Posted on

आजभोलि दिएउटै धुनमा नेपाल रेडियोलगायत सरकारी सञ्चार माध्यमहरूमा राजतन्त्र नेपाली एकताको प्रतीक भन्दै गीत, भाषण, सभा, समाचार सम्पादकीय प्रचार प्रसार भइरहेको छ । यसको एउटा सकारात्मक पाटो यो छ कि पसले आम जनतामा साँच्चै राजतन्त्र नेपालको गणतन्त्र बाटो जाने कि पर्व सवैधानिक राजतन्त्र वा हिजोको पञ्चायती निरंकुश राजतन्त्रको बाटो जाने भन्ने कुरासँग प्रत्यक्ष जोडिएकाले यस प्रश्नलाई सैद्धान्तिकरूपले खोतल्न जरुरी छ ।

संवैधानिक संकट किन त ?

नेपाली राजनीतिको विशेषता यही नै रहयो कि यहाँ संविधानजस्तो रणनीतिक सामरिक विषयमा नेपाली जनताले बारम्बार आन्दोलन गर्नु परिराखेको छ। छिमेकी देश भारत र चीनमा अन्य विषय लिएर आन्दोलनहरू नभएका होइनन्, तर त्यहाँ संविधान निर्माणसम्बन्धी आन्दोलन नभएको करिव ५० वर्षभन्दा धेरै भयो। नेपालमा भने यही अवधिभित्र पटक पटक संविधानसंग जोडिएका आन्दोलनहरू भइसके र भइराखेको छ। यसले के सन्देश दिन्छ भने छिमेकी देशहरूको संविधानले त्यहाँको शक्ति सन्तुलनको उचित प्रतिनिधित्व गरिराखेको छ। जबकि नेपालमा बन्दै आएका संविधानहरूले यहाँको न शक्ति सन्तुलनको प्रतिनिधित्व गर्दछ न त यहाँको जनताको आकांक्षा वस्तुगत स्थितिअनुसारको न्यूनतम पुँजीवादी अधिकारलाई प्रतिनिधित्व गरिराखेको छ । चाहे त्यो २००७ सालको अन्तरिम संविधान, चाहे २०१५ सालको ‘संसदीय’ संविधान, २०१९ सालको पञ्चायती संविधान वा २०४७ सालको ‘संवैधानिक’ राजतन्त्रको संविधान होस् । ती सबै संविधानको विरोधको केन्द्रविन्दु सधैं अदृश्य रहस्यमय राजतन्त्र हुँदै आएको छ । तसर्थ दुई अति शक्तिशाली देशहरूको बीचमा परेको यो नेपालमा संविधान निर्माण जस्तो आधारभूत महत्त्व राख्ने संवेदनशील विषयलाई पटक पटक विवादमा ल्याउने राजतन्त्रले के राष्ट्रिय एकताको प्रतिनिधित्व गर्छ त ?

नेपाली राष्ट्रियताको प्रतीक ?

इतिहासका किताबहरूमा बारम्बार उल्लेखित छ कि यहाँको शाहवंश भारतको मुस्लिम आक्रमणबाट बच्नका लागि भारतभूमिबाट नेपालमा बाह्रौं तेह्रौं शताब्दीतिर आएका हुन् । र, भारतसितको परम्परागत वैवाहिक सम्बत्य अहिलेसम्म पनि शाह राणा वंशले जारी राख्दै आएका छन् । पारस हिमानीको विवाह यसको ज्वलन्त उदाहरण हो । तसर्थ यहाँको अन्धराष्ट्रभक्ति शक्ति जसले सिर्फ राजालाई राष्ट्रियताको प्रतीक मान्छ त्यसलाई प्रश्न छ के यहांको शाहवंशको राजतन्त्रले साँच्चै नेपाली माटोको प्रतिविम्बन गर्छ त ? साथै यो बारम्बार जाहेर हदै आएको छ कि नेपाली समाजमा सामन्ती राजा र राजतन्व उहिलेदेखि प्रचलित हुँदै आएको हो । तसर्थ यो नेपाली इतिहासको यथार्थ बनिसक्यो । तर वास्तवमा नेपालको केन्द्रीकृत राजसंस्थाको उदय सन् १७६९ मा मात्र भएको थियो । यसअघि त नेपालमा कविलाइ प्रकारको जनवादी संरचना थियो । त्यतिबेला कविला नायक जनताप्रति उत्तरदायी थियो । जसलाई चुन्ने, फेर्ने र आवश्यक परे मृत्युदण्ड दिने प्रचलन थियो। त्यस्तै यो बारम्बार भन्ने गरिन्छ कि नेपालको राजा यहाँको विविध जातीय, भाषिक, धार्मिक, वर्गीय, क्षेत्रीय एकताको प्रतीक हो । तर जुन राजवंशले आफ्‌नो नेतृत्वको निरन्तरताको लागि आफ्‌नो वंश (शाह), जाति (क्षेत्री), धर्म (हिन्दु), वर्ग (कुलीन), लिंग (पुलिंग), क्षेत्र (सहरिया), भाषा (नेपाली) एक रत्ती पनि छोड्न सक्दैन त्यसले नेपालको विविध जातीय, क्षेत्रीय, धार्मिक, भाषिक एकताको प्रतीक कसरी बन्न सक्छ र ? आफू‌लाई विष्णुको अवतार मानेर हिन्दू धर्मको संरक्षक बनेर कसरी अरू धर्महरूको एकताको प्रतीक बन्न सक्छ र ? त्यस्तै आधा धर्ती ओगट्‌ने महिलाहरूलाई पैतृक सम्पत्ति र राजगद्दीमा समेत निषेधित गरेर त्यो आदर्श पुरुष महिलाको एकताको प्रतीक कसरी बन्न सक्छ र ? त्यस्तै वर्गीयरूपमा राजपरिवार धनीवर्गमा मात्र सीमित नभएर कुलीन खानदानको प्रतीक बन्दै आएको छ । जबकि आम जनता झन्झन् कंगाल बन्दै गइरहेका छन् । राजपरिवारभित्र अन्तरजातीय विवाह पूरा निषेधित छ । काट्टो खाने जस्ता अपमानजनक संस्कृक्तिलाई यसले निरन्तरता दिदै आएको छ । संस्कृत भाषाजस्तो लोप भएको सामन्ती भाषालाई जनतामा जबर्जस्त थोपरेर मध्ययुगीन शिक्षालाई पुनरुत्थान गर्न नखोजेको होइन । नेपाली भाषालाई राष्ट्रिय भाषा मानेर त्यस भाषालाई अन्य भाषिक जनतामा थोपरिराखेको छ । यस अर्थमा यहाँको राजा यहाँको विभिन्न जातीय क्षेत्रीय, धार्मिक, भाषिक एकताको प्रतीक कसरी बन्न सक्ला ? शक्तिहरूसित मिलेर देश बचाउनको सट्टा एक अर्कालाई षड्यन्त्रपूर्वक यो वा त्यो नाममा विस्थापित गराउन खोजिराखेको छ । त्यस्तो व्यक्ति कसरी राष्ट्रद एकताको प्रतीक बन्न सक्ला ?

नेपाली राजतन्त्र कत्तिको प्रजातान्त्रिक ?

आजभोलि राजालाई प्रजातन्त्रको प्रतीक पनि भन्न थालिएको छ । तसर्थ यो तथ्यलाई उजागर गर्नु जरुरी छ । राजतन्त्र जुन एकल नेतृत्वको अधिनायकत्वको आधारमा केन्द्रित व्यवस्था हो । त्यसले बहुदलवाद जस्तो विपरीत व्यवस्थालाई कुन हृदय लिएर स्वेच्छाले स्वीकार्न सक्छ ? आफ्‌नो वंशको निरन्तरताका लागि प्रेम विवाह, अन्तरजातीय विवाहजस्तो आधारभूत निजी स्वतन्त्रतालाई त पूरै निषेध गर्दछ, त्यसले पूरै समाजको स्वतन्त्रतालाई कसरी फल्न फुल्न दिन्छ? त्यस्तै जब राजगद्दीको नेतृत्व क्षमता, सीप, प्रतिस्पर्धाको आधारमा नभएर विशिष्ट पाठेघरको कथित शुद्धताको आधारमा हुन्छ, त्यो पनि लिंगीय (पुरुष) र उमेर। सबभन्दा ज्येष्ठ छोरा) को आधारमा हुन्छ । तब त्यस्तो व्यवस्थाले एक व्यक्ति एक मतमा आधारित प्रतिस्पर्धात्मक चुनावलाई कुन हृदयले स्वीकार्न सक्छ र ? त्यस्तै दैवी अधिकारको दाबी गर्दै कानुनभन्दा माथि, संविधानभन्दा माथि, अपरिवर्तनीय नियमहरूका माध्यमबाट सुविधाहरू सुरक्षित राख्नु, आर्थिक गतिविधिहरू सार्वजनिक नगर्नु आदि सबै गतिविधिहरू बहुदल, प्रजातन्त्र विरोधी हुन् भन्ने कुरा स्वतः स्पष्ट छ। राजतन्त्रले अहिलेको सामन्तवादमा आधारित संसदीय प्रजातन्त्रसमेत पचाउन नसक्नु स्वाभाविक हो । त्यस्तै प्रजातन्त्रको संस्कृति सापेक्षित रूपमा खुला र स्पष्टताको आधारमा चल्छ । तर राजतन्त्रभित्र राजा र राजपरिवारका गतिविधिहरू रहस्यमय, अदृश्य राखिन्छ । ताकि त्यस शक्तिलाई जनताले दैवी, अ‌द्भुत शक्तिकारूपमा ग्रहण गरोस् । यसले गर्दा दरबारभित्रका कतिपय घटनाहरू लुकाइन्छ । कालान्तरमा जब त्यो बाहिर आउँछ, तब त्यो विस्फोट भएर आउँछ । जस्तै बेलायतको राजतन्त्र डायनाकाण्डको घटनार नेपालमा घटेको राजपरिवारको वंशसंहार काण्ड । राजतन्त्रको यो एकल संरचना, जैविक नेतृत्व चयन, अति केन्द्रीकृत संरचना, परम्परावादी रूढिवादी, धार्मिक समाजको गतिको लागि त के आफ्‌नै वंशको विकासका लागिसमेत अवरोध बनिदिन्छ । इतिहास साक्षी छ, जब जब असक्षम, कमजोर राजाहरू राजगद्दीमा आसीन हुन्छन् तब तब तिनीहरू कुनै न कुनै दुर्घटना वा षड्यन्त्रमा परी कि त नरसंहारित हुन्छन् कि त विस्थापित हुन्छन् । जबकि प्रजातन्त्र वा बहुदलमा त्यस्ता नेताहरूको अवतरण प्रतिस्पर्धाको आधारमा इज्जतपूर्वक हुन्छ । अन्ततः जबसम्म राज्यसत्ताको असली शक्तिको स्रोत सेना राजाको अधीनमा रहन्छ बुझ्‌नुपर्ने के छ अहिलेको तीव्र भूमण्डलीकरण, ज्ञान विज्ञानको विकासले ल्याएको उत्पादन शक्तिको विकासले नेपालको उपरी संरचना पूँजीवादउन्मुख प्रजातन्त्रको वातावरण तयार पारि राखेको छ । तर यहाँको आधारभूत संरचना भने सामन्ती उत्पादन सम्बन्धमा जकडिराखेको छ। तसर्थ यहां पूर्ण प्रजातन्त्र फस्टाउन त के अर्थ प्रजातन्त्र समेत बचाउन मुस्किल भइरकेको छ । यसका लागि राजत बाधक भएर आइरहेको छ ।

अहिलेको राजा साँच्चै राष्ट्रियता र प्रजातन्त्रको प्रतीक बन्न चाहेमा उसले नेपालमा बारम्बार आउने संवैधानिक संकटलाई संविधानसभा जस्तो प्रजातान्त्रिक अभ्यासबाट आएको निर्णयलाई मान्न हिम्मत गर्नुपर्छ । अहिलेको युग भनेको पुँजीवादी युग हो। तसर्थ अहिलेको एकीकरण हिजोको सामन्ती एकल अधिनायकत्वको नेतृत्वमा नभएर जातीय, क्षेत्रीय, लिंगीय स्वतन्त्रता, समानता र एकताको आधारमा प्रतिस्पर्धात्मक नेतृत्वको चयनबाट हुनुपर्छ । यस अभियानमा वर्तमान राजाको कस्तो भूमिका हुन्छ, त्यही आधारमा उसको भविष्य निर्धारित हुन्छ ।

जुलाई ९, २००३

Leave a Reply

Your email address will not be published. Required fields are marked *