Posted on

म भौतिक योजना तथा निर्माण मन्त्रालयको मन्त्री हुँदा मेरो प्रायजसो ध्यान सडकको विस्तार र त्यसको गुणस्तरमा ध्यान जान्थ्यो । साथसाथै काठमाण्डौको पानी वितरण जनतासम्म पुर्‍याउने र व्यवस्थित शहरीकरणमा पनि उत्तिकै लगाव थियो । त्यस मन्त्रालय अन्तर्गत करिब पन्ध्र देखि सोह्र अरब पैसा जनताको लगानीमा मात्र जान्थ्यो र कार्यन्वयनमा पनि उत्तिकै वैज्ञानिक तथा लचकता थियो । त्यस मन्त्रालयमा रहँदा मैले मेलम्चीलाई एक धक्का दिएकै हो । त्यस्तै देश विकासको सन्दर्भमा फास्ट ट्राक को अर्को धक्का पनि दिएकै हो भने देशको दुर्गम क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन दुर्गम क्षेत्रसम्म बाटो/घाटो पुर्‍याउन पनि अग्रसर रहेको कुरा त सर्वविधितै छ । त्यो दृष्टिकोणमा हाल आएर जब म पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने मैले के देखें भने यो मन्त्रालय सेवा प्रदायक मन्त्रालय मात्र नभएर यो त डलर कमाउने र रोजगारी दिने मन्त्रालय पनि रहेछ ।

यस दृष्टिकोणमा प्रकृतिसँग प्रत्यक्ष जोडिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री हुँदा बेलायत जाँदै, ओखलढुङ्गाको पोकली झरना, माउन्टेन ºलाईट बाट सगरमाथाको उचाई नाप्दै, स्याङ्गजाको कालीगण्डकी नदीको गहराई र्‍याºिटङ्ग बाट अनुभव बटुल्दै, सिरुवारीको होम—स्टे बस्दै आउँदा लाग्ने कुरा के हो भने यो पर्यटन मन्त्रालय सेवादायी मात्र नभएर तुरुन्त आयआर्जन गर्न सक्ने र रोजगार दिन सक्ने मन्त्रालय पनि रहेछ । यसमा निजी क्षेत्रका व्यवसायीहरु पनि संलग्न हुने व्यवस्थाले गर्दा यो क्षेत्र बढि चौतर्फी, सजिव, श्रृजनात्मक र दिगो विकासमा टेवा पुग्ने प्रणालीको रुपमा देख्दछु । विश्वकै अग्लो शिखर सगरमाथा देखि विश्वको सबैभन्दा गहिरो खोंच कालीगण्डकी पनि यहि देश नेपालमा छ । साथै सीमित भूगोल भित्र यति धेरै जैविक विविधता, भौगोलिक, प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधताहरु सबै पर्यटनका श्रोत बनेका छन् । अझ यहाँको जटिल चुनौतिपूर्ण भूगोल साहसिक खेलको लागि नमुना बन्न त बाँकी नै छ । समुद्र बाहेक यहाँ सबै वस्तु छन्, स्वर्ग समेत यहीँ छ किनकी बादल भन्दा माथि बसेर दृश्यावलोकन गर्न पाउने ठाउँ पनि यहीँ छ । वास्तवमा यहाँका मानिसहरुले यो ठाउँ त्यो ठाउँ पर्यटकीय क्षेत्र घोषणा होस् भन्ने माग गर्नुहुन्छ जबकि देश नै विश्वकै सवोत्कृष्ठ पर्यटकीय गन्तब्य हो भने कुनै ठाउँ विशेषलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्दछ या गरियोस् भन्नु कस्तुरीले वास्नाको खोजी गर्दै भौंतारिनु भन्दा फरक हो जस्तो मलाई लाग्दैन ।

नेपालको पूँजि भनेकै यहाँको जनता हो । यो कुनै धार्मिक, साँस्कृतिक जडतामा छैन । यहाँको बाहुल्य समाज भनेकै जनजातीय समाज हो, जसको लचकता जे चिज पनि छिटो र सजिलै ग्रहण गर्ने प्रकृतिले गर्दा जुन सजिलै समाजलाई पनि पचाइदिन सक्ने क्षमता राख्दछ । यहाँका जनता असाध्यै मिहेनती, निर्दोश, हँसिलो भएकाले अतिथिलाई स्वागत गर्न तत्पर भईरहन्छन् फलस्वरुप यहाँ एकपटक आएका पर्यटकहरु हरपल यहाँ आउन आतुर हुन्छन् । नेपालमा रहेको विविध जनजाति जो कुनाकाप्चामा छन् तिनीहरुका रहनसहन, खाने आनीबानी, लगाउने पहिरन, संस्कृति, रीतिरिवाज, कतिपय त संस्सारलाई देखाउन बाँकी नै छ । कतिपय झरना, ताल, लगायत अप्ठ्यारा भौगोलिक चुनौतिहरु, साहसिक पर्यटन प्रयोगमा ल्याउन बाँकी नै छ । अझ यहाँ राजनैतिक पर्यटनको खोजी र विस्तार गर्न बाँकी नै छ जसले गर्दा क्रान्ति, क्रान्तिलाई भूगोलले गर्ने असर र राजनैतिक विचार वा सुसूचिततामा जनताको स्थान कत्तिको छ त्यो पनि थाहा हुन्छ । जस अन्तर्गत युद्धको दौरानमा गरिएका किर्तिमानहरु र शान्ति प्रक्रियाको किर्तिमान उजागार गर्नु अत्यावश्यक छ जो पर्यटन व्यवसाय र व्यवसायीको अर्को मुख्य चुनौति र सुखद समाचार पनि हो । अचम्मको कुरा त के हो भने हिँजो दश वर्षको जनयुद्धको दौरानमा पनि अन्य युद्धरत देशमा भैँm कुनैपनि विदेशी पर्यटकलाई न अपहरण गरियो, न मारियो, न त पर्यटन व्यवसायलाई खतम गरियो । दुई सय चालिस वर्षे राजतन्त्रलाई ढालेपछि अर्को पर्यटकीय आकर्षण नारायणहिटी दरवारलाई खुल्ला गर्न बाँकी नै छ । यतिखेर सिङ्गो विश्वको ध्यान नेपालमा भइराखेको अवस्थामा यतिखेर पर्यटन क्षेत्रले यसको अत्याधिक पूँजिकृत गर्नुपर्दछ । यसैलाई मध्यनजर गर्दै हाल जनयुद्धको सुरुवात ५२ सालदेखि बनाएको पर्यटन नीतिलाई अहिलेको सापेक्षता अनुरुप नयाँ पर्यटन नीति बनाउन मन्त्रालय लागिरहेको छ । जस अन्तर्गत आन्तरिक पर्यटन, पर्यटनका विभिन्न विभागहरु, एनआरएन लाई समेत समेट्ने गरी नयाँ नीति आउँदैछ ।बेलायतको नेपाली राजदूतावास र बेलायत—नेपाल चेम्बर अफ कमर्सको प्रत्यक्ष सहभागितामा नेपालको प्रसारणमा मैले भाग लिँदा त्यहाँ बस्ने बेलायती मूलका नेपालीहरुको नेपालको प्रसारणमा ठूलो भूमिका रहन्छ भनी उद्घोष गरेको कुरा हाल आएर त्यसको प्रत्यक्ष प्रतिफल ओखलढुङ्गाको पोकली झरना महोत्सवमा देखें । त्यहाँ आएका बेलायती पर्यटकहरुलाई ब्रिटिश गोर्खालीहरुले पथ प्रदर्शन गरेर ल्याएको देख्दा मलाई धेरै खुशी लागेको छ । अर्को खुशी मलाई के पनि लागेको छ भने अहिले संविधान सभाको चुनावले नेपालको कुनाकाप्चा बाट विभिन्न क्षेत्र जाति, लिङ्ग, वर्ग आदिलाई प्रतिनिधित्व गर्ने गरि आउनु भएका सभासद सदस्यहरु आँफै ती जिल्ला क्षेत्रका राजदुत भएको मैले महशुस गरेको छु । यस सन्दर्भमा जुन उत्साहका साथ ओखलढुङ्गाको बिकट मानिने पोकली महोत्सवमा प्रधानमन्त्री समेतलाई बोलाउन त्यहाँका जनता/सभासदहरु सफल भए यो त्यसैको द्योतक हो । त्यस्तै जुन उत्साहका साथ स्याङ्गजाका जनता र त्यहाँका सभासदहरुले हालै पहिलो राष्ट्रिय नदी महोत्सव एवं कालीगण्डकी रिभर र्‍याफ्टिङ्ग फेस्टिभल २०६५ गर्नुभयो, त्यो पनि त्यसैको द्योतक हो । त्यसो त ०५३ सालमा नै स्याङ्गजाका गुरुङ्ग समुदायले देशकै पहिलो सामुदायिक ग्रामिण पर्यटन विकास गरि विश्वमै पहिलो नमुना उदाहरण सिरुवारीमा प्रस्तुत गरिसकेका थिए । त्यसको विशेषता भनेको गाउँको सरसफाई देखि प्राकृतिक वातावरणको संरक्षण, संस्कृतिको संरक्षण, सामुदायिक भावनाको विकास, कृषि तथा उब्जनीको उचित उपयोग गरिएको छ । आज जब संविधान सभाको माध्यम बाट जातीय क्षेत्रीय भाषिकको आधारमा संघीय संरचना बनाउने कुरा आईरहेको छ, सिरुवारी आँफै एउटा सांस्कृतिक—सामुदायिक पर्यटनको नमुना बन्न सक्दछ । यसरी हाल सम्म काठमाण्डौ केन्द्रित पर्यटन व्यवसायलाई ग्रामिण तथा अन्य शहरहरुमा विस्तार गर्न सकिन्छ । हाल आएर सन् २०११ लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय नेपाल सरकार बाट आउँदा पर्यटनको विकासका सम्भावना अझ बढि देखिन आएको छ । अहिलेको चुनौति भनेको संख्यात्मक मात्र नभएर पर्यटन विविधिकरण गर्दै गुणात्मक विदेशी पर्यटकहरु बढाउनु हो भने आन्तरिक पर्यटकहरु देश भरि परिचालन गर्दै दिगो पर्यटन विकास गरि नयाँ नेपालको आधार तयार पार्नु हो ।

हिसिला यमि

Leave a Reply

Your email address will not be published.