गरेका छन् । जनसत्ताअन्तर्गतको नयाँ कानुनले महिला-पुरुषबीचको सामन्ती कृतिम अवरोधहरूलाई च्यातचुत पारेको छ । यसले वैवाहिक क्षेत्रमा ठूलो क्रमभंग ल्याइदिएको छ । विभिन्न जाति, क्षेत्र, धर्मबीचमा अन्तरजातीय प्रेम विवाह गर्ने आधार तयार पारिदिएको छ । विधवाहरूले पुनः विवाह गर्न पाएका छन्, सहिद परिवारहरूले पुनः विवाह गर्न पाएका छन् र सम्बन्ध विच्छेद गरेका महिलाहरूले पनि पुनः विवाह गर्न पाएका छन् ।

जनयुद्धको दौरानमा महिलाहरूको चेतना बढाउने, संगठित गर्ने र सीप बढाउने नाउँमा विभिन्न स्थानीय अभियानहरू जस्तै ‘एक घर एक साथी’, ‘घर आँगनदेखि जनयुद्धको मैदानसम्मको अभियान’, ‘महिला रूपान्तरण अभियान’, ‘दिदी-बहिनी हातेमालो अभियान’, ‘सीप साटासाट अभियान’, ‘एक टोल एक संगठन’, ‘एक घर एक सदस्य’, ‘चेतना जागरण अभियान’, ‘महिला जागरण अभियान’, ‘साक्षरता अभियान’, ‘जहाँ सम्पर्क त्यहाँ संगठन, जहाँ संगठन त्यहाँ उत्पादन’ जस्ता अनगिन्ती अभियानद्वारा आम महिलाहरूलाई समग्र बनाउने काम भइराखेको छ । ‘अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस’, ‘सहिद सप्ताह दिवस’ ‘जनयुद्ध दिवस’, ‘मई दिवस’, ‘माओ दिवस’ मनाउने परम्परा सुरु भएको छ । त्यस्तै गरी कालिकोटका महिलाहरूले पुलिसलाई मारी राइफल खोसेको दिनलाई ‘विद्रोहोत्सव’ नामकरण गर्ने, गोरखा जेल ब्रेक गरेको दिनलाई ‘वीरता दिवस’ मनाउने निर्णय लिएको छ । जनसत्ताद्वारा चलाएको शिशु स्याहार केन्द्रले गर्दा सहिदका परिवार, पूर्णकालीन कार्यकर्ताहरू आ-आफ्‌ना क्षेत्रमा ढुक्कसँग काम गर्न पाएका छन् । यसमा सबभन्दा उपलब्धिमूलक काम आधारइलाकाका केही गाउँहरूलाई महिला शोषण मुक्त नमुना गाउँ बनाई त्यहाँ नयाँ प्रगतिशील संस्कृति संस्थागत गराउने काम भएको छ । यी उपलब्धिबाहेक जनसत्तामा मुख्य समस्या अझ पनि आवश्यकताअनुसार महिलाहरूको क्षमता विकास नहुनु नै हो । साथै जनसत्तामा उनीहरूको पर्याप्त सहभागिता नहुनु पनि हो । वास्तवमा जनसत्तालाई जनतासित नङ र मासु झै सम्बन्ध गराउनमा महिलाहरूको ठूलो हात हुन्छ । जनसत्तालाई निरन्तर रूपमा जनवादीकरण तब मात्र गर्न सकिन्छ जव यस यन्त्रलाई निरन्तर रूपमा जनताको निगरानी नियन्त्रण र सेवामा राखिराख्न सक्दछ । अतः यस कार्यमा महिला नेतृत्वदेखि जनतासम्मको ठूलो भूमिका रहन्छ । तसर्थ जनसत्तामा महिलाहरूलाई स्थापित गर्नमा पार्टीले विशेष पहल लिनुपर्दछ, त्यस्तै जनसत्ताले महिला जनसमुदायलाई बढीभन्दा बढी परिचालन गर्नमा विशेष पहल लिनुपर्दछ । यहाँ महिला विभागले जारी गरेको प्रश्नावलीमा जनसत्तामा महिलाको मुख्य समस्या के हो भनेर सोध्दा अधिकांश महिलाहरूले (४६.६९%) ‘जनसत्ता संचालनमा महिलाहरूको कम सहभागिता’ भएको बताएका छन् । अतः पार्टीले जनसत्तामा महिलाहरूको सहभागिता बढाउने विशेष अभियान चलाउनुपर्दछ । त्यतिले मात्र नपुगेर पार्टीले महिलाहरूलाई लालको साथसाथै निपुण बनाउने योजना पनि ल्याउन जरुरी छ । साथै बेलाबखत चलाउँदै आएका अभियानहरूलाई निरन्तरता दिनमा पनि समस्या देखिन्छ । अतः नयाँ संस्कार, बानीवेहोरा स्थायित्व दिनमा जनसत्ताले विशेष ध्यान दिनुपर्दछ ।

समस्या र चुनौती

क्रान्तिले पुराना अन्तरविरोधहरुरू हल गर्दै जान्छ भने त्यसले नयाँ अन्तरविरोधहरू पनि सृजना गर्दै जान्छ । यद्यपि उपलब्धिको हिसाबले जनयुद्धको दश वर्षको अवधिमा धेरै उपलब्धिहरू हासिल गरिसकेको छ र त्यो नै प्रधान पक्ष हो । तर त्यसको साथसाथै केही समस्या र चुनौती पनि खडा गरिदिएको छ । त्यो भनेको जनयुद्धको दौरानमा आएका महिलाहरूको मात्रात्मक सहभागितालाई गुणात्मक विकासमा लग्ने समस्या हो । त्यो भनेको पार्टीभित्र महिलाहरूलाई स्थापित गर्ने समस्या पनि हो । त्यो भनेको पार्टीभित्र महिलाहरूले अध्ययनको धरातलबाट विचारमा, दृष्टिकोणसम्म पुग्न अझ नसकेको देखिन्छ । सैन्य क्षेत्रमा महिलाहरूको सहभागिता र नेतृत्वको निरन्तरताको समस्या देखिन्छ जनसत्ताभित्र व्यापक सहभागिताको समस्या र साथै निपण नहुन् समस्या देखिन्छ । पूरै परिवार पार्टीकरण भएको त छ, तर लोग्ने र स्वास्नीलाई राजनीतिक रूपमा एकमना सरह हेर्ने समस्या छ । फलस्वरूप लोग्ने बिग्रिदा स्वास्नी ओझेलमा पर्न जाने समस्या यदाकदा देखिन्छ । साथै यो पनि ध्यान दिन जरुरी छ कि महिलाहरू आफ्‌नो लोग्ने क्रान्तिबाट विचलित भए भने तिनीहरू विद्रोह गर्न अझ पर्याप्त रूपमा सकिरहेका छैनन् । जनयुद्धको दौरानमा महिलाहरूले धेरै क्षेत्रमा धेरै उपलब्धि हासिल गरेका छन् तर ती उपलब्धिहरूलाई अझ घनिभूत हुने गरी संश्लेषण हुन पाइरहेको छैन । अर्थात् आवश्यकताअनुसार क्षमता अझ हासिल गर्न बाँकी छ । समग्र रूपमा हेर्दा महिलाहरूको समस्या भनेको मूलतः पछौटेपनको समस्या हो र त्यो भनेको नयाँ घस्दै गरेको छाडा संस्कृतिभन्दा पनि परम्परागत रूपमा कायम सामन्ती संस्कृतिको समस्या हो। अतः त्यो भनेको अधिकांश पुरुषहरूको लागि महिलाहरूले हालसम्म हासिल गरेका उपलब्धिहरूलाई स्वीकार्न धौधौ हुनु पनि हो ।

उपसंहार

लेनिनले भन्नुभएझै क्रान्ति अघि दस वर्ष लाग्ने रूपान्तरण क्रान्तिको दौरानमा दस दिनमा हुन्छ । नेपालका महिलाहरूको रूपान्तरणको कुरा गर्दा क्रान्ति अघि युगौं युग लाग्ने रूपान्तरण क्रान्तिको दस वर्षको दौरानमा हासिल गरिसकेको छ भन्दा त्यो अतिशयोक्ति नहोला । वास्तवमा जनयुद्धको पहिचानहरूमध्ये सबभन्दा देखिने पहिचान राइफल बोकेकी महिला योद्धा भएको छ । जनयुद्धमा महिलाहरूको आम सहभागिताले गर्दा जनयुद्ध आम जनसमुदायको जीवन पद्धति बन्दै गएको छ ।

वास्तवमा समाजको रूपान्तरण गर्ने साँचो त्यस समुदायका महिलाहरू हुन् । अतः यथास्थितिवादीहरूले त्यो साँचोलाई धर्मको पोखरीभित्र डुबाएर खिया पारिराखेको हुन्छ, लुकाइराखेको हुन्छ । त्यसैले क्रान्तिको काम त्यो साँचो भेट्टाउने र त्यसमा लागेको खिया पखालेर समाजको रूपान्तरणको ढोका खोल्ने हो । त्यस अर्थमा नेपालको दश वर्षे जनयुद्धको अवधिमा थुप्रै रूपान्तरणहरू भएका छन् । सर्वप्रथम यसले महिला पुरुष बीचको सामन्ती सम्बन्धलाई समानताको सम्बन्धमा क्रमशः परिवर्तन गर्दै ल्याएको छ । यसले घर-घरमा व्याप्त घरेलु हिंसालाई सामन्ती पितृसत्तात्मक राज्यसत्ताको विरुद्ध वर्गीय हिंसामा रूपान्तरण गर्न सफल भएको छ । राज्यद्वारा संरक्षित बलात्कारलाई सामूहिक वर्गीय घृणामा रूपान्तरण गरी ती बलात्कृत महिलाहरूलाई फौजीकृत गरी राजनीतिमा प्रवेश गर्ने आधार तैयार पारिदिएको छ। दोस्रो, यसले आआंशिक रूपमा भए पनि कतिपय आधारइलाकामा शिशु स्याहार केन्द्र, जनकम्युन निर्माण गरी महिलाहरूलाई गृहदासत्वबाट मुक्त बनाई सामाजिक उत्पादनमा भाग लिने वातावरण बनाइदिएको छ। तेस्रो, यसले सामन्ती उत्पादनको गाँठो फुकाउने ‘पैतृक सम्पत्तिमा समान अधिकार’ को नारालाई आधारइलाकामा कार्यान्वयन गर्दै लगिरहेको छ । चौथो, यसले तथाकथित परिवारको इज्जत जोगाउने नाममा पलपलमा मरिरहेको जीवनलाई सचेत रूपमा ज्यूने र मर्न सिकाएको छ । निजी सम्पत्ति निजी परिवारलाई स्थायित्व दिने नाममा महिलाहरूले दिंदै आएको मूल्यविहीन बलिदानी श्रम र शीपलाई नयाँ शोषणरहित समाज निर्माण गर्नको लागि चाहिने सामूहिक बलिदान, श्रम, सामाजिक उत्पादनमा रूपान्तरण गर्न सफल भएको छ। पाचौ, महिलाहरू उत्पादन शक्ति मात्र नभएर प्रजनन शक्ति पनि भएकोले गर्दा तिनीहरूमा पुरुषहरूमा भन्दा बढी सामाजिक, सामूहिकता र सहयोको भावना हुन्छन्, ती सबैलाई जनयुद्धले संस्थागत गरेर साम्यवादको आधार तैयार गरेको छ। छैठौं, कतिपय अवस्थामा सचेत रूपमा, कतिपय अवस्थामा प्रतिक्रियावादी सत्ताको दमनकारी नीतिले गर्दा पूरा परिवार पार्टीकरण भइरहेको छ । सातौं, यसले नेपालका सबै समुदायका महिलाहरूलाई रूपान्तरण गरेको छ । नेपालका आर्य मूलका महिलाहरूको सामन्ती बन्धन तोडिदिएर मुक्त पारेको छ भने मङ्गोल मूलका महिलाहरूको स्वतन्त्र र स्वावलम्बी जीवनलाई अझ चुनौतीपूर्ण र लक्ष्य केन्द्रित काममा लगाइदिएको छ। यसले विशेषतः दलित जातिका महिलाहरूलाई इज्जत दिएको छ । सामन्ती जडतामा फसेका मधेसी महिलाहरूलाई जनयुद्धमा भाग लिनेसम्म बनाएको छ। आठौं, यसले बाध्यताको दुनियाँमा बाँच्न कैद भएका महिलाहरूलाई स्वतन्त्रतातिर उन्मुख गराएको छ ।

अन्ततः प्रत्येक क्रान्तिको समस्या भनेको क्रान्तिबाट उपलब्धि गरेका कामहरूको संरक्षण मात्र नगरेर त्यसको निरन्तर विकास गर्ने पनि हो। यो कुरा महिलाहरूले आर्जित गरेका उपलब्धिहरू कसरी क्रान्तिपश्चात् संरक्षण मात्र नगरी विकास गर्ने भन्ने विषयमा पनि लागू हुन्छ । किनभने क्रान्तिपश्चात् सबभन्दा पहिलो प्रतिक्रान्तिको सिकार महिला समुदाय नै हुने गरेको इतिहासले पुष्टि गर्दै आएको छ । अझ नेपालको सन्दर्भमा केन्द्रीय सत्ता कब्जा गर्न अझ बाँकी नै छ, अतः यहाँ महिलाहरूले प्राप्त गरेको क्षमता, उपलब्धि र सम्भावनालाई कसरी जोगाइराख्ने र त्यसलाई निरन्तरता दिने मुख्य चुनौतीको विषय बन्न जान्छ । यी उपलब्धिहरू अन्ततः सर्वहारा वर्गको फौजी शक्तिको बलमा टिक्ने भएकोले गर्दा उत्पीडित महिलाहरूलाई फौजीकृत गर्नु नै आजको प्रधान कार्य हो। तर यसको आधार भनेको मालेमाको विचारको रक्षा प्रयोग र विकास नै हो जो महिलामुक्तिको प्रश्नसित पनि जोडिएको हुन्छ । यसलाई अध्यक्ष कमरेड प्रचण्डले अत्यन्त सटिक ढंगले यसरी प्रस्तुत गर्नु भएको छःः “अहिले नेपालमा समाजको क्रान्तिकारी रूपान्तरणका लागि चलिरहेको जनयुद्धको महान् प्रक्रियाका पछाडि मा.ले.मा. कै विचारको रक्षा, प्रयोग र विकासले काम गरिरहेको छ । मृत्युमाथि विजय हासिल गर्दै युद्धमैदानमा उत्पीडित महिलाहरूको अभूतपूर्व सहभागिताले वस्तुतः नयाँ विचार र महिलामुक्ति आन्दोलनको नयाँ चरणलाई व्यक्त गरिरहेको छ । क्रान्तिकारी विचारको रक्षा, प्रयोग र विकासमा शक्तिशालि आधार हुने नयाँ विचार पनि जनयुद्धकै माध्यमबाट विकसित भएको छ । इतिहासकी अनुभव र नेपाली क्रान्तिको आफ्‌नै जीवनबाट स्पष्ट हुन्छ कि बैज्ञानिक विचारको रक्षा, प्रयोग र विकासको प्रक्रियाबाट अलग उत्पीडितवर्गको वास्तविक मुक्ति असम्भव छ। महिलामुक्तिको सर्त पनि ठीक यही विचारको प्रश्नसँग जोडिएकोले क्रान्तिकारी महिलाहरूको ध्यान त्यसमा केन्द्रित हुनु जरुरी छ ।” – क. प्रचण्ड, महिला ध्वनि, वर्ष २५, अंक १, श्रावण २०६२, पेज.नं. ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *