Posted on

तीनपटक मन्त्री र लामो समय पार्टीको केन्द्रीय नेता भइसके पनि हिसिला यमीलाई धेरैले ‘नेतापत्नी’ कै रुपमा चिन्ने गर्छन् । डा. बाबुराम भट्टराईको राष्ट्रिय व्यक्तित्वले उनलाई निरन्तर थिचिरहेको छ ।

काठमाडाैंको धनाढ्य नेवार परिवारमा जन्मेर सुखसयलमा हुर्केकी हिसिलाले गोरखाको एउटा गाउँमा जन्मेर संघर्षपूर्ण जिवन व्यतित गरेका ब्राम्हणलाई जीवन साथी रोजिन्, जुन उनको जीवनमा ठूलो ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । बाबुरामसँग बिहे नगरेको भए हिसिलाले एउटा आर्किटेक्ट इन्जिनियरको रुपमा कुनै कम्पनीमा जागिर खाइरहेकी हुन सक्थिन् ।

व्यक्तित्व र स्वभावगत लक्षणहरुमा धेरै अन्तराल भए पनि पति-पत्नीबीच एउटा कुरामा समानता छ । भड्किलो जीवनशैलीमा उनीहरु दुवैको खासै मोह देखिँदैन । यद्यपि, हिसिलाको आर्थिक-राजनीतिक आचरणमाथि भने बेलाबखत प्रश्नहरु उठ्दै आएका छन् । खासगरी बाबुराम प्रधानमन्त्री भएका बेला उनी अत्यधिक विवादित बनिन् । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले उनलाई ‘दक्षिण एसियाकै भ्रष्ट महिला’ का रुपमा चित्रित गरिदिएको थियो । यद्यपि, भ्रष्टाचारको मुद्दामा उनले नेपालको अदालतबाट भने क्लीनचिट पाएकी छन् ।

जनयुद्धमा लाग्दा कोटेश्वरको घर बेचेर पार्टीलाई पैसा दिएका बाबुराम दम्पत्ति खुल्ला राजनीतिमा आएपछि लामो समय डेरामा बसे । अहिले चाहिँ उनीहरुले टोखाको एउटा हाउजिङमा घर खरिद गरेर बस्न थालेका छन् । सोही घरमा हिसिलाले अन्तरवार्ताका लागि समय दिइन् । बिहान नौ बजे हामी पुग्दा डा. बाबुराम भने घरमा थिएनन् । करिब दुई घन्टा लामो कुराकानीमा निकै खुलस्त प्रस्तुत भइन् । नेतापत्नी हुनुको दुःखदेखि लिएर भूमिगत जीवनका रोचक क्षणहरु उनले सुनाइन् । प्रस्तुत छ हिसिलासँगको अन्तरंग कुराकानी :

हाउजिङको बसाई कस्तो भइरहेको छ ?

म आफैंले बेलायतमा हाउजिङसम्वन्धी मास्टर्स गरेकी हुँ । त्यसैले हाउजिङका ‘प्लस प्वाइन्ट’ थाहा थियो । यहाँ सबै योजनावद्ध हुन्छन् । सबैका लागि समानुपातिक रुपमा स्पेस छुट्याएको हुन्छ । हाउजिङमा सुविधाजनक नै छ ।

कति मूल्यमा खरिद गर्नुभएको हो, बताउन मिल्छ ?

मैले बुझेअनुसार दुई करोड चानचुन भनेजस्तो लाग्छ । किस्तामा खरिद गरेका हौं ।

डा. भट्टराईले सबै जनताको घर नबनुञ्जेल आफ्नो घर बनाउँदिन भनेर सार्वजनिकरुपमा नै भन्नुभएको थियो । अहिले कसरी घर किन्न तयार हुनुभयो ?

वास्तवमा उहाँले मसित कुनै सल्लाह नगरिकन त्यस्तो भन्नुभयो । त्यस्तो निर्णय लिँदा मसित एकपटक सोध्नु त पथ्र्यो नि हो कि होइन ? मेरो त्यसमा फरक मत पो थियो कि ? उहाँको भनाइ असाध्यै राम्रो हो । तर, व्यवहारिक रुपमा हामीलाई कठिन हुँदै गयो । पटक-पटक डेरा सरिरहँदा असाध्यै झण्झट हुने । सामानहरु टुटफुट हुने ।अब त बुढेसकाल पनि लाग्यो । कति घर सर्दै, सामान ओसार्दै हिँड्ने ?

अहिले चाहिँ मेरी जेठी दिदीले पनि उहाँलाई गाली गर्नुभयो । कहिलेसम्म मेरी बहिनीलाई अर्काको घरमा सार्नुहुन्छ भनेर गाली गरेपछि बल्लतल्ल कन्भिन्स हुनुभएको हो । पहिले घर सल्लाह नगरी बोल्दा आज उहाँ आफ्नो ‘कमिटमेन्ट’बाट पछि हटेको जस्तो देखियो ।

करोडौंको घर किन्न पुग्ने पैसाको बचत पहिल्यै गर्नुभएको थियो ?
म यति शक्तिशाली रहिछु कि मलाई बदनाम गर्नका लागि अमेरिकाकै पत्रिकाले समेत झूटो समाचार लेख्नुपर्‍यो ।तर यो सबै त्यतिबेला मलाई चुनाव हराउनका लागि रचिएको प्रपोगाण्डा थियो । आखिर अदालतले त मलाई भ्रष्टाचारमा क्लीन चिट दियो नि ।
तपाईंलाई म मेरो पृष्ठभूमि बताउँछु । म काठमाडौंको एउटा सम्पन्न परिवारमा जन्मिएकी छोरी हुँ । मेरो बाजेहरु धनाढ्य ब्यापारी हुनुहुन्थ्यो । बुवा चाहिँ राजनीतिमा लाग्नुभयो र मन्त्रीसमेत हुनुभयो । जग्गा जमस्न धेरै थियो । भुरुङखेलमा अहिले पनि सात रोपनी जग्गा छ, दाइको नाममा ।

मेरो आमाले हामी ६ दिदीबहिनीलाई केही सुन दिनुभएको थियो । बाबुरामजीसँग बिहे गरेपछि मैले केही समय काम (टिचिङ) पनि गरेँ । बिहेपछि घरको आवश्यकता महसुस भयो र मैले त्यो सुन बेचेँ । अनि काम गर्दा कमाएको वचत पनि थियो । त्यसमा बाबुरामजीले पनि थपथाप गरेर कोटेश्वरमा एउटा घर बनायौं ।

तर, माओवादी जनयुद्धमा होमिएपछि पार्टीका लागि पैसा जुटाउनुपर्ने भयो । त्यसैले कोटेश्वरको घर बेच्नुपर्ने स्थिति आयो । तर, हाम्रो घर किन्न कोही तयार नहुने । प्रहरीले बारम्बार हाम्रो घरमा खानतलासी गर्न आउँथ्यो । त्यसैले सस्तैमा बेच्न खोज्दा पनि मानिसहरु किन्न डराए । पछि मेरै दिदीले अठार लाख हो कि कतिमा किनिदिनुभयो । त्यसको आधा पैसा हामीले पार्टीलाई दियौं भने आधा मानुषीको नाममा जम्मा गरिदियौं ।

शान्तिप्रक्रियामा आएर खुल्ला भइसकेपछि दिदीहरुले कम्तिमा हाम्रो एउटा घर चाहिँ स्थायी होस भन्ने चाहनुहुन्थ्यो । अरुभन्दा पनि अमेरिकामा बस्ने जेठी दिदीले बारम्बार भन्नुहुन्थ्यो । उहाँले नै मलाई ६ आना जग्गा बेच्नुभएको थियो एकदम सस्तोमा । त्यही जग्गा बेचेर अहिले घर किन्ने आधार बनेको हो ।

जनयुद्ध छोडेर खुल्ला राजनीतिमा आएपछि धेरै माओवादी नेताहरुको जीवनस्तरमा कायापलट भयो । तपाईंहरु अपवाद हुनुहुन्थ्यो । तर, अब तपाईंहरुलाई पनि त्यही आरोप लाग्ने भयो होइन ?

एउटा घर हाम्रो लागि आवश्यकताको विषय बन्यो । तर, जीवनशैली अहिले पनि साधारण नै छ । हामी दुवैजना सामान्य जीवन, उच्च विचारमा विश्वास गर्छौं । हाम्रो लवाइखवाई त तपाईंहरुले पनि त देख्नुभएकै होला नि, छैन ?

हो, एउटा गाडी चढ्छु । त्यो चाहिँ माओवादी जनयुद्धबाट आइसकेपछि भन्सार छुटको सुविधा दिइरहेको थियो । अहिले पनि माओवादीकै नाममा छ । म त बाहिर हिँड्दा पनि घरबाट लन्च बक्स बोकेर हिँड्छु । हामी फेमिली डिनरका लागि होटल-रेस्टुरेन्ट जाँदैनौं । कहाँ छ रवाफ ? सबै चिज उस्तै नै छ ।

तर, डा. बाबुरामको सादगीपनमा विवाद नभए पनि तपाईंमाथि त धेरै आरोप लाग्छ नि । पद र पावरमा भएको बेला त्यसको दुरुपयोग गरेर मनग्गे पैसा आर्जन गर्नुभएको आशंका जनमानसमा पनि छ । के त्यो भ्रम मात्रै हो ?

भ्रम नभएर के हो त ? यदि त्यसरी पैसा थुपारेको भए हाम्रो जीवनशैलीमा प्रतिबिम्बित हुँदैनथ्यो ? के तपाईंलाई लाग्छ त्यस्तो ? यो सबै मिडियाहरुले उत्पन्न गरेको भ्रम हो ।

नेपाली मिडिया त पूर्वाग्रही भए रे । तपाईंलाई त अमेरिकाको प्रख्यात न्यूयोर्क टाइम्सले नै ‘दक्षिण एसियाकै भ्रष्ट महिला’ भनेर लेखिदिएको थियो नि ?

त्यही त म अचम्ममा परेँ । एक हिसाबले त खुशी पनि लाग्यो, म यति शक्तिशाली रहिछु कि मलाई बदनाम गर्नका लागि अमेरिकाकै पत्रिकाले समेत झूटो समाचार लेख्नुपर्‍यो । अमेरिकादेखि पत्रकार आएर मेरो बारेमा रिपोर्टिङ गरे । यो सबै त्यतिबेला मलाई चुनाव हराउनका लागि रचिएको प्रपोगाण्डा थियो । आखिर अदालतले त मलाई भ्रष्टाचारमा क्लीन चिट दियो नि ।

झूटो कुरा लेखेको थियो भने खण्डन किन पठाउनुभएन ? एउटा विश्वव्यापी रुपमा चर्चित पत्रिकाले लेखेको कुराले तपाईंलाई लामो समय असर गर्दैन ?

त्यतिबेला चुनावको दौडधुप थियो कता खण्डन गरेर बस्ने । फेरि अदालतले मलाई सफाइ दिएपछि त्यही नै काफी भयो नि । मैले कतिलाई स्पष्टिकरण दिँदै हिँड्नु ? साध्य छ भन्नुस् त ?

बाबुरामको बारेमा पनि अनेक समाचार आएका छन् । ‘रअ’ का एजेन्ट भनेर लेखेका छन् । अब उहाँले जति समाचार आउँछन्, त्यो सबैको खण्डन गरेर बस्ने हो भने त अरु कामै गर्नुपरेन । मेरो पनि त्यस्तै हो । मैले वास्ता गर्नै छोडिसकेँ ।

फेरि मिडियाले खेद्ने भनेको पनि पावरमा हुँदारहेछ । अहिले पावरमा नभएको बेला मिडियालाई मेरो बारेमा कुनै चासो छैन । मलाई पनि हाइसन्चो छ ।

तपाईं तीनपटक मन्त्री हुनुभयो । तर, आफू मन्त्री बन्दा बढी श्रीमान प्रधानमन्त्री बन्दा प्रधानमन्त्राणीको रुपमा ‘पावर एक्सरसाइज गर्नुभयो होइन ?

त्यसलाई पावर एक्सरसाइज भन्न मिल्दैन । मैले उहाँलाई सहयोग गर्न खोजेकी मात्र थिएँ । मसित मन्त्रालयको नेतृत्व गरेको अनुभव थियो नि त । त्यसलाई सदुपयोग गर्न खोज्दाखेरी विवाद निकालियो ।

खासगरी मैले पर्यटनमन्त्री हुँदा नेपालको पर्यटन क्षेत्रलाई सेवामुलक भन्दा पनि उद्योगका रुपमा विकास गर्ने अवधारणा अघि सारेकी थिएँ । तर त्यो अपूरो रह्यो । बाबुराम प्रधानमन्त्री बन्दा केही समय पर्यटन मन्त्रालय खाली थियो । त्यसैले मैले सरकार र पर्यटन क्षेत्रसित समन्वय गरेर पर्यटनलाई कसरी उद्योगका रुपमा विकास गर्न सकिन्छ भनेर काम गर्न प्रयास गरेकी हुँ ।

जब लोकेन्द्र विष्ट पर्यटनमन्त्री बन्नुभयो, उहाँले मलाई सिधासिधा भन्नुभयो कि मेरो मन्त्रालयमा हस्तक्षेप नगर्नुस् । त्यसपछि म पनि पछि हटेँ । मलाई पनि के खाचोँ ! आखिर मैले गरेको कामको जस उहाँले नै पाउनुहुने थियो ।

श्रीमान प्रधानमन्त्री बन्दा कर्मचारीको नियुक्ति, सरुवा बढुवादेखि विभिन्न ठूलो टेन्डरमा समेत व्यापकै पैसाको चलखेल गर्नुभएको र त्यसले गर्दा बाबुरामको छविमा समेत असर गर्‍यो भन्ने गरिन्छ । त्यस्तो नगरेको भए हुन्थ्यो भन्ने लाग्दैन ?

मैले गरेकै छैन त किन त्यस्तो लाग्ने ? अफवाहको कुनै ओखती हुँदैन । तपाईंलाई एउटा घटना सुनाउँछु । बाबुराम प्रधानमन्त्री बन्दा मलाई एकजना ब्यापारी सुनको टप लिएर आए । उनले त्यो उपहार दिन खोज्दा मैले ठाडै इन्कार गरेँ । त्यो पनि एकपटक होइन, पटकपटक । मलाई अचम्म त के लाग्छ भने मानिसहरु मामुली कामका लागि पनि विभिन्न प्रलोभन लिएर आउँथे । कानून बमोजिम कुनै अप्ठ्यारो नहुने काम पनि केही लाभ नपाइकन गर्दैनन् भन्ने व्याप्त रहेछ । त्यस्ता अफरहरु मैले सबै इन्कार गरेकी छु । आरोप लगाउनेले त जे पनि लगाउँछन् । अहिले पनि चाडबाडमा दूतावासदेखि उद्योगीहरुसम्मबाट रक्सीका बोतलहरु आउँछन् । नलिने कुरा भएन । तर, हामी पिउँदैनौ । यसो साथीभाइहरु आउँदा दिने हो ।

तपाईंले आफ्नो परिवार र नातागोतालाई महत्वपूर्ण पदहरुमा नियुक्त गर्नुभएको त सत्य हो नि ?

मेरो नातागोता वा परिवार हुन् भन्दैमा उनीहरु कुनै पदका लागि योग्य हुँदैनन् त ? मैले योग्यता नै नभएकोलाई नियुक्त गरेको छु भने प्रश्न उठाउनुस् । मैले सबैलाई योग्यता र क्षमता हेरेर नियुक्ति दिएको हुँ, मेरो नातागोता भनेर होइन । फेरि मैले उहाँहरुलाई बाबुराम प्रधानमन्त्री भएको बेला नियुक्ति गरेको होइन । आफू मन्त्री हुँदा गरेको हो । त्यो मेरो अधिकारक्षेत्रको कुरा थियो ।

मेरो दाइ सिभिल इन्जिनियर हुन् । रिजनल इन्जिनियरिङ कलेज कस्मिरमा टप गरेका थिए । म मन्त्री भएको एक महिनापछि उनी जागिरबाट रिटायर्ड भएका थिए । देशका लागि अझै केही योगदान गर्न चाहन्छु भनिरहेका थिए, मैले टार्दै आएँ ।

त्यही बेला मलाई खानेपानीसम्वन्धी इन्जिनियर चाहियो । इन्जिनियरिङ विभागलाई आग्रह गरेँ तर, पठाइदिएनन् । अनि कसैलाई नियुक्त गर्नैपर्ने भयो । दाइले पनि रुची देखाइरहेका थिए । त्यहीबेला मेरा स्टाफको सल्लाहमा उनलाई नियुक्त गरिएको हो । अब यसैलाई परिवारवाद भन्नुहुन्छ भने म के जवाफ दिनू । मेरा सबै दिदीबहिनी एकसे एक छन् । उनीहरुका लागि मैले केही गरिदिनुपर्ने अवस्था छैन । बरु मलाई अप्ठ्यारो पर्दा उनीहरुले हेर्छन् ।

तपाईंको दिदीबहिनी कोही पनि राजनीतिमा छैनन् । तपाईं पनि पेशाले इन्जिनियर । उटा राम्रो जागिर खाएर आरामको जिन्दगी बाँचेको भए हुनेरहेछ जस्ता लाग्दैन ?

त्यस्तो पटक्कै लाग्दैन । मलाई कहिल्यै पनि सुखसयलको जिन्दगी बाँच्ने तृष्णा भएन । मैले भारतको कानपुरमा रहेको आईआईटी कलेजमा पढ्ने मौका पाएँ । त्यहाँ धेरै टप लेभलका मानिसहरु देख्थेँ, जो चप्पल लगाएर हिँड्थे । त्यहीँबाट मैले सिकें कि मानिस लवाई खवाईले होइन कि ज्ञान र विचारले ठूलो हुन्छ । मेरो व्यक्तित्व निर्माण ७० प्रतिशत त्यही सिकाईको सबैभन्दा ठूलो हात छ । दिदीहरुले पनि कहिल्यै राजनीति छोडेर जागिर खान सल्लाह दिनुभएन । म जहाँ छु, उहाँहरु खुशी हुनुहुन्छ । मेरो बुवाको बिँडो मैले थामेकोमा उहाँहरु सन्तुष्ट हुनुहुन्छ ।

तपाईंको बुवा त कम्युनिष्ट हुनुहुन्थेन क्यारे । तपाईं चाहिँ कसरी कम्युनिष्ट बन्नुभयो ?

बुवा कुनै पार्टीको हुनुहुन्थेन र सबै पार्टीको हुनुहुन्थ्यो । उहाँ कांग्रेस, कम्युनिष्ट, राजा सबैसँग नजिक हुनुहुन्थ्यो । त्रिभुवनले उहाँलाई मन्त्री बनाउनुभएको हो ।

मलाई बुवाले राजनीति सिकाउनुभएको होइन । मलाई राजनीतिमा लाग्न प्रेरणा पनि दिनुभएन । म बाबुरामकै प्रेरणाले पूर्णकालिन राजनीति लागेकी हुँ ।

सानोमा चाहिँ पछि गएर के बन्ने विचार थियो ?

त्यस्तो केही थिएन । सानोमा खेलकुदतिर रुची राख्थेँ । नेतृत्वको क्षमता चाहिँ सानैबाट थियो । जस्तै स्कुलमा कुनै दिन टिचर पढाउन आएन भने साथीहरु बटुलेर प्रिन्सिपल कहाँ कुरा गर्न जान्थेँ ।

बाल्यकाल चाहिँ तपाईंको कस्तो रह्यो ?

म अलि बढी लाडप्यारमा हुर्किएकी हुँ । सानो छँदा घरको काम गर्नुपरेन । आफू सुतेको ओछ्यान मिलाइदिनेसम्म कामदार थिए । चियाधरी पकाउन आउँदैनथ्यो । त्यतिबेलाको परिवेशमा पनि एकदमै स्वतन्त्रताको उपभोग गर्न पाएँ ।

६ कक्षासम्म काठमाडौंमा पढेपछि मलाई दिदीले कानपुर लैजानुभयो । उहाँ इन्जिनियरिङ पढ्दै हुनुहुन्थ्यो । उहाँले आफूसँग एडल्ट होस्टलमै राखेर पढाउनुभयो । त्यसैले त्यहाँ पनि मैले खासै केही काम गर्नुपरेन । पछि दिल्लीमा पनि होस्टेलमै बसेर पढेँ । १९७१ देखि ८१ सम्म भारतमा बसेर पढेकी हुँ ।

स्वभाव चाहिँ मेरो सानैदेखि हक्की थियो । मनमा लागेको कुरा बोलिहाल्थेँ । बढि जिज्ञासु पनि थिएँ ।

बिहे गर्नु अगाडिसम्म राजनीतिमा कुनै आकर्षण थिएन त ?

म सानो छँदा पनि घरमा राजनीतिकर्मीहरुको चहलपहल हुन्थ्यो । नेताहरु आउनेजाने गर्थे । तर हामीलाई उहाँहरुको कुराकानीमा कुनै चासो हुन्थेन । बुवाले केही सिकाउन पनि खोज्नुभएन । त्यसैले राजनीतितिर कुनै झुकाव भएन ।

कानपुरमा पढ्दा १९७२ तिर भारतको पाकिस्तानसित युद्ध भयो । कानपुरमा पाकिस्तानले बम खसाल्छ भनेर धेरै दिन ‘ब्ल्याकआउट’ गरेर बस्यौं । त्यतिबेला अलिकति अन्तर्राष्ट्रिय राजनीति चासो बढ्यो । अनि मैले एकपटक बुवालाई सोधेँ, ‘बा तपाईंलाई माओत्सेतुङ ठिक लाग्छ कि महात्मा गान्धी ?’ । बुवाले कुनै जवाफ दिनुभएन । ‘यस्तो कुरा सोध्नुहुँदैन’ भनेर मुख बन्द गरिदिनुभयो । मेरो राजनीतिमा झुकाव नबढोस् भनेर हो वा मलाई ‘अन्डरस्टिमेट’ गर्नुभएको हो थाहा भएन ।

तर बिस्तारै मेरो जिज्ञासा बढ्दै गयो । कानपुरमा दिदीको प्रोफेसरहरुले हामीलाई बेलाबखत खानाका लागि निम्त्याउनुहुँन्थो । जहाँ जाँदा पनि नेपाली भान्से हुने । नेपाली चौकिदार हुने । उनीहरुलाई भारतीयहरुले हेपेको देख्दा मन चसक्क हुन्थ्यो । नेपालीहरु किन यस्तो हेपाई सहेर काम गर्न वाध्य छन् भन्ने कौतुहल बढ्दै गयो ।

११ कक्षा पास भएपछि प्रोफेसरले सोध्नुभएको थियो, ‘हिसीला, ह्वाट डु यू वान्ट टु वि ?’ पहिलोपटक यस्तो प्रश्नको सामना गर्दा मैले जवाफ दिएकी थिएँ, ‘आई वान्ट टु वि ए सोसल वर्कर ।’ यसरी कानपूरमा हुँदासम्म ममा एक हिसाबले सामाजिक सचेतना जागेको थियो । दिल्ली गएपछि डा. बाबुरामले नै राजनीतिक सचेतना जगाउनुभएको हो । बिहेपछि नै प्रत्यक्ष राजनीतिमा होमिएकी हुँ ।

डा. बाबुरामसँगको पहिलो भेटमा उहाँलाई कसरी मूल्यांकन गर्नुभएको थियो ?
अरुअरुले प्रेम पाउन पत्र लेख्छन् । उहाँले चाहिँ मसित टाढिन पत्र लेख्नुभयो । पत्रमा उहाँले अब आइन्दा हामी भेटघाट नगरौं भन्ने प्रस्ताव राख्नुभएको रहेछ
मैले उहाँलाई एसएलसी र आईएस्सीको बोर्ड फर्स्टका रुपमा चिनेकी थिएँ । त्यतिबेला बोर्ड फर्स्टको ठूलो महत्व र सम्मान हुन्थ्यो । आईआईटीमा ब्याचलर सेकेन्ड इयर पढिरहँदा उहाँ चण्डिगढबाट इन्जिनियरिङ पास गरेर मास्टर्स गर्न त्यहाँ आउनुभएको थियो ।

म उहाँसँग चिनापर्ची गर्न आतुर थिएँ । त्यही कलेजमा एसएलसीका बोर्ड सेकेन्ड पनि थिए । मैले उनलाई बाबुरामसँग परिचय गराइदिन भनेँ तर किन हो उनले गराइदिएनन् । पछि डिनर खाने बेलामा अर्को विद्यार्थीमार्फत परिचय गरेँ । लजालु र मृदुभाषी व्यक्ति हुनुहुन्थ्यो । भेट्नासाथ उहाँप्रति एक खालको सम्मान जागृत भएको थियो । त्यसक्रममा मेरो नाम भन्नासाथ उहाँले सोध्नुभयो, ‘फलानाको छोरी हो ?’ मलाई अचम्म लाग्यो, उहाँलाई मेरो बुवाको नाम कसरी थाहा भयो ? उहाँले मेरो बाबाको किताब पढेको छु भन्नुभयो । मैलेभन्दा बढि उहाँले मेरो बुवालाई बुझ्नुभएको रहेछ ।

उहाँजस्तो लजालु र मृदुभाषीले तपाईंलाई कसरी मायाजालमा पार्नुभयो त ? कि तपाईंले नै पहलकदमी लिनुभएको हो ?

कहाँ मैले हुनु ? मैले त उहाँलाई त्यस्तो नजरले हेरेको पनि थिइनँ । दाइको रुपमा हेरेकी थिएँ । उहाँले पनि मलाई नजर लगाउनुभएको छ भन्ने पटक्कै महसुस भएन । उहाँले त्यस्तो छनक पनि दिनुभएको थिएन । कहिल्यै आँखा समेत जुधाउनुभएन ।

मास्टर्स सिध्याएपछि पीएचडीका लागि जेएनयू जानुभयो । त्यहाँ मलाई मिस गर्न थाल्नुभएछ । हाम्रो कलेजबाट एक-डेढ घन्टा दुरीमा मात्र थियो जेएनयू । तर उहाँ ठूलो अठोट लिएर हिँडेको मान्छे । प्रेमको चक्करमा पर्न नचाहने । त्यसैले मलाई पत्र लेखेर पठाउनुभएछ । अरुअरुले प्रेम पाउन पत्र लेख्छन् । उहाँले चाहिँ मसित टाढिन पत्र लेख्नुभयो । पत्रमा उहाँले अब आइन्दा हामी भेटघाट नगरौं भन्ने प्रस्ताव राख्नुभएको रहेछ । तर, संजोगले उहाँको पत्र आफ्नो हातमा नपर्दै म काम विशेषले उहाँलाई भेट्न जेएनयू पुगेँ ।

उहाँले ‘मेरो पत्र पाइनौ ?’ भनेर सोध्नुभयो । मैले अहँ भने । त्यसपछि उहाँले आफ्नो मनको कुरा खोल्नुभयो । म त आश्चर्यचकित भएँ । सोच्दै नसोचेको कुरा थियो त्यो मेरा लागि । हामीले लामो कुराकानी गर्‍यौं । उहाँले आफ्नो पारिवारिक पृष्ठभूमिदेखि भविष्यको लक्ष्य सबै बताउनुभयो । र, अचानक भन्नुभयो, ‘यदि तपाईं मलाई यही रुपमा स्वीकार्न सक्नुहुन्छ भने हामी बिहे गरौं ।’

मैले त केही जवाफ नै दिन सकिनँ । उहाँप्रति त्यस्तो भावना नै थिएन नि त । अनि, सोच्न समय मागेँ ।

कति समयपछि जवाफ दिनुभयो ?

धेरै समय लिइनँ । कसैसँग सल्लाह पनि गरिनँ । म उहाँको व्यक्तित्वबाट प्रभावित त थिएँ नि । पढाई मात्र विलक्षण नभएर उहाँ हरेक कुराको ज्ञान राख्नुहुन्थ्यो । राजनीतिदेखि खेलकुद, अध्यात्मदेखि मनोरञ्जन सबै कुराको जानकारी हुन्थ्यो उहाँसँग । र, सबैभन्दा ठूलो कुरा देशका लागि केही गर्छु भन्ने अठोट थियो । त्यसैले मैले निर्णय लिएँ कि यो मान्छेसित बिहे गर्दा मैले पछुताउनुपर्ने छैन ।

फरक सामाजिक-आर्थिक पृष्ठभूमि भएको व्यक्तिसँग बिहे गर्दा परिवारबाट कुनै आपत्ति भएन ?

उहाँसँग प्रेममा परेपछि मैले दिदीलाई सुनाएकी थिएँ । उहाँले पटक्कै पत्याउनु भएन । घरमा चाहिँ बिहे गर्ने भएपछि मात्रै थाहा दिएको हुँ । मेरो जिन्दगीको बारेमा निर्णय लिने मेरो अधिकारलाई परिवारले सम्मान गर्‍यो । कुनै अवरोध भएन ।

खासमा बिहे छिट्टै गरिहाल्ने हाम्रो योजना पनि थिएन । मेरा पढाई पनि पूरा भइसकेको थिएन । म चौंथो वर्षमा पढ्दै गर्दा बाबुराम एउटा दुर्घटनामा पर्नुभयो । टाउकोमा चोट लागेर २४ घन्टा त ‘अन्कसन’ को अवस्थामा हुनुहुन्थ्यो । अस्पतालबाट डिस्चार्ज भएपछि मैले आफ्नै होस्टलमा राखेर उहाँलाई स्याहारेँ । एकप्रकारले ‘लिभिङ टुगेदर’ जस्तो भयो । अनि त बाहिर पनि हल्ला हुन थाल्यो ।

त्यसैले न्यूजमा आउनुभन्दा अगाडि बिहे गरेर सम्वन्धलाई औपचारिकता दिन उचित सम्झियौं ।

बिहे चाहिँ कसरी गर्नुभयो ?

दिल्लीमा नै सानो जमघटमा सामान्य तवरले बिहे गरियो । मैले एकजना साथीसँग साडी मागेर लाएकी थिएँ । अरु श्रृंगार खासै थिएन । उहाँ पनि सामान्य गेटअपमा हुनुहुन्थ्यो । बिहेपछि त्यो साडी साथीलाई नै फर्काइदिएँ । हामीले दिल्लीमा नै कोर्ट म्यारिज पनि गर्‍यौं ।

बिहेपछि जीवन कसरी अगाडि बढ्यो ? दुवैजनाले पूर्णकालीन राजनीति गर्ने पहिल्यै समझदारी भएको थियो कि ?

त्यस्तो दुईजना वैठकै बसेर निर्णय गरेको त होइन । तर, एकखालको मौन समझदारी थियो । बिहेपछि उहाँ पीएचडीतिर लाग्नुभयो । उहाँ जब्बर मान्छे । थेसिस लेख्ने बेलामा दिनभरी पार्टीको काममा लाग्ने अनि रातभरी पढ्ने गर्नुहुन्थ्यो । पाँच रातसम्म नसुतेर पढेको देखेको छु । तर, अनुहारमा कुनै आलस्य हुन्थेन ।

मैले चाहिँ केही समय दिल्लीमा काम गरेँ । राजनीतिमा पनि अलिअलि सक्रिय हुन थालेँ । एक-डेढ वर्षपछि काठमाडौं आएर पुल्चोक क्याम्पसमा पढाउन थालेँ । राजनीति पनि गर्थेँ । बिहान एउटा राजनीतिक कार्यक्रममा जो मेरा सहकर्मी हुन्थे, दिउँसो उनीहरुमध्ये कति मेरा विद्यार्थी हुन्थे । एकपटक बिहान मिस नेपाल कार्यक्रमविरुद्ध जुलुसको नेतृत्व गरेँ र दिउँसो क्याम्पस पढाउन गएँ । विद्यार्थीहरुले त्यसमा मलाई र्‍याख्र्‍याख्ती पारेका थिए । जे होस, मैले कमाएको पैसाले घर चल्ने भएकाले बाबुरामलाई राजनीति गर्न पूर्ण स्वतन्त्रता भयो । मैले उहाँलाई कहिल्यै काम गर भनिनँ ।

तपाईंले पुल्चोकमा जागिर खाँदै गर्दा एकपटक रानी ऐश्वर्यालाई ढुंगा हानेर जेल पर्नुभएको पनि सुनेको थिएँ । सत्य हो ?

मलाई अनाहकमा त्यो घटनामा मुछिएको थियो । त्यसताका हामी हरेक तीजमा पशुपति मन्दिर गएर क्रान्तिकारी गीतमा नाचगान गथ्र्यौ । त्यो ४८ सालतिरको घटना हुनुपर्छ । हाम्रो समूह पशुपतिबाट फर्किँदै गर्दा रानी पशुपति प्रवेश गर्ने क्रममा कसैले ढुंगा प्रहार गरेछ । त्यो कुरा मैले घर फर्केपछि मात्रै समाचारबाट थाहा पाएँ तर, एकैछिनमा प्रहरी घरमै आएर मलाई समातेर लग्यो ।

यदि पञ्चायतकालमा हुन्थ्यो भने मेरो जागिर पनि जान्थ्यो र लामो समय जेल बस्नुपर्ने हुँन्थ्यो । तर, प्रजातन्त्र आइसकेको अवस्था थियो । हामीसँगै आन्दोलनमा हिँडेकाहरु मन्त्री भएका थिए । त्यसैले मैले धेरै दिन जेल बस्नु परेन । जेलबाट छुटेलगत्तै मैले अध्ययनका लागि बेलायत जाने अवसर पाएँ । त्यतिबेला ७ वर्षको छोरी च्यापेर २ वर्ष बेलायतमा हाउजिङ विषयको अध्ययन गरेँ ।

पार्टी जनयुद्धमा होमिएपछि दुवै जना भूमिगत बस्ने निर्णय लिन चाहिँ कतिको गाह्रो भयो ? त्यतिबेला छोरी पनि सानै थिइन ।

पार्टीले लिएको निर्णय त हाम्रा लागि अपरिहार्य थियो । त्यसैले धेरै सोचविचार नै गरिएन । छोरी दिदीलाई जिम्मा लगायौं । लामो समयसम्म उनीसँग अलग हुँदा गाह्रो त हुन्थ्यो । तर दिदीहरुसँग भएकाले ढुक्क पनि थियो ।

भूमिगतकालमा तपाईंहरु धेरै समय नेपालमा बस्नुभयो कि भारत ?

हामी दुवै प्राय अलग नै बस्थ्यौं । पार्टीले जनयुद्ध सुरु गरेको भोलिपल्टै म एउटा सम्मेलनमा भाग लिन दिल्ली गएकी थिएँ । त्यहाँ नै भूमिगत भएर बसेँ । बाबुराम लामो समय नेपालभित्रै बस्नुभयो । हामीबीच पत्र आदानप्रदान हुन्थ्यो । नेपालमा दमन बढ्दा उहाँ भारत आउनुहुन्थ्यो । भारत आउँदा भेट हुन्थ्यो । एक हिसाबले नेपालमा कडाई हुँदा हामीलाई फाइदा हुन्थ्यो भनौं ।

छोरीसँग चैं कति समय भेट भएन ?

सुरुमा तीन वर्षजति त भेट्ने चान्सै भएन । पत्रबाटै उनको खबरहरु लिन्थ्यौं । त्यहीबेला गोरखामा एक शिक्षकको दाइलाई माओवादीले मारेपछि मानुषीलाई पनि ‘थ्रेट’ भयो । अनि उनलाई पनि भारतमा लग्यौं र नैनितालको प्राइभेट स्कुलमा भर्ना गर्‍यौं । त्यहीँ होस्टलमा बसेर पढिन् । तर, जनताका छोराछोरीलाई बन्दुक भिराएर आफ्नो छोरीलाई महंगो स्कुलमा पढाएको भन्दै विवाद गरिएपछि उनलाई त्यो स्कुलबाट निकालेर सरकारीमा भर्ना गर्‍यौं । उनले पहिले दार्जीलिङ र त्यसपछि दिल्लीको सरकारी स्कुलमा पढिन् ।

स्कुलमा भर्ना गर्न तपाईंहरु आफैं जानुहुन्थ्यो कि अरुलाई पठाउनुहुन्थ्यो ?

हामी आफैं जान्थ्यौं । त्यसबेला मेरो भूमिगत पार्वती र बाबुरामको सुरेश थियो । हामी आफूलाई भारतीयकै रुपमा चिनाउथ्यौं ।

भूमिगत जीवनमा प्रहरीबाट बच्न अरु केकस्ता जुक्ति लगाउनुहुन्थ्यो ?
एकपटक एउटा कार्यक्रमका लागि रोल्पा जाँदा त्यहाँ तीन प्रकारको मासु पाकेको देखेँ । खसी, कुखुरा र गाईको । माछा पनि थियो । पार्टीका मुख्य नेताहरुलाई सबैथरी मासु र पीएलएलाई एकथरी । त्यो दृष्यले साह्रो नमज्जा लाग्यो
म आफ्नो ‘ओरिजनालिटी’ भन्दा एकदम फरक गेटअपमा हिँड्ने गर्थें । मैले लामो कपाल पालेको भनेकै जनयुद्धकालमा हो । लामो कपाललाई तेलले चिपिक्क पारेर कोर्थेँ । चश्मा लगाउँथे । गाजल, लिपिस्टक लगाउँथे । ‘बहेनजी’ को भेषमा हिँड्दा कसैले चिन्ने चान्स नै थिएन । तर, एकपटक झण्डै समातिएँ ।

कसरी ?

बुटबलबाट एक जना भाइ र म भारत जाँदै थियौं । म त त्यही हो, साडी-चोलो, हातभरी चुरा, रातो लिपिस्टिक लगाएकी थिएँ । मेकअप अलि बढि भएछ क्यारे, प्रहरीले मलाई भारतमा बेच्न लगिएको शंका गर्‍यो । त्यसपछि मलाई र त्यो भाइलाई बेग्लाबेग्लै राखेर सोधपुछ गरियो । मैले आफ्नो श्रीमान दिल्लीमा पीएचडी गर्दै हुनुहुन्छ भनेर बताएँ । बल्लतल्ल उनीहरु आश्वस्त भए र छोडिदिए ।

भारतमा चाहिँ कहिल्यै प्रहरीको नजरमा पर्नुभएन ?

एकाधपटक परेकी थिएँ तर, सजिलै उम्किएँ । बरु जनयुद्ध सुरुभन्दा अगाडि नै एकपटक झण्डै पक्राउ परेकी थिएँ । त्यतिबेला मानुषी पेटमा थिइन् । ठूलो पेट देखेपछि प्रहरीले ‘अन्दर क्या हे ?’ भनेर सोधे । मैले आफू गर्भवती भएको बताउँदा पनि विश्वास नगरेर खानतलासी गरेका थिए । त्यतिबेला पेटभित्र लुकाएर महिलाहरुले गर्भवतीको भेषमा विभिन्न सामान तस्करी गर्दा रहेछन् ।

जनयुद्धकालमा पैसाको अभाव कत्तिको हुन्थ्यो ?

सुरुसुरुमा अलि गाह्रो थियो । मेरो ब्यागबाट धेरैपटक पैसा हराएको पनि छ । तर, जनयुद्ध एउटा हाइटमा पुगेपछि पार्टीभित्रका मान्छेहरुसँग पैसा हुन थाल्यो । पार्टीले जीवन निर्वाहका लागि पैसा दिन्थ्यो । अनि त्यति गाह्रो भएन ।

बरु जनताबाट उठाएको पैसा खर्च गर्ने मामिलामा पार्टीभित्रै विकृति समेत आएको थियो । एकपटक एउटा कार्यक्रमका लागि रोल्पा जाँदा त्यहाँ तीन प्रकारको मासु पाकेको देखेँ । खसी, कुखुरा र गाईको । माछा पनि थियो । पार्टीका मुख्य नेताहरुलाई सबैथरी मासु र पीएलएलाई एकथरी । त्यो दृष्यले साह्रो नमज्जा लाग्यो । पार्टी ठिक दिशामा गइरहेको छैन भन्ने महसुस भयो ।

माओवादीभित्र गाईको मासु पनि खुल्ला थियो ?

खुल्ला नै थियो । प्राय यही चल्थ्यो । तर त्योभन्दा पनि नेता र कार्यकर्ताको अलग अलग खाना खुवाइएको देख्दा चाहिँ विरक्त लागेको हो । यो कुरा मैले बाबुरामसँग पनि सेयर गरेको थिएँ ।

अहिले चाहिँ जनयुद्धलाई फर्केर हेर्दा गलत गरिएछ जस्तो लाग्दैन ?

जनयुद्ध वास्तवमा महान थियो । यसले नै नेपालमा परिवर्तनका एजेन्डाहरु स्थापित गराएको हो । तर, जनयुद्धभित्र विकृतिहरु पनि थिए । केही गलत मानिसहरु थिए । त्यसलाई लिएर सिंगो जनयुद्धकै पवित्रतामाथि प्रश्न उठाउन चाहिँ मिल्दैन ।

लामो समय माओवादीबाट राजनीति गर्नुभयो तर, अहिले तत्कालीन माओवादीका नेताहरुहरुसँग साथ छुटेको छ । माओवादीका कुन-कुन नेतालाई बढी मिस गर्नुहुन्छ ?

खासै मिस त कसैलाई गर्दिनँ । बरु बेलाबखत उहाँहरुसँग भेट हुँदा चाहिँ म पुराना दिन सम्झिन्छु । उतिबेला यही मान्छे, कति महान थियो, कति त्यागी थियो, आज कसरी यस्तो भयो भन्ने लाग्छ । उनीहरुको जीवनशैलीमा आएको अस्वभाविक परिवर्तन देख्दा अचम्म पनि लाग्छ । जीवनशैलीमा परिवर्तन आए पनि उहाँहरुको अनुहारमा कुनै चमक देख्दिनँ । हाम्रो अनुहारमा पहिलेजस्तै चमक छ किनभने हामी सिद्दान्त र निष्ठामा हिँडेका छौं । उहाँहरुले त्यो गुमाउनुभएको छ ।

प्रायः महिलाहरु झपक्क गरगहना लगाउन, अनुहार लिपपोत गर्न, कपाल रंग्याउन सौखिन हुन्छन् । तपाईंको चाहिँ पहिरन र मेकअपमा वितृष्णा के कारणले ?

वितृष्णा पनि होइन । म आफूलाई जस्तो सहज हुन्छ त्यस्तै बाँच्नुपर्छ भन्ने मान्यता राख्छु । अरुलाई देखाउनकै लागि हिँड्नु आवश्यक ठान्दिनँ । तर, यसको अर्थ कसैले मेकअप गरे, गहना लगाएर हिँड्छ भने उसलाई पनि दुत्कार्दिनँ । सबैले आफ्नो इच्छा र चाहनाअनुसार बाँच्ने हो ।

मैले अहिलेसम्म फलेको कपालमा रंग लगाएको छैन । मेरी छोरीले लगाउँदिनन् । मैले नलगाउ भनेर होइन । उनी पनि आफ्नो प्राकृतिक रुपमै खुशी छिन् । गाजल, लिपिस्टिकमा मेरो पटक्कै रुची छैन । लिपिस्टिक लगाएर महिलाहरु अप्ठ्यारोसित खाएको, पिएको देख्छु । जुस पिउँदा पनि कपभरी लिपिस्टिकको डाम लागेको हुन्छ । मलाई त्यो असहज लाग्छ ।

पार्टीहरुमा जाँदा भ्याएँ भने साडी लगाउँछु तर अनिवार्य छैन । बाहिर पार्टीको कार्यक्रमबाट पार्टी खान जानुपर्ने छ भने कता घर आएर लुगा फेर्ने ? यत्तिकै जान्छु । अरुले के भन्लान् भन्ने सोच्दिनँ । म यस्तै छु । तर, सबै मजस्तै हुनुपर्छ भन्ने त छैन नि ।

तर, पहिरनको स्वच्छन्दताका नाममा मन्त्री हुँदा पनि जिन्स पाइन्ट लगाएर सपथ खानु त बढि नै भएन र ?

मन्त्री हुँदा होइन । मैले सभासद हुँदा चाहिँ जिन्स पाइन्ट लगाउँथेँ । तर अरुले कमेन्ट गरेपछि जिन्स लगाउन छाडेँ । मन्त्री हुँदा चाहिँ कोट पाइन्टमै सपथ खाएको हुँ ।

भैगो यस्तो विषयमा धेरै नजाउँ । म त तीनपटक मन्त्री बनेको मान्छे हुँ, अलि गम्भिर राजनीतिक कुरा गरौं न । जो पत्रकार पनि किन हो मसित व्यक्तिगत कुरा नै बढि सोध्न खोज्छन् ।

तपाईंहरुले लामो समय कम्युनिष्ट राजनीति गर्नुभयो । तर, अहिले एउटा जातीय एजेन्डा बोकेको पार्टीसँग विलय हुनुभयो भन्ने आरोप लाग्ने गरेको छ । आफूले बोकेको राजनीतिक विचारधारा गलत थियो भन्ने निस्कर्षमा पुग्नुभएको हो ?

त्यस्तो होइन । कसरी जातीय पार्टीमा विलय भएको भन्न मिल्छ ? हामी विचारधाराका आधारमा एक भएका हौं । संघीय समाजवादी पार्टीसँग हाम्रो मुल राष्ट्रिय मुद्दाहरुमा समान विचार छ, त्यही नै एकताको आधार हो । र, यो कुनै जातीय पार्टी होइन ।

कम्युनिष्ट राजनीति गरेकोमा अहिले कुनै ग्लानी छैन । अहिले कम्युनिष्ट विचारधारा गलत थियो भनेर होइन कि अझै फराकिलो समाजवादी सिद्दान्तमा गएका हौं ।

म तपाईंलाई भन्छु, कुनै कुरालाई निषेध गर्न वा पुरानो संरचनालाई भत्काउन कम्युनिष्ट सिद्दान्त ठिक छ । जस्तो कि एउटा ठूलो बिल्डिङलाई भत्काउन एउटा बुल्डोजर काफी हुन्छ । तर, बुल्डोजरले घर त बनाउन सक्दैन नि । त्यसमा धेरै किसिमका सिल्पहरु चाहिन्छन् । त्यस्तै नयाँ संरचना निर्माण गर्न सवालमा अलिक फराकिलो सिद्दान्त आवश्यक पर्दो रहेछ ।

हामीले कम्युनिष्ट राजनीति गरेर पुरानो राज्यसत्तालाई भत्कायौं तर, नवनिर्माण गर्न नयाँ ढंगले जानुपर्ने भयो । त्यसैले अहिले संघीयता र समावेशीकरणलाई मुल मुद्दा बनाएर अघि बढेका छौं ।

तर, यही संघीयता र समावेशीकरणको एजेन्डाले देशलाई अगाडि बढ्न नदिएको विश्लेषण पनि हुन थालेको छ नि ?

यो विल्कुल गलत हो । हामीकहाँ व्यवस्था बदलिए पनि धेरैको सोचाईको शैली पुरातन नै छ । त्यसैले यस्ता विचारहरु आएका हुन् । समावेशीकरण र संघीयताको विरोध गर्नु भनेको फेरि पनि देशलाई पछाडि धकेल्न खोज्नु हो ।

समावेशीकरणका नाममा जातीय आरक्षण ठिक छ त ? जातीय आरक्षण खारेज गरेर वर्गीय आधारमा अवसर दिनुपर्ने आवाजलाई पुरै व्यवास्ता गर्न सकिन्छ ?
हामीलाई वर्गीय आरक्षणले मात्रै पुग्दैन । मैले म हिसिला यमी मध्यमवर्गीय व्यक्ति हुँ मात्रै भनेर भएन । म एउटा बुद्ध धर्म मान्ने नेवार परिवारकी सदस्य हुँ पनि भन्नुपर्‍यो ।

तपाईं एक नेतृ मात्र नभएर र नेता पत्नी पनि हुनुहुन्छ । यो दोहोरो भूमिकामा राजनीति गर्न तपाईंलाई अनुकुलता धेरै छ कि प्रतिकुलता ?

मैले त प्रतिकुलता धेरै महसुस गरेकी छु । जब तपाईंको श्रीमान सरकार वा पार्टीको प्रमुख पदमा हुन्छ, त्यतिबेला तपाईंलाई राजनीति गर्न सबैभन्दा अप्ठ्यारो महसुस हुँदोरहेछ । जस्तो कि जनयुद्धकालमा बाबुराम दोस्रो वा तेस्रो पोजिसनमा हुनुहुन्थ्यो । त्यसैले मलाई खासै समस्या भएन । तर जब उहाँ प्रधानमन्त्री बन्नुभयो, त्यतिबेला मलाई सबैभन्दा बढि आक्रमणको निशाना बनाइयो । उहाँले माओवादी छोडेर नयाँ शक्ति गठन गर्नुभयो र त्यसको संयोजक बन्नुभयो । त्यसमा पनि मलाई पार्टीभित्र निकै गाह्रो भयो ।

म पनि लामो समय त्याग तपस्या गरेर आएकी हुँ । तर, मलाई एउटा नेतृभन्दा बाबुरामकी पत्नीको रुपमा पार्टीभित्रै हेर्ने काम भयो । मलाई त उहाँसँगै एउटै मञ्चमा बस्न पनि अप्ठ्यारो हुन्छ । कतिपय पार्टीकै नेता र कार्यकर्ताले नै मैले सक्रिय भूमिका निभाएको हेर्न चाहँदैनन् ।

अहिले समाजवादी पार्टी बनेपछि चाहिँ अलिकति सजिलो किन भएको छ भने दुईजना अध्यक्ष हुनुहुन्छ । फेरि पनि अन्य अप्ठ्यारा छँदैछन् । अमेरिकामा हिलारी क्लीन्टनले चुनाव हार्नुको एउटा कारण पनि नेता पत्नी हुनु नै हो । मैले त्यतिबेला पनि टि्वटमा लेखेकी थिएँ ।

डा. बाबुराम र तपाईं दुवैजना एकैपटक मन्त्री बन्नुभयो । त्यतिबेला फरक-फरक क्वाटरमा बसेको भनेर पनि विवाद झिकियो होइन ?

त्यही त । हामीलाई फरक-फरक मन्त्रालयको नेतृत्व दिएपछि फरक फरक क्वाटरमा नबसेर के गर्ने भन्नुस् त ?

सँगै बस्दा के फरक पर्थ्यो ? कम्तिमा एउटा क्वाटर बचत हुन्थ्यो होला ?

हामी त सँगै बसौंला, एउटै बेडमा सुतौंला रे । तर, हाम्रा सेनाको टुकडीले त बेड सेयर गर्दैनन् । यस्ता सामान्य कुरामा पनि किन मिडियाले बुझ पचाउँछन् भनेर अचम्म लाग्छ ।

अहिले दुईजनाले पारिवारिक वा घरेलु जिम्मेवारीको बाँडफाँट कसरी गर्नुभएको छ ?

पारिवारिक जिम्मेवारीको बोझ मैले उठाएकी छु, उहाँले त्यो तनाव लिनु परेको छैन । जस्तो घरका लागि आवश्यक खाद्य सामग्री, लत्ताकपडा वा अन्य वस्तुहरुको किनमेल म आफैं गर्छु । भान्सामा काम गर्ने सहयोगी छन् । बाबुरामको संसद वापत आउने तलवले घर चलिरहेको छ ।

तपाईंहरु दुईजना मात्रै घरमा हुँदा राजनीतिक कुरा कत्तिको हुन्छ ?

राम्रो प्रश्न सोध्नुभयो । वास्तवमा उहाँले कहिलेकाहीँ दिक्क मान्नुहुन्छ । दिनभर पार्टीको काम गरेर आउनुभएको हुन्छ । घरमा पनि मैले आफ्नो जिम्मेवारी अन्तरगतका केही कुराहरु सुनाउनुपर्ने हुन्छ । त्यस्तो बेला कहिलेकाहीँ ‘भो, यो कुरा घरमा नगरौं’ भन्नुहुन्छ । हुन पनि ‘खायो पोलिटिक्स, ….पोलिटिक्स’ भनेजस्तै मोनटोनस हुन्छ । तर, कुरै नगरेर पनि त साध्यै हुँदैन ।

फुर्सदको बेला घुम्न कत्तिको निस्किनुहुन्छ ?

उहाँले घुम्ने भनेको पुस्तकमा हो । मैले घुम्ने भनेको यहीँ वरिपरी हो । घुम्नकै लागि भनेर टाढा ननिस्किएको धेरै भइसक्यो । अहिले त पार्टी निर्माणको व्यस्तता पनि बढि नै छ ।

छोरी राजनीतिमै अगाडि बढेको हेर्न चाहनुहुन्छ कि अरु केही गरुन् भन्ने चाहनुहुन्छ ?

हामी त आफूले हिँडेको बाटोमा नै हिँडुन् भन्ने चाहन्छौं नि । तर, उनलाई कुनै दबाव दिएका छैनौं । कुन बाटो रोज्ने भन्ने उनले स्वतन्त्र निर्णय गर्ने कुरा हो ।

तपाईंहरुलाई एउटा छोरीपछि अर्को सन्तानको चाह भएन ?

भूमिगत राजनीति गर्ने नेताका लागि त सन्तान जन्माउनु भनेको आफ्नो चिहान खन्नु सरह हुन्थ्यो । जति सन्तान जन्मायो, उति गहिरो चिहान । देखियो नि धेरैको ।

छोरा भएन भने बुढेसकालमा गाह्रो हुन्छ भन्ने मान्यता हाम्रो गाउँ समाजमा अझै छ । तपाईंहरुलाई त्यस्तो केही महसुस भएको छ त ?

अहँ छैन । छोरा नै चाहिन्छ भन्ने मान्यता त पुरानो भइसक्यो नि । मलाई एकपटक मानुषीले सोधिन्, ‘यदि म मरेँ भने तपाईंहरु के गर्नुहुन्छ ?’ मैले जवाफ दिएँ, ‘म तिम्रो नाममा ट्रस्ट खोल्छु र समाजसेवा गरेर बस्छु ।’ यो संवाद अहिले आएको मानुषीको डकुमेन्ट्रमा पनि छ । वास्तवमा हामीले त एउटा छोरी पनि योजना बनाएर, सोचविचार गरेर पाएको होइन ।

तपाईंहरुलाई लामो समय साथ दिएकाहरुले अहिले भटाभट साथ छोडिरहेका छन् । कत्तिको दुख लाग्छ ?
करिश्मामा परिपक्वता देखिएन । यदि राजनीतिमा अगाडि बढ्न चाहने हो भने यस्तो अधैर्य भएर हुँदैन । हामीलाई त केही फरक पर्दैन, यस्ता कति आए कति गए । तर, उहाँलाई यसले अगाडि बढ्न रोक्छ ।
हामी विचार र सिद्दान्तको आधारमा राजनीति गरिरहेका छौं । तर, बाबुरामको अनुहार हेरेर भोलि यो मान्छे फेरि प्रधानमन्त्री भयो भने आफूले पनि केही पाउँला भनेर स्वार्थवस पछि लागेकाहरु अहिले लाखापाखा भएका हुन् । हामी मधेसीसँगै मिल्न गयौं भनिरहेका छन् । यसैबाट थाहा हुन्छ उनीहरुको राजनीतिक चेतनाको स्तर ।

नायिका करिश्मा मानन्धरलाई पनि जोगाउन सक्नुभएन । उनी पनि स्वार्थवस नै लागेकी थिइन् ?

करिश्मामा परिपक्वता देखिएन । हामीले निकै उदारतापूर्वक उनलाई एसईई परीक्षाका लागि भनेर दुई वर्षको छुट्टी दिएका थियौं । अरु पार्टीमा भएदेखि नेता भएपछि किन एसएलसी दिनुपर्‍यो भनेर उडाउँथे होला । तर, हामीले प्रोत्साहन गर्‍याैं । एसईई पास भएपछि बाबुरामले टि्वटरमै बधाई दिनुभयो । मैले पनि म्यासेज गरेँ ।

तर, एकाएक पार्टीबाट अलग भएको कुरा आयो । यदि राजनीतिमा अगाडि बढ्न चाहने हो भने यस्तो अधैर्य भएर हुँदैन । हामीलाई त केही फरक पर्दैन, यस्ता कति आए कति गए । तर, उहाँलाई यसले अगाडि बढ्न रोक्छ ।

पार्टी छोड्ने विषयमा तपाईंहरुसँग सल्लाह गर्नुभएन ?

अहँ ! केही पनि भन्नुभएको थिएन । आइ डन्ट नो, के सोचेर उनले यस्तो निर्णय लिइन् । तर, फेरि पनि भन्छु कि उनमा परिपक्वता देखिएन । एसईई पास भइन् तर, पोलिटिक्समा फेल भइन् ।

करिश्मामा राजनीतिक गर्न सक्ने गुण देख्नुभयो ?

उनी  प्रयांक छिन् । मनमा लागेको कुरा भनिहाल्छिन् । यो राम्रो गुण हो । तर यतिले मात्रै राजनीति हुँदैन । उहाँले एउटा ठूलो चान्स गुमाउनुभो । अहिले पनि उहाँप्रति हाम्रो सदासयता छ । मैले त के समेत भनेको छु भने ‘तिमी पास भयौ र यस्तै प्रगति गर्‍यौ भने यूएनको एजुकेसन एम्बेसडर बन्न सक्छ्यौ । हामी त सबैप्रति सकारात्मक छौं, चाहे पार्टी छोडेर जानेहरु नै किन नहुन् ।

आई फिल सरी फर हर ।

https://www.onlinekhabar.com/2019/07/783986?utm_source=Facebook&utm_medium=FBpage1

Leave a Reply

Your email address will not be published.